एमाले कोशी प्रदेशको नेतृत्व चयनका लागि भएको मतदान सकियो, अब मतगणना थालिने
काठमाडौँ । नेकपा एमाले कोशी प्रदेश अधिवेशनबाट नेतृत्व चयनका लागि भएको मतदान सकिएको छ । गएराती भएको मतदानमा ९७७ मत खसेको हो ।
मत गणना दिउँसोदेखि गर्ने निर्वाचन समितिले जनाएको छ । अधिवेशनमा ९९७ जना मतदाता थिए । अधिवेशनबाट अध्यक्ष बन्नका लागि दुई नेता विनोद ढकाल र घनश्याम खतिवडाबीच चुनावी प्रतिस्पर्धा छ । अध्यक्ष केपी शर्मा ओलीको आधिकारिक उम्मेदवार खतिवडा भएको एमाले वृत्तमा चर्चा छ ।
विराटनगरस्थित होटल मनास्लु इनमा १२ गतेदेखि जारी अधिवेशनका नेतृत्व सहमतिमा चयन गर्ने प्रयास भएको थियो । तर, नेताहरूबीच सहमति नहुँदा मतदानमा जानू परेको हो । अधिवेशनबाट ५ पदाधिकारीसहित २१५ सदस्यीय समिति निर्माण हुनेछ । त्यसका लागि ४ सय ५० जनाको उम्मेदवारी परेको थियो । जसमध्ये उपाध्यक्षमा टिकाराम चेम्जोङ निर्विरोध चयन भइसकेका छन् ।
सचिवमा पाँचथरका राजकुमार भण्डारी र उदयपुरका शैलेश लामाबीच प्रतिस्पर्धा छ ।दुई जना उपसचिवमा झापाकी जलवर्षा राजवंशी, मोरङका खेमराज नेपाली, खोटाङका देवान राईबीच प्रतिस्पर्धा छ ।