कांग्रेसबिना सरकार चलाउन सकिन