साहसिक खेलमा सबैभन्दा बढी डलर भित्र्याउने पोखरा अल्ट्रालाइटलाई सरकारले गर्यो सम्मान
काठमाडौँ । सरकारले पोखरा अल्ट्रालाइट प्रालिलाई सम्मान गरेको छ ।
विश्व पर्यटन दिवस २०२३ को अवसरमा बुधवार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले अघिल्लो वर्ष पर्यटन क्षेत्रमा सबैभन्दा बढी योगदान गरेका कम्पनीहरूलाई सम्मान गरेको हो ।
बुधवार आयोजित कार्यक्रममा पर्यटनमन्त्री सुदन किराँतीले पोखरा अल्ट्रालाइट सहित अन्य विभिन्न क्षेत्रका कम्पनीहरूलाई सम्मानित गरेका हुन् ।
अल्ट्रालाइटले साहसिक खेलअन्तर्गत सन् २०२२ अगष्ट १ देखि २०२३ अगष्टसम्ममा सबैभन्दा बढी विदेशी मुद्रा आर्जन गर्न सफल भएकाले सम्मानित भएको हो । पोखरा अल्ट्रालाइटका तर्फबाट योगेन्द्र थापाले सम्मान ग्रहण गरेका थिए ।
यस कम्पनीले ४४ हजार ३ सय ८८ अमेरिकी डलर आर्जन गरेको बताइएको छ ।
पोखरामा सन २०११ देखि पोखरा अल्ट्रालाइटले साहसिक खेलका पारखीहरूका लागि उडान गराउँदै आइरहेको छ । पोखराको बाराही चोकमा कार्यालय रहेको यस कम्पनीका अध्यक्ष विप्लव पौडेल हुन् भने म्यानेजिङ डाइरेक्टरमा पोम नारायण श्रेष्ठ छन् ।
पछिल्लो समय अल्ट्रालाइटमा उडेर विभिन्न हिमशृङ्खला तथा पोखरा सहरको मनोरम दृश्यावलोकनका लागि अल्ट्रालाइट लोकप्रिय बन्दै गइरहेको छ ।