जुडोको व्यक्तिगत प्रस्पर्धामा नेपालको यात्रा समाप्त

काठमाडौँ । हाङझाव एसियाडको जुडोमा नेपालको यात्रा मंगलबार समाप्त भएको छ । उक्त दिन २ खेलाडीको पराजयसंगै जुडोको व्यक्तिगत प्रस्पर्धामा नेपालको यात्रा टुंगिएको हो ।

मिक्स टिममा भने नेपालले बुधबार जापान विरुद्ध प्रतिस्पर्धा गर्ने छ ।

जियोसन लिन्पु जिम्न्याजियममाको पुरुष १०० केजीमाथि नेपालका रन्जेश गोल इप्पोनका आधारमा पराजित भए । उनलाई प्रिक्वाटरफाइनलमा काजाकिस्तानका क्रिकबे गालिमजानले १ मिनेट ७ सेकेन्डमा हराए ।

महिला ७८ केजीमाथि नेपालकी आकृति जोशी उज्वेकिस्तानकी रिनिता इल्माटोभासंग इप्पोनकै आधारमा हारिन् । प्रिक्वाटरफाइनलमा आकृति म्याटमा मात्र २७ सेकेन्ड टिकिन् ।

जुडोमा नेपालबाट समान ४–४ पुरुष÷महिला गरी ८ खेलाडीले प्रतिस्पर्धा गरेका थिए । यसअघि पुरुषमा विकास विक, जंगबहादुर सारु र इन्द्रबहादुर श्रेष्ठ प्रतियोगिताबाट बाहिरिएका थिए ।

महिलामा मनीता श्रेष्ठ प्रधान, देवकीमाया श्रेष्ठ र १३ औं दक्षिण एसियाली खेलकुदकी स्वर्णधारी पुनम श्रेष्ठको यात्रामा पूर्णविराम लागेको थियो ।

सहभागी मध्ये विकासले मात्र एक ‘बाउट’ जिते । उनले ६० केजीको राउन्ड अफ ३२ को खेलमा कम्बोडियाका भोलोडिमिर गुच्कोभलाई इप्पोन गोल्डेन स्कोरमा पाखा लगाएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *