काठमाडौँले भ्याली बाहिर केही गर्न सकिँदैन भन्यो, उनले त्यसलाई बदल्न काठमाडौँ छोडे
२०६३ साल वैशाख ३ गते ।
जीवन बराल पहिलो पल्ट काठमाडौँमा नाटक हेर्न गुरुकुल आएका थिए । निशा शर्मा द्वारा निर्देशित ‘मायादेवीका सपना’ नामक नाटक मञ्चन भइराखेको थियो । झापाबाट कलाकारको रूपमा सहभागी हुन गएका उनलाई प्रत्यक्ष नाटकको प्रभावले छपक्कै छोप्यो ।
उनी सानै देखि नाटक खेल्न रुचाउँथे । नाटक घरमा खेल्ने र हेर्ने प्रचलन पहिलै देखि नभए पनि गाउँमा दाइहरूले गर्ने नाटकहरू अवसर बन्थ्यो । विशेषतः चाडपर्वमा उनी दाइहरूलाई पछ्याउँदै नाटक खेल्न जान्थे ।
बिस्तारै नाटकसँगको निकटता गहिरियो ।
अझै समय बितेपछि उनलाई नाटककै लत बस्यो । उनी आफ्नो जन्मस्थल दमकमा नाटक खेल्न थाले ।
नाटक खेल्ने ठाउँ सामान्य हुन्थ्यो । त्यहाँ उनी आफ्नै तालले पर्दा झार्ने र तान्ने गर्थे । आफूले जत्ति राम्रो गरेको जस्तो लागे पनि त्यो बेला सही प्रविधि हुँदैन थियो । काठमाडौँमा पहिलो पल्ट नाटक हेर्दा त्यसैले पनि उनी त्यहाँ भएका बत्ती अनि त्यसमा खेलाइको दृश्य देख्दा अचम्मित थिए ।
दमकमा उनले काम गर्दै गरेको नाटक घर बाँसले बनाइएको थियो । हेर्दा नाटक घर जस्तै नदेखिने भएकाले त्यसलाई मान्छेहरूले कुखुराको फारम समेत भन्ने गरेको उनी सम्झिन्छन् ।
गुरुकुलमा नाटक हेरेर निस्किदा उनले नाटक घरलाई ढोगेर निस्के ।
उनको मनमा अब यस्तै नाटक घर आफ्नो दमकमा पनि बनाउन पर्छ भन्ने ऊर्जा जागेको थियो । तर तत्कालै पुरा हुने अवसर भने मिलेन ।
कैयौँ सालपछि काठमाडौँमा शिल्पी थिएटर खोली रंगकर्म गरिरहेका निर्देशक घिमिरे युवराज केही कलाकारको खोजीमा पूर्व पुगेछन् । उनले बराललाई झापामा भेटे ।
अनि उनको काठमाडौँको यात्रा सुरु भयो । उनले केही समय शिल्पी नाटक घरमा काम गरे । अनुभवहरू बटुले । तर काठमाडौँमा नाटक गरिरहँदा पनि उनको मन सधैँको लागि यतै अडिएन ।
‘मेरो जन्मथलो दमक हो, काठमाडौँ त म केही सिक्न मात्र गएको हु’, उनी सम्झन्छन् ।
केही समय राजधानीमा काम गरेपछि उनी फेरी दमक फर्किए । त्यो बिचमा सडक नाटकका परियोजनाहरूमा काम गर्दै धेरैतिर पुगिसकेका थिए । आफ्नो ठाउँ फर्किएर नाट्यकर्म सुचारु गर्न चाहिने सीप बटुलिसकेका थिए ।
उनलाई काठमाडौँले पूर्वलाई हेप्छ जस्तो लाग्थ्यो । त्यसैले पनि उतै गएर केही गर्नुपर्छ भन्ने हुन्थ्यो ।
‘काठमाडौँले भ्याली बाहिर चाहिँ केही गर्ने सकिँदैन भनेर सोच्छ । मलाई त्यो कुरा बदल्नु थियो । पूर्वमा पनि केही गर्न सकिन्छ भनेर काठमाडौँ छोडेँ । ‘ बराल भन्छन् ।
उनी फर्किए पश्चात् आफ्नो तन मन लगाएर आफ्नो ठाउँमा काममा लागे ।
दमकमा सिजन दाहाल लगायतले ‘कदम नाटक घर’ खोल्ने तयारीमा थिए । सिजन पनि काठमाडौँको मण्डला नाटक घरमा नाटक सिकेर फर्किएका थिए । भर्खरै बन्दै गरेको कदम नाटक घरमा उनी पनि मिसिए । कलाकारहरूलाई तालिम पनि दिन सुरु गरे । कलाकारहरू नै मिलेर नाटक घर पनि बनाए ।
निर्माण हुँदै गरेको नाटक घरमा काम गर्न पाउँदा बरालमा पनि अझै ऊर्जा थपियो । उनको ऊर्जा सिजन लगायत अरू नाट्य अभियन्ताहरूमा पनि सर्यो ।
त्यही कदम नाटक घरमा नै उनले नाट्यतालिम दिएका कलाकारले खेल्दै गरेको नाटक हो: जयमाया आफू मात्र लिखापानी आइपुगी ।
इन्दबहादुर राईको कथामा आधारित भएर बनाइएको यो नाटक काठमाडौँको मण्डला नाटक घरमा पाहिले नै सुनिल पोखरेलको निर्देशनमा मञ्चन भैसकेको थियो । उनले त्यो कथा नाटक बन्नु भन्दा अगाडि नै पढेका थिए । सम्झिन्छन् ‘यसलाई मञ्चमा उतार्न मन छ’ भनेर सोच्दै गर्दा मण्डलामा त्यही नाटक आयो ।’
उनी नाटक हेर्न गए । नाटक हेरिसकेपछि पनि उनको मनमा भने त्यो कथालाई आफै निर्देशन गर्ने धित भने मरिसकेको थिएन ।
कदम नाटक घरमा तालिम दिँदै गर्दा तिन महिना को अन्त्यमा एउटा नाटक देखाउने उद्देश्य हुन्छ । कुन नाटक गर्ने भनेर सोच्दा उनको दिमागमा ‘जयमाया आफू मात्र लिखापानी आइपुगी’ नै गर्नपर्छ भन्ने कुरा प्रस्ट थियो ।
एउटै कथा भए पनि उनले पोखरेलले भन्दा अलि फरक ढङ्गले निर्देशन गरेका छन् । पूर्वेली ढङ्गले मोरङ, झापाको गाँसबासको कथा भन्नु नै उनलाई ठुलो सम्पत्ति लाग्छ । त्यसकै परिवेश यसमा टिपेका छन् । पूर्वतिर भुटानी शरणार्थीहरू आएर बसेको अनि यो कथा पनि एक ठाउँबाट छोडेर अन्त गएका चरित्रको कथा भएकाले त्यसको पनि प्रभाव रहेको उनी बताउँछन् ।
इन्द्र बहादुर राई द्वारा लिखित यो कथाले बर्मामा बस्दै गरेका नेपालीहरूको कथा भन्दछ । दोस्रो विश्व युद्धको बेलामा बर्मामा बस्नु जोखिमपूर्ण थियो । त्यसैले कैयौँ नेपाली लिखापानीको लागि निस्किए । त्यही व्यथालाई उतार्न यो नाटक रोजेको उनी बताउँछन् ।
काठमाडौँ भन्दा दमकमा कलाकार पाउन अलि गाह्रो भएको उनी बताउँछन् । भन्छन्, ‘काठमाडौँमा सबै काम छाडेर नाटक गर्छु भनेर लागेका हुन्छन् । यहाँ भने सबै काम भ्याएर, कसैको घाँस काटेर, गाईबस्तु दुहेर, पसल बन्द गरेर, घरमा थाहा नदिई गाली नखाने हिसाबले समय मिलाउनु पर्थ्यो ।’
अहिले तालिम नै लिन थाले पछि चाही कलाकारले छुटै समय लिएर आएका छन् रे । तर यो बाहेक पनि धेरै चुनौतीहरूको सामना गर्नुपरेको उनी बताउँछन् ।
दमकमा दर्शक पाउनु पनि निकै चुनौतीपूर्ण विषय हो । सडक नाटक गर्दा सित्तैमा हेर्न पाउने भएकाले धेरै दर्शक भेला हुन्थे । नाटकघरमा भएपछि चाही पैसा तिरेर नाटक हेर्नुपर्ने भएकाले सुरुमा मान्छे हिचकिचाउने गरेको उनको अनुभव छ । तर एक पल्ट नाटक घरमा हेरिसकेको मान्छे फेरी फेरी फर्केर आउने गर्दछन् । ती दर्शकले अझै दर्शक लिएर आउने गर्छन् ।
तर यसो भन्दै गर्दा अहिले पनि नाटक गर्नु जोखिमपूर्ण नै छ । जोखिम लिएर काम गर्दा पनि उनलाई मज्जा आइराखेको छ ।
दर्शक बाहेक पनि एउटा नाटक चल्नको लागि धेरै श्रोतहरूको आवश्यकता हुने गर्दछ । डोनर देखि लिएर सरकारी निकायले पनि यसमा ठुलो भूमिका निर्वाह गरेको हुन्छ । काठमाडौँमा गैरसरकारी संस्था (एनजिओ) हरूले चाडै पत्याइदिने कारणले गर्दा त्यताका नाटक घरहरूलाई परियोजना केन्द्रित नाटक गर्न अलि सहज हुने उनको बुझाइ छ । दमक जस्तो ठाउँमा स्पोन्सर ल्याउनु पनि ठुलो चुनौती हुने गर्दछ । तर यो पालि डोनरले विश्वास गरेकोले उनी खुसी व्यक्त गर्छन् ।
अनि थप्छन् ‘यो अभाव बिचमा बसेर गरेको नाटकको मिठास नै साचीकै मिठो हुन्छ ।’
सरकारले नेपाली नाटकहरूलाई मद्दत गर्न चाहन्छ भने अझै आधिकारिक अध्ययन गर्ने ठाउँ बनाइदिनुपर्ने उनको ठम्याइ छ । अनि नाट्य एकेडेमी जस्ता निकायहरूले आफ्ना पार्टीका कार्यकर्ताहरूलाई मात्र पोस्ने ठाउँ बनाउन नहुने उनी बताउँछन् । दमकमा झन्डै त्यस्तै भएको पनि सुनाउँछन् ।
त्यो सँगै मानिसहरूमा नाटकको बारेमा गलत बुझाइ पनि छन् । कसैलाई नाटक हेर्न बोलाउँदा ‘नाटक? यहाँ आफ्नै नाटक त कसले हेर्दियोस्’ जस्तो जबाफ आउने गरेको पनि उनी हाँस्दै भन्छन् ।
नाटकबारे अलिक बुझेको, यही क्षेत्रमा केही वर्ष काम गरेको व्यक्तिहरूलाई यस क्षेत्रमा ल्याउन सके नाटक बनाउन अलिक सहज हुने उनको धारणा छ ।
‘हामी सीमित श्रोतले काम गर्दै छौ । जे गर्दै छौ, त्यसमा आनन्द नै आइरहेको छ । यो कोसिसलाई साथ दिनु होला । नाटक हेर्न आइदिनु होला ।’