आफू आमा भएपछि आमाको महत्त्व बल्ल बुझेकी छु
कामबाट फर्किएर ओइलाएको फूल झैँ लोलाएर बसिरहेकी थिए । छोरो पनि स्कुलबाट आएर भमराले फूल नछोडे झैँ मोबाइल नछोडी हेरिरहेको थियो ।
‘बाबु मलाई एक गिलास पानी ल्याउन’
मेरो यो आवाज केवल कोठाको भित्तामा ठोकिएर कोठा भरी गुञ्जायमान भयो । तर छोराको मस्तिष्कले मेरो आवाजलाई स्मरण गर्न सकेन । किनकि छोरो बेग्लै मोबाइलको संसारमा रमाइरहेको थियो ।
थकित शरीर, बेचैन मन लिएर म कौसिमा निस्केँ । साँझ पर्न लागेको रहेछ । चन्द्रमाले मेरै पर्खाइ गरे झैँ कौसी सिधा आइरहेको रहेछ । चन्द्रमा देखेर मेरो मनले आमाको आभास गरायो । मन विक्षिप्त बन्यो । मरेका मान्छेको अनुहार चन्द्रमामा देखिन्छ रे कसैले भनेको याद आयो । अनि म एकोहोरो घोरिएर मेरा मनभित्रका बह पोख्न थाले ।
‘मेरी आमा मैले नि तिमिलाई यसरी नै सताएको थिए होला हैन ?’
के थाहा मलाई । म कस्ती थिए बालापनमा ? आमा हुनु एकदमै गार्हो कुरा रहेछ । म आमा बन्दाको क्षण अनि ती नौ महिनाको अत्यास लाग्दो समय मेरो मानसपटलमा अझै ताजा छ ।
म आमा बनेपछि बल्ल आमाको बारेमा बुझ्दै छु ।
+++++
किशोरावस्था नसकिँदै मेरो विवाह भयो । म त्यति बेला प्लस टु पढ्दै थिएँ । धेरै पढ्ने इच्छा थियो तर बिहेले हतार लगायो ।
तर बिहेले पढ्न रोकेको थिएन । बिहेपछि नि पढाइलाई निरन्तरता दिइनैरहेकी थिए ।
विवाह भएको करिब चौध महिनापछि मेरो महिनावारी रोकिएको थियो । वाकवाकी लाग्ने, बान्ता हुने, टाउको बेस्सरी दुख्ने, अरू बोल्दा नि रिस उठ्ने अवस्था भएपछि मलाई श्रीमानले हस्पिटल लानु भएको थियो ।
मैले सोचिरहेकी थिए ‘मलाई ग्यास्ट्रिक भएको होला जँचाएर औषधी खाएपछि म सन्चो हुन्छु अनि मेरो पढाइ पूरा गर्छु ।’
अनि आफै केही गर्छु ।
तर मेरो सोचाइ ठिक विपरीत भइदियो । मेरो युरिन टेस्ट रिपोर्ट हेरेर ‘बधाई छ तपाई बाबा बन्नुहुने भयो’ भन्दै डाक्टरले श्रीमानलाई भनिराख्नु भएको थियो ।
डाक्टरको यो शब्दले मेरो जीवनमा सुनामी आए झैँ लाग्यो । श्रीमान् खुसीले गदगद हुँदै मेरो सामुन्ने आइपुग्नु भयो । उहाँको मुस्कानलाई मेरो हेराइले खिज्याइरहेको थियो । तर उहाँले मेरो सोचाइ, हेराइलाई सकारात्मक लिनुभयो ।
आफैले रोजेर बिहे गरेकोले होला उहाँ त्यो बेला अनि यो बेला नि निक्कै बुझ्ने र माया गर्ने हुनुहुन्छ । त्यो बेला मेरो मनमा चढेको उतारचढाव थाहा पाएपछि रिसाएको मलाई फकाउन धेरै कोसिस गर्नुभयो ।
नियमित चेकजाँच गर्न आउने सुझाव डाक्टरले नि दिनुभयो । जाँच गर्न आउने समय नि बताइदिनुभयो ।
हस्पिटलको काम सकिएपछि हामी घर आउन गाडी चढ्यौँ । सँगसँगैको सिटमा बसेर आउने मौका पाएकोमा उहाँ खुसी हुनुहुन्थ्यो । म भने गनगन गर्नमा तल्लीन थिएँ । उहाँले मलाई बारबार भनिरहनुभएको थियो ‘फलाम पनि नगली औजार तयार हुँदैन ।’
