इन्द्रजात्राका लागि य:सिंलाई गराइयो नगर प्रवेश (तस्बिरहरु)
काठमाडौँ । इन्द्रजात्रा (यँया:) का लागि य:सिंलाई नगर प्रवेश गराइएको छ ।
शनिबार बहिताहितिबाट तानेर नगर प्रवेश गराइएको हो ।
भक्तपुरको चित्तापोलबाट ल्याइएको ३२ हातको य:सिं शनिबार बिहानको शुभ साइतमा तानेर नगर प्रवेश गराइएको हो ।
यस्तो छ इन्द्रजात्राको महत्त्व
किम्वदन्तीअनुसार स्वर्गका राजा इन्द्र आफ्नी आमाको व्रतका लागि पारिजातको फूल, कर्कलाको पातलगायत सामग्री लिन पृथ्वीमा आउँदा पक्डिएकाले इन्द्रजात्राको परम्परा सुरु भएको भन्ने गरिन्छ । प्राचीनकालदेखि नै विजयको प्रतीकका रुपमा इन्द्रजात्रा मनाउन थालिएको विश्वास गरिन्छ । मल्लकालदेखि इन्द्रजात्रामा कुमारी जात्रा पनि गर्न थालिएको हो । मल्लराजा यात्रामा सँगसँगै रथमा बसेर हिँड्ने चलन थियो । पृथ्वीनारायण शाहले काठमाडौँ विजय गरेपछि भने दाम राखेर ढोग्ने परम्परा सुरु भएको हो ।
प्राचीनकालमा भारत वर्षभर इन्द्रजात्रा गर्ने परम्परा भए पनि मुस्लिमको आक्रमण भएका स्थानमा यो परम्परा टुटेको छ । नेपाल भने बाह्य शक्तिको नियन्त्रणमा नपरेकाले वैदिक कालदेखि नै यो परम्परा निरन्तररुपमा चलेको विश्वास गरिन्छ । आधुनिक इतिहास भने मल्लकालदेखि मात्र इन्द्रजात्रा सुरु भएको विभिन्न ग्रन्थमा उल्लेख गरिएको छ ।
मल्लकालसम्म भाद्र शुक्ल एकादशीका दिन गरिने इन्द्रध्वजोत्थान शाहकालदेखि भने भाद्र शुक्ल द्वादशीका दिन गर्न थालिएको हो । पृथ्वीनारायण शाहले काठमाडौँ विजय गरेपछि पनि यहाँको संस्कृतिलाई आत्मसात् गर्दै यो परम्परालाई निरन्तरता दिइएको इतिहासका पुस्तकमा उल्लेख छ ।
तस्बिरहरु: