राष्ट्रपतिद्वारा राष्ट्रकवि माधव घिमिरे पुरस्कार प्रदान


राष्ट्रपति रामचन्द्र पौडेलले यस वर्षको राष्ट्रकवि माधव घिमिरे पुरस्कार वरिष्ठ समालोचक प्राडा वासुदेव त्रिपाठीलाई प्रदान गरेका छन्।
राष्ट्रकवि स्व घिमिरेको १०४औँ जन्मजयन्तीका अवसरमा मस्र्याङ्दी वाङ्मय प्रतिष्ठानले आज शीतल निवासमा आयोजना गरेको कार्यक्रममा राष्ट्रपति पौडेलले रु एक लाख राशि र सम्मानपत्रसहितको ‘राष्ट्रकवि माधव घिमिरे पुरस्कार’ वरिष्ठ समालोचक प्राडा त्रिपाठीलाई प्रदान गरेका हुन्।
राष्ट्रकवि घिमिरेकी पत्नी महाकाली घिमिरे, सुपुत्रद्वय इन्दिवर घिमिरे र राजीव घिमिरेद्वारा मस्र्याङ्दी वाङ्मय प्रतिष्ठानको कोषमा रहनेगरी रु १६ लाखको अक्षयकोष स्थापना गरेसँगै उनको जन्मजयन्तीका अवसर पारेर पहिलोपटक उक्त पुरस्कार प्रदान गरिएको हो।
कार्यक्रममा बोल्दै संयुक्त राष्ट्र सङ्घका पूर्वराजदूत एवं पुरस्कार छनोट समितिका सदस्य प्राडा जयराज आचार्यले पुरस्कारको आधार बनाएर पुरस्कार छनोट गरिएको पनि बताए। राष्ट्रकवि पुरस्कार ज्येष्ठ, उत्कृष्ट र वरिष्ठताका आधारमा प्राडा त्रिपाठीलाई प्रदान गरिएको उल्लेख गरे।
प्रतिष्ठानका अध्यक्ष एवं पुरस्कार छनोट समितिका संयोजक विजयराज न्यौपानेले नेपाली भाषा, कला, समालोचना, साहित्य, संस्कृति र ज्ञानविज्ञानको उन्नयनको योगदानका आधारमा पुरस्कार वितरण गरिएको बताए। उनले प्रतिष्ठानले आगामी दिनमा राष्ट्रकविको मूर्ति स्थापना गर्ने लक्ष्य राखेको उल्लेख गरे।
पुरस्कार छनोट समितिमा अध्यक्ष न्यौपाने, विज्ञ आचार्यसहित पुरस्कारदाताका तर्फबाट डा हेमाङ्गराज अधिकारी सदस्य थिए।
राष्ट्रकवि घिमिरेका सुपुत्र राजीव घिमिरेले राष्ट्रकविलाई साहित्यमार्फत चिरकालसम्म सम्झनका लागि अक्षयकोष स्थापना गरेर पुरस्कार घोषणा गरिएको बताए। उनले उक्त पुरस्कार राष्ट्रकविको जन्मजयन्तीका अवसरमा हरेक वर्ष प्रदान गरिने उल्लेख गरे।
सो अवसरमा साहित्यकार विजयराज न्यौपानेद्वारा लिखित बाल साहित्यकार स्व एकाराम सिंहको जीवनी समेटिएको पुस्तक लेखक न्यौपानेले राष्ट्रपति पौडेललाई हस्तान्तरण गरेका थिए।