तर मलाई भने नारीको जीवन सन्तान जन्माउने मात्र रहेछ भन्ने कुराले पिरोलिइरहेको थियो ।
मैले समयलाई रोक्न सकिन । समय मलाई आफूले चलाउन मन लागेजसरी चलाउन आएको थियो ।
आफ्नै रफ्तारमा घडीको सुई घुमिरहेको थियो । म भने शारीरिक पीडा त छँदैछ मानसिक पनि पीडित हुन थालेकी थिएँ । चार महिनासम्म बान्ता भएर केही शरीरमा अडिँदैन थियो । खान मन लाग्दैन थियो । नर्कमै पुगे जस्तो लाग्थ्यो । अनुहार भरी चाया पोतो निस्किएर कुरूप अनुहार देख्दा त झन् बिहे नै किन गरेछु जस्तो लाग्थ्यो ।
आफैँले भागेर बिहे गरेकी भएकाले मेरो कुनै आफन्तसँग सम्पर्क थिएन । मनको अशान्ति पोख्ने कोही नहुँदा त झन् मलाई कहाँ गएर मरूँ जस्तो पनि हुन्थ्यो । उज्यालो प्रकाश देख्न नसक्ने भएकी थिएँ । बन्द र अँधेरो ठाउँ अनि एकान्त प्यारो लाग्न थालेको थियो ।
एक चम्चा जुस खाए पाँच चम्चा बमिट हुन्थ्यो । मलाई त्यस बेला अब मर्छु होला जस्तो लाग्थ्यो ।
शरीर थिलथिलो हुन्थ्यो । आफ्नै उमेर बच्चाको जस्तो थियो त्यसमाथि पेटमा बच्चा छ भन्ने सोच्दा अचम्म लाग्थ्यो ।
खुट्टा सुनिएर टेक्न मिल्दैन थियो । न बस्न सक्थेँ न उठ्न नै । न निदाउन ।
घरीघरी बच्चाले पेटमा लातले हान्दा झन् झसङ्ग हुन्थे ।
तर त्यो लात्तीले केही समयमा नै चमत्कार गर्यो । बच्चा पेटभित्र खेलेको अनुभव हुन थाल्दा बिस्तारै मप्रति मातृत्व झल्किन थाल्यो । ममताको आभास हुन थाल्यो । कहिले काहीँ लातले नहान्दा बरु टेन्सन लिन थालेँ ।
पटक पट्क स्वास्थचौकी धाउँदा भने दिक्दारी पनि आउँथ्यो ।
श्रीमान् नेपाल आर्मी भएकोले उहाँको डिउटी जलेश्वरमा थियो । मेरो हेरचाहमा कमी हुन नदिन मलाई उहाँको अफिसको फ्यामिली क्वाटरमा राख्नु भएको थियो । मेरो हरेक काम उहाँले नै गर्नु हुन्थ्यो । श्रीमानको माया र साथ पाउने संसारको भाग्यमानी म मात्रै होला जस्तो नि लाग्थ्यो ।
नियमित चेक गर्न लानेदेखि खाना बनाउनेसम्म उहाँ आफैले गर्नुहुन्थ्यो ।
आठ महिना लागेपछि भिडियो एक्सरे मा बच्चा आरामले मेरो पेटलाई न्यानो र सुरक्षित बासेस्थान मानेर लुपुक्क निदाइरहेको देखे । उसले आमा भनेर बोलाएको कस्तो हुन्छ होला भनेर सुन्न म हतारमा थिए ।
त्यतिबेलासम्म मेरा पीडा दुखाइ सबै भुलिसकेकी थिए । रहर र पीडाहरू भुलेर म बेग्लै संसारमा बेग्लै सपनाहरू सजाउन थालिसकेकी थिए ।
तर त्यो अवस्थामा भावना कति चाँडो तलमाथि हुने ।
चिकित्सकले दिएको डेट पुग्नै लागे पछि चाहिँ म अलि डराउन थालेकी थिए । आफन्तभन्दा अलि टाढा भए नि श्रीमान् साथमै भएकोले अलि सान्त्वना मिल्थ्यो । तर जब बच्चा भैसकेका साथीहरूले कसरी भएको भनेर कुरा गर्थे एक चोटि त मृत्युको अनुभव हुन्छ कि जस्तो हुन्थ्यो । म झन् आत्तिन्थेँ ।
तर उहाँले मलाई केही हुन्न म जहाँ लगेर भएनि बचाउँछु भनिरहनु हुँदा अत्यास हटेर जान्थ्यो ।
