म्यानचेस्टर सिटीको लगातार छैटौं जित, युनाइटेड पनि विजयी
काठमाडौँ । ईङलिश प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर सिटीले नोट्टीङघम फरेस्टलाई पराजित गरेको छ । शनिबार सम्पन्न खेलमा म्यानचेस्टर सिटीले नोट्टीङघमलाई २-० गोल अन्तरले पराजित गरेको हो ।
सिटीको जितमा फिल फोडेन र इर्लिंग हालाण्डले एक एक गोल गरेका थिए । यस खेलमा म्यानचेस्टर सिटीका रोड्रीले खेलको ४६औं मिनेटमा रातो कार्ड पाएर मैदान छोडेपछि सिटी १० खेलाडीमा सिमित भएको थियो ।
यो जितपछि म्यानचेस्टर सिटीले प्रिमियर लिगमा शतप्रतिशत जित निकाल्दै ६ खेलमा १८ अंक हासिल गरेको छ र लिगमा शिर्ष स्थानमा रहेको छ । नोट्टीङघमको ६ खेलमा ७ अंक रहेको छ र लिगमा १०औं स्थानमा रहेको छ ।
अर्काे खेलमा म्यानचेस्टर युनाइटेडले बर्नलीलाई १-० गोल अन्तरले पराजित गरेको छ । युनाइटेडको जितमा खेलको ४५औं मिनेटमा ब्रुनो फर्नानडेजले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो ।
यस सिजनमा म्यानचेस्टर युनाइटेडको यो तेस्रो जित हो । यो जितपछि ६ खेलमा युनाइटेडको ९ अंक भएको छ र लिगमा आठौ स्थानमा उक्लिएको छ । बर्नलीको भने यस सिजनमा यो चौथो हार हो । ५ खेलमा बर्नलीको एक अंक छ र लिगमा पुछारमा रहेको छ ।