एमाले कोशी प्रदेश अधिवेशन: निर्वाचन प्रक्रिया सुरू, भोलि मतदान
बिराटनगर । नेकपा एमाले कोशी प्रदेश कमिटीको प्रथम अधिवेशनमा निर्वाचन प्रक्रिया सुरू भएको छ ।
शुक्रबार सुरू भएको अधिवेशनमा राजनीतिक प्रतिवेदनहरूमाथिको छलफल सकिएपछि निर्वाचन कार्यतालिका प्रकाशन भएको छ ।
अधिवेशन एक दिन समय थप गरी निर्वाचन कार्यतालिका सार्वजनिक गरेको हो ।
अपरान्ह ४ः३० बजे सम्म मनोनयन दर्ताको समय तोकिएको छ । साँझ ५ः३० बजे उम्मेदवारहरुको प्रारम्भिक नामावली प्रकाशन हुनेछ ।
६ः३० बजे सम्म उम्मेदवारउपर दाबीविरोध गर्ने समय रहेको छ ।
मतदान भने भोलि बिहान ११ बजेबाट हुनेछ । अधिवेशनले २१५ सदस्यीय प्रदेश कमिटी निर्वाचित गर्नेछ ।
जस अन्तर्गत एक अध्यक्ष, एक उपाध्यक्ष, एक सचिव र दुई उपसचिव रहनेछन् ।
नेकपा एमाले कोशीको अधिवेशन पार्टी अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार उद्धाटन गरेका थिए ।
अधिवेशनबाट मोरङका विनोद ढकाल र घनश्याम खतिवडा अध्यक्ष बन्ने दौडमा छन् ।
एमाले अधिवेशनका लागि ९९७ जना प्रतिनिधि आएका छन् । अधिवेशनबाट पाँच पदाधिकारीसहित २१५ सदस्यीय प्रदेश कमिटीका लागि निर्वाचन हुनेछ ।