गभर्नर अधिकारी र सिबिफिनबीच छलफल, सुझावहरूको समयानुकूल निर्णय गरिने
काठमाडौँ । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) का अध्यक्ष पवन कुमार गोल्यानको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसमक्ष भेटघाट तथा छलफल गरेको छ ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालू आर्थिक वर्षको पहिलो महिनाको वर्तमान आर्थिक तथा वित्तीय स्थितिले अर्थतन्त्रको बाह्य स्थितिमा सुधार देखिएको भएतापनि आर्थिक क्रियाकलापहरू अपेक्षितरुपमा चलायमान हुन नसक्नुका कारण, समस्या र समाधानका सम्भावित उपायहरूका विषयमा उक्त भेटघाट तथा छलफल केन्द्रित रहेको थियो ।
उक्त छलफलका क्रममा सिबिफिनका अध्यक्ष पवन कुमार गोल्यानले नेपाल राष्ट्र बैंकमार्फत हालै मात्र जारी चालू आर्थिक वर्षको पहिलो महिनाको वस्तुस्थितिले बाह्य स्थितिमा उल्लेखनीय सुधार भएको भएतापनि आन्तरिक उत्पादन, उत्पादनमूलक क्षेत्रमा लगानीको अवस्था, पुँजीगत खर्च, आयात, रोजगारी, मुद्रास्फीति जस्ता क्षेत्रहरूमा अपेक्षित सुधार नदेखिनुले अर्थतन्त्र अझै पनि जोखिमपूर्ण रहेकोप्रति गभर्नरज्यूको ध्यानाकर्षण गराए ।
विगतमा छिमेकी राष्ट्रहरूको अर्थतन्त्र चरम सङ्कटमा पर्दै गर्दा पनि नेपाल राष्ट्र बैङ्कको सुझबुझपूर्ण कदमले नेपालको अर्थतन्त्र जोगाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउँदै, समग्र अर्थतन्त्र, उद्यम–व्यवसाय र आम जनजीविकामा देखिने गरी सुधार ल्याउन सिबिफिनले पेस गरेका सुझावहरूको औचित्य, आवश्यकता र महत्वलाई हृदयगंम गरी सो अनुसारको नीतिगत व्यवस्थाका लागि गभर्नरसमक्ष विशेष आग्रह गरे ।
त्यसैक्रममा गभर्नर महा प्रसाद अधिकारीले बाह्य परिसूचकहरूमा सन्तोषजनक सुधार देखिँदै गएको र देशको अर्थतन्त्र क्रमशः लयमा फर्किँदै गरेको विषयमा चर्चा गर्दै, आवश्यकता, समय सन्दर्भ र वस्तुस्थितिको मूल्याङ्कनका आधारमा राष्ट्र बैंकले नीतिगत सुधारका उपायहरू अपनाउँदै जाने बताए ।
राष्ट्र बैंकप्रति सबै क्षेत्रको आशा र भरोसा बढ्दै गएको र समग्र अर्थतन्त्रलाई सुदृढ बनाउने जिम्मेवारी नेपाल राष्ट्र बैङ्कको भएको भन्ने भाष्य निर्माण गरिँदा चुनौती बढेको उल्लेख गर्दै, गभर्नर अधिकारीले तङ्ग्रिँदै गरेको अर्थतन्त्रलाई थप गतिशील बनाउने कार्यमा सबै सरोकारवाला पक्षहरू उत्तिकै गम्भीर र जिम्मेवार हुन आवश्यक रहेको औँल्याए ।
राष्ट्रिय एवं अन्तराष्ट्रियरुपमा देखा परेका संकटका बेला राष्ट्रिय अर्थतन्त्र, आम उद्यम व्यवसाय र जनजीविकाको सहजताका लागि राष्ट्र बैंकले लिएका लचिला नीतिको दुरुपयोग भएकोप्रति चासो व्यक्त गर्दै, त्यस्ता क्रियाकलाप हुन नदिने विषयमा राष्ट्र बैंक सचेत रहेको गभर्नर अधिकारीले उल्लेख गरे ।
सिबिफिनले संस्थागतरुपमा समसामयिक विषयहरूमा आवश्यकता अनुसार छलफल तथा बहस चलाउँदै, अध्ययन एवं विश्लेषणका आधारमा महत्वपूर्ण सुझाव राख्दै आएको कार्यप्रति धन्यवाद व्यक्त गर्दै गभर्नर अधिकारीले उल्लेखित सुझावहरूको विषयमा नेपाल राष्ट्र बैंकले समयानुकूल निर्णय लिने बताए ।
गभर्नरज्यूको कार्यकक्ष, नेपाल राष्ट्र बैंकमा सम्पन्न भएको उक्त छलफलमा नेपाल राष्ट्र बैंकका डेप्यूटी गभर्नरद्वय डा. निलम ढुंगाना तिम्सिना, बम बहादुर मिश्र, कार्यकारी निर्देशक गुणाकर भट्ट, निर्देशक मुक्ति सापकोटा र सिबिफिनकोतर्फबाट वरिष्ठ उपाध्यक्ष भोजबहादुर शाह, सचिव कुश प्रसाद मल्ली, कार्यकारी सदस्यहरू उपेन्द्र प्रसाद पौडेल, लिला प्रकाश सिटौला मोतीलाल दुगड, दिनेशराज जोशीलगायतको सहभागिता रहेको थियो ।