नौ महिना पूरा हुनै लागेको थियो ।
फागुन महिनाको त्यो साँझ । तराईको गर्मी भो नसम्झौँ । अकस्मात् ढाड कमर दुख्न थाल्यो । साथीलाई मलाई गार्हो भएको कुरा सुनाएँ । नडराऊ यो त केही हैन साथीको जवाफले झन् आत्तिन थालेँ ।
पछि झन् झन् गार्हो हुन थाल्यो । रात त्यो सुनसान समय बिस्तारै ऐया ! भन्दा नि सात कोष पर गुन्जिन्थ्यो । अरूले नसुनुन् भनेर सल मुखमा कोचेर कराउँथेँ । चिच्याउँथेँ । कराउन र चिच्याउन नसक्ने अवस्था भए पछि मलाई हस्पिटल लगियो । प्रसूति गृहभित्र प्रवेश गर्दा सिङ्गो पहाडले थिचे जस्तो भयो । दुखाइ त छ्दैछ, मनमा डर पनि पैदा भयो ।
स्वास्थ्यमा अरू समस्या छैन नर्मल डेलिभरी हुन्छ भनेर नर्सले भनेकी थिइन् । तर उनको हातमा बिलेट, रेजर, धागो, सियो आदि औजारहरू देखेर बरु मलाई मेटासिट दिनु चिच्याउँदा चिच्याउँदै बेहोस भएछु । बेहोसिमै डोजरले पहाड फोरे झैँ मेरो शरीर फोरेर भ्याक्युमले बच्चा तानिएको यताकता याद आइरहेको थियो ।
करिब सात घण्टाको प्रसव पीडा पछि बिहानको पाँच बजेर पन्ध्र मिनेट गएपछि बच्चा जन्मियो ।
दिनको सुरुवात हुँदै थियो । सूर्यले पृथ्वीमा किरण फिँजाइरहेको थियो । नजिकै शिवालयमा सङ्ख ध्वनि बजिरहेको थियो । त्यही समयमा बच्चा रोएको आवाजले मेरा बिस्तारै आँखा खुल्दै थिए ।
‘हाम्रो छोरा भएछ हेर त’ श्रीमानले यसो भनेको सुन्नासाथ मेरो सारा पीडा दुखाइ मैले भुल्दै गएँ । एउटा डरलाग्दो सपना जस्तो सम्झँदै गर्दा ठुला ठुला आँखा अनि बाबुको जस्तै मुहार देखेर सपना देख्दा देख्दै ब्युँझिए जस्तो भयो ।
जलेश्वरमा जन्मेको मेरो छोराको नाम जोसिश राख्नुपर्छ ल उहाँले भनिरहनु भएको थियो ।
छोरालाई पहिलो पल्ट स्पर्श गर्न पाउँदा स्वर्ग पुगेको अनुभव भयो । सायद यो नै जीवनको मिठो अनुभूति होला । पहिलो प्रसव पिडा ताजै रहेकोले दोस्रो योजना गरेको छैन ।
+++++
अहिले छोरा तेह्र वर्षको भयो । बाबाको इच्छा अनुरूप छोराको नाम पनि जोसिश नै राख्यौ । मेरा लागि सारा खुसी नै मेरो छोरा हो । भूकम्पले चिरा पारेको जमिन झैँ शरीर चिरा पारेर जन्माएको मेरो छोरा नै मेरो संसार हो । मेरो सारा सपना टुटेको अनि बिहे व्यर्थमा गरेछु भन्ने सोचाइ र नौ महिना पेटमा रहँदा र जन्माउने बेलाको कहाली लाग्दो, सुन्नेलाई दन्त्यकथा जस्तो लाग्ने कष्टदायी पीडालाई म मेरो छोराको एक मुस्कानले बिर्सने गर्छु ।
आफू आमा भएपछि आमाको महत्त्व बल्ल बुझेकी छु । हुन त गुमाइसकेका हरेक चिज र बस्तुको महत्त्व हुन्छ भन्छन् । तर त्यस्तो भने कदापि होइन । मेरी आमा तिमी जहाँ भए नि म तपाईँलाई सँगै सम्झिरहनेछु । तिमिले देखाएका बाटो बिराउने छुइन । तिम्रा प्रत्येक मार्गनिर्देशनलाई म पालना गर्ने छु ।
मेरी आमा जहाँ भए पनि आशीर्वाद दिइरहनु ल ।
wow