बुबालाई अल्जाइमर भएपछि जे बुझे, अरूलाई नपरोस् भनेर ‘एजिङ नेपाल’ खोले
नारायण प्रसाद गौतम मेहनती थिए । उनी एक छिन हात खाली राखेर बस्न सक्दैन थिए ।
उनी आफ्ना सपरिवार सँग भक्तपुरमा बस्दै आई रहेका थिए । गाउँको रहनसहनले आफ्ना छोरा कतै बिग्रिने त हैन भन्ने उनलाई ठुलो पिर थियो । छोराहरूलाई राम्रो शिक्षा दिनको लागि राजधानी नै जानु पर्छ भन्ने महसुस गरेपछि उनी काठमाडौँ आएका थिए ।
उनका ५ छोरा हुर्कँदै थिए ।
उनले जीवनभर भारतमा निजी गोदाम कम्पनीको इन्चार्जको रूपमा काम गरे ।
६० वर्षको उमेरमा सेवा निवृत्त भएर उनी नेपाल फर्किए र आफ्नो साइँलो छोरा सँग बस्न थाले । तर उनको केही न केही गरी रहने बानी भने अझै छुटेको थिएन । चुप लागेर बास्दा हात सक्कसकाउथ्यो । त्यसैले कहिले सिलिङ सफा गर्थे त कहिले जोखिमयुक्त ठाउँमा चढेर गमला सफा गर्न जान्थे ।
साइँलो छोराकोमा बस्दा उनी एक्लो भए । कुरा गर्ने कोही भएनन् ।
छोरो घरको छाक टार्न काममा जान्थे र नातिनीहरू विद्यालय । यसो हुँदा घरमा उनी र उनको बुहारी मात्र हुन्थे । काम विशेष बाहेक ससुरा र बुहारी बिच अरू अनायासै कुराकानी हुनुहुँदैन भन्ने समाजको चलनले उनीहरूलाई चुप लगाउँथ्यो । उनलाई हरेक दिन पट्यार लाग्थ्यो ।
यो क्रम धेरै समयसम्म चलिरह्यो ।
उनका जेठो छोरा कृष्ण मुरली गौतम बुबालाई भेट्न भाइकोमा गइ रहन्थे । उनी त्यतिबेलासम्म चट्याङ मास्टर भनेर चिनिइसकेका थिए ।
भाइको घरमा जाँदा त्यहाँ भएको असहजता उनी बुझ्न सक्थे । तर आफ्नै भाइलाई ‘तैँले बुबालाई हेरचाह गर्न सकिनस्’ भनिहाल्न उनलाई पनि गाह्रो थियो ।
एक दिन सधैँ झैँ उनी बुबालाई भेट्न भनी गएका थिए । त्यो दिन उनको बुबाको आँखाले आफू खुसी नभएको बताइरहेको जस्तो मुरलीले देखे । तर धेरै दयालु भएकाले आफ्ना छोरा बुहारीलाई आफू असन्तुष्ट भएको मुख फोरेर भन्न नसकिरहेको पनि बुझे ।
मुरलीले बुबाको आँखामा देखेको पिडा सहन सकेनन् र आफ्नो घर लिएर आए ।
घर ल्याएपछि अब त सबै ठिक हुन्छ भन्ने अपेक्षा उनले गरेका थिए । तर दिन बित्दै जाँदा उनले आफ्ना बुबाको बढ्दै गरेको असामान्य व्यवहारहरू देख्न थाले । गौतम शौचालय जान खोज्दा एक टक घोरिएर यो साँच्चै शौचालय हो या हैन भनेर अलमलिएजस्तो लाग्थ्यो । आफ्नै इष्टमित्र चिन्न गारो भए झैँ गर्ने जस्ता व्यवहारहरू गर्थे । यसले मुरलीलाई अत्याइरह्यो । बिस्तारै यी असामान्य व्यवहारहरू घट्ला भन्दा भन्दै झनै बढ्दै गयो ।
एक दिन त बुबाले घर बाहिर राखिएको जुत्ता सबै लगेर आफ्नो सिरान मुनी राख्न लागे । मुरली स्तब्ध भए । जसले आफूलाई खान लाउन र ताँते गर्दै हिँड्न सिकाए उनलाई नै ‘जुत्ता सिरानमा लगेर राख्नु हुँदैन बा !’ भनेर कसरी सिकाउन् ?’
उनी चुप लागेर आफ्ना बा का गतिविधिहरू नियाली रहे र उनका बा क्रमशः जुत्ताहरू सिरानमा लग्दै गए ।
बुबा सधैँ माथि जान्छु भनेर तल, तल जान्छु भनेर माथि गर्दै एकै दिन पचास चोटि माथि तल ओहोर दोहोर गर्थे । गर्दा गर्दै एक दिन त कहाँ दिसाब पिसाब गर्ने भन्ने होस नै गुमाए । आँखा कै अगाडि शौचालय हुँदा हुँदै बस्न भनी राखिएको कुर्सी र छरपस्ट भएको किताब माथि दिसा गर्न भनी टसक्क बसे । मुरलीले यस्तो व्यवहार कतै देखेका थिएनन् ।
उनका बुबा स्वास्थ्यका हिसाबले निकै फिट थिए । ६४ वर्षको उमेरमा पनि ८५ केजी, राता गाला, धेरै हट्टा कट्टा । तर उनी शारीरिक हिसाबले मात्रै तगडा देखिएका हुन् भन्ने कुराले मुरलीलाई भित्र भित्रै खाइरहेको थियो । उनी रात भरि सुत्न सक्दैन थिए । यस्ता असामान्य व्यवहारहरू दिन दिनै अनियन्त्रित रूपमा बढ्दै गएपछि मुरलीले बुबालाई सिनामंगल स्थित के.एम.सी अस्पताल लगे ।
उनीहरू पहिले बुडाबुडी जाँच्न जाने ठाउँमा उपचारका लागी गएका थिए । तर त्यहाँबाट उनीहरूलाई मानसिक विभागमा पठाइयो । विभाग प्रवेश गर्न साथ, त्यहाँ अनौठा दृश्य देख्न सकिन्थ्यो । कोही अनायासै एक्लै हाँस्दै थिए त कोही र्यालसिँगान काढ्दै यता उता उफ्रिँदै थिए । त्यत्रा मान्छेका भिडमा गौतम एकदमै सामान्य देखिन्थे । तर कुन बेला के गर्दिने हुन् भन्ने ठेगान भने थिएन ।
उपचारका लागी उनीहरूको पालो आयो । उनीहरू सरासरी डाक्टर भएका कोठामा छिरे । सबै डाक्टरहरू मिली सोध पुछ गरे । केही समय पछिको छलफल पछि एक डाक्टरले मुरलीलाई हेर्दै भने,
‘ए उहाँलाई त डिमेन्सिया, अल्जाइमर भएको रहेछ ।’
यी दुवै शब्द मुरलीले पहिलो पल्ट सुनेका थिए ।
‘के हो डाक्टर साहब डिमेन्सिया र अल्जाइमर भनेको ?’ उनले अलमलिँदै सोधे ।
‘यो बिर्सिने रोग हो, उहाँ सचेत त हुनुहुन्छ, अहिले हामी माझ उपस्थित पनि हुनुहुन्छ तर उहाँले भन्न सक्नुहुन्न ।’ डाक्टर भन्दै गए । ‘उहाँको मनमा सधैँ अन्योल रहिरहन्छ । के ऊ मेरै छोरो हो ? के यो साँच्चै मेरो कोठा हो त ?’
डाक्टरहरूले उनलाई विस्तृत रूपमा बुजाए ।
‘यसको उपचार के त डाक्टरसाप ?’
डाक्टरले भने ‘यसको त ओखती नै छैन मुरली जी ।’
उनी छाँगा बाट खसेझैँ भए ।
डाक्टरले बुबाको सक्रियतालाई सुस्त बनाउन एक मेन्टल टोनिक नामक औषधीको लेखिदिए । उनी आफ्नो बुबालाई अँगालो मारेर निस्किन लागेका मात्र थिए डाक्टरले बोलाए । भारतबाट अर्को औषधि ल्याउन सक्नुहुन्छ त भनेर सोधे । उनको मनमा झिनो आशा पलायो । ‘यदि बुबालाई बचाउन सक्छ भने पक्कै ल्याउँछु‘ उनले भने ।
त्यसो भए ६ प्याकेट ल्याउनु होला भन्दै डाक्टरले औषधीको नाम लेखे । डाक्टरकै बुबा पनि अल्जाइमर रोगी भएको अनि यहाँको औषधीले काम नगरेकाले बाहिरबाट ल्याउनु पर्ने बताए । कैयौँ ओखतीका बाबजुद पनि ठिक नभएको अनि,एक दिन दमकललाई फोन गरेर घरमा आगो लागेको भनी डाकेको जस्ता बाका हर्कत सुनाए ।
बा निको पार्ने मुरलीको झिनो आशा पनि मरेर गयो ।
उनी अन्योलमा परे । डाक्टरले आफ्नै बाको उपचार गर्न नसकेको कुराले उनलाई घोची रह्यो ।
केही समयपछि त औषधिले पनि काम नगर्ने अवस्था आयो ।
मुरली आफै अनुसन्धान गर्न थाले । सुरुमा उनले डिमेन्सिया र अल्जाइमर शब्दको अर्थ खोजी गरे । डिमेन्सिया भनेको स्मृति गुमाउने अनि साधारण मान्छेले झैँ सोच्ने क्षमताहरू गुमाउनु हो भन्ने बुझे । अनि अल्जाइमर डिमेन्सियाको सबैभन्दा पहिलो कारण हो भन्ने थाहा पाए । बुबालाई सरल कामहरू पनि गर्न किन गाह्रो हुँदो रहेछ भन्ने पनि बुझे । अधिकांश मानिसहरूमा यसका लक्षणहरू जीवनको उत्तरार्धमा देखा पर्ने हुनाले आफ्नो बुबा पनि उमेर बढ्दै जाँदा झन् झन् शिथिल हुँदै जानुभएको रहेछ भन्ने थाहा पाए ।
दिमागले सामान्य तरिकाले काम गर्न वा बुझ्न छोड्छ भन्ने भए पनि उनले बुबालाई नयाँ कुरा सिकाउन छोडे । बरु बुबाको अवस्थालाई बुझ्दै आफूले के के गर्न सकिन्छ त्यो सिक्न थाले । उहाँको दैनिकीमा चल्ने सबै कामहरू बारे बुझ्न थाले । बुबालाई भोक लाग्यो होला, बुबाको दिसा पिसाब गर्ने समय होला आदि जस्ता कुरा ख्याल गर्न थाले ।
बुबाकै हेर चाहाको निमित्त उनले जागिर पनि छोडिदिए ।
बुबा पहिलै देखि धर्म कर्ममा रुचि राख्ने भएकाले अल्जाइमर भएपछि पनि पूजा गर्न खुब रुचाउँथे । बिहान पूजा गरिसकेपछि पनि पूजा कोठाबाट निस्कन साथ फेरी मन लागे पूजा गर्न गइहाल्थे । यो उनको दिनचर्या नै भइसकेको थियो । हरेक दिन उनी एक एक घण्टामा पूजा गरिरहन्थे ।
उनी केही नभनी पूजा गर्दा रमाएको आफ्ना बुबालाई हेरिरहन्थे ।
पछि गएर उनले थाहा पाए कि यस रोगबाट ग्रसित मान्छेहरूको दिमाग जहाँ गएर अड्केको हुन्छ ऊ त्यही मात्रै बारम्बार दोहोराई रहन्छ । जस्तै कसैलाई यौन सम्पर्क गर्ने इच्छा भए तब उसको दिमागमा त्यही मात्र घुमिरहन्छ । उसले त्यतिखेर अगाडि उभिने हरेक व्यक्तिलाई आफ्नो यौन आकर्षण हुने लिङ्गको हो भन्ने बुझेको हुन्छ । उसलाई ऊ छोरी हो कि बुहारी हो कि श्रीमती हो भन्ने बारे केही थाहा हुँदैन ।
यिनै व्यवहारका कारणहरूले समाजमा आफ्नो प्रतिष्ठा बिग्रने डरले परिवारहरूले अल्जाइमर हुने बिरामीहरूलाई कोठाभित्र थुन्ने गरेको पनि मुरली ले पाए । तर यस्तो गर्दा बिरामीको आचरण झनै बिग्रने सक्छ भन्ने उनलाई राम्ररी थाहा थियो ।
त्यसैले आफ्नो बुबालाई के गर्ने भनेर सिकाउनुको सट्टा उनले बुबाको अवस्थालाई स्विकार्दै लागी बरु अर्को केयर टेकर पनि राखे ।
कहिलेकाहीँ बुबा सबै कुरा सम्झन्थे र पहिले झैँ सामान्य तरिकाले हाँस्थे र खेल्थे । कसैले उनको समयको कुनै गीत गाए उनले एक हरफ देखि दोस्रो हरफ आफै पूरा गर्थे । कहिलेकाहीँ त ‘ए मुरली’ भनी नाम पनि पुकार्थे । यस्तो हुँदा मुरलीको मन फुरुङ्ग हुन्थ्यो ।
यस्ता कुरा वर्षौँसम्म भइरहे । औषधि केबल एउटै थियो, बुबाको राम्रो सँग हेरचाह गर्ने ।
बुबालाई अल्जाइमर भएपछि उनले समाजमा यसबाट पीडित व्यक्तिहरूलाई हुने अमानवीय व्यवहारहरूको बारेमा थाहा पाए । कतिले बिरामीले गरेको व्यवहारलाई गलत पढ्ने डर हुँदो रहेछ । यदि उसले धेरै दिन देखि गलामा हात लगाई रहेको छ भने उसको दाँत दुखेको होला भन्ने अनुमान नगरी अल्जाइमरलाई नै दोष दिँदा रहेछन् ।
कतिले ‘ए अल्जाइमर लागेको मान्छे के गर्छ गर्छ ख्याल गरिराखेर के साद्धे?’ पनि भन्दा रहेछन् ।
उनले अल्जाइमर रोगले मान्छे नमर्ने तर उसलाई बुझ्न गरिने यी यस्तै खाले लापरबाहीको कारणले व्यक्तिको मृत्यु हुने गरेको पनि थाहा पाए ।
नेपालमा कति मानिस अल्जाइमरबाट पीडित रहेछन् भनेर बुझ्न खोज्दा यसको बारेमा कुनै सर्वेक्षण नै नभएको रहेछ भन्ने पनि उनले थाहा पाए । सरकार आफैँलाई यसबारे त्यति चासो नभएको उनलाई लाग्यो । चेतनाको कमीका कारण अल्जाइमरबाट पीडित व्यक्तिलाई पागल भनी दुर्व्यवहार गरिने शिथिल अवस्था देख्दा उनलाई आफूले चाहिँ बुबाको राम्रो हेरचाहमा कुनै कमी छोड्नु हुँदैन भन्ने सोच्थे ।
गौतमले सबै बिर्सिएता पनि, मुरली उनको छोरो हुन् भन्ने कहिले बिर्सिएनन् । उनको दिमागले आफ्नो छोरोको नाम बिर्सिएता पनि उनका आँखाले सधैँ मुरलीलाई नै खोज्थे । अरू कसैले छुँदा निदार खुम्चाउने उनी मुरलीले टाउको सुमसुम्याउँदा भने आनन्दले आँखा चिम्लिन्थे । मुरली यसमै खुसी हुन्थे ।
हिँड्दै छ पाइला मेट्दै छ भने झैँ उनका बा पनि जति वर्ष बित्दै गयो त्यति धेरै बिर्सिन लागे ।
बिर्सिदा बिर्सिँदै उनले थुक निल्न सम्म बिर्सिए । खाना खुवाउँदा उनी निल्नुको सट्टा थुक्न थाले ।
उनी डाक्टरको सल्लाह लिन अस्पताल पुगे । डाक्टरले भनिदिए,
‘मुरली जी, लेट हिम गो पिसफुल्लि ।’
उनी एक पटक फेरि स्तब्ध भए । तर अरू विकल्प पनि थिएन । घाटीबाट पाइप हालेर खाना खुवाए पाक्ने सम्भावना भएको र त्यसले बुबा लाई झनै पिरोल्ने भएकाले उनले बुबालाई सजिलैसँग जान दिने निर्णय लिए ।
‘आफ्नो बुबा बित्दै छन् भन्ने थाहा हुँदाहुँदै केही गर्न नसक्नु जस्तो लाचारता अरू के नै हुन सक्थ्यो र ?’ उनले आँखा भरी आँसु पार्दै सुनाए ।
आफ्नो बुबाको मृत्यु पछि उनले अल्जाइमर रोग र अल्जाइमर रोगीहरूलाई ‘पागल’ भन्नुको सट्टा कसरी उनीहरूलाई हेरचाह गर्नुपर्छ भन्ने बारे सचेत गराउन आफ्नो जीवन समर्पित गर्ने निर्णय गरे ।
किनकि उनलाई थाहा थियो ‘अल्जाइमर पीडितलाई सबै थाहा हुन्छ । आम मानिस झैँ उनीहरूले पनि सबै कुरा महसुस गर्छन् । फरक यत्ति मात्र छ कि उनीहरूले यसलाई भन्न सक्दैनन् ।’
बुबाको अन्तिम दिनहरूका सारथि बनेका उनले वृद्ध वृद्धाका दुख कष्ट नजिक बाटै देखेका भएर वृद्ध वृद्धाका लागि काम गर्ने भनेर सन् २०११ मा ‘एजिङ नेपाल’ नामक संस्था खोले । जसले ज्येष्ठ नागरिकको हक अधिकारका लागि काम गर्ने गर्छ ।
होहंसा खड्काकाले लेखेका यी अन्य फिचर स्टोरीहरू पनि पढ्नुहोस्:
छिमेकीले विष खुवाएर कुकुर मारिदिए, उनले घर बेचेर कुकुरको लागि ठाउँ बनाइन्
सेक्युरिटी गार्ड र इँटा मजदुर हुँदै गायक बनेका अलिफ खानको प्रेरणादायी कथा
उनी कोहीभन्दा कम छैनन् तर पनि पितृसत्ताले व्यावसायिक ड्रमर बन्न दिएन
कुकुरसँगै ६३ जिल्ला घुमिसकेका कुशल भन्छन्– ‘ऊ नभए मेरो संसार रित्तिन्छ’
It tough my heart. Same as happens to me as well.
Great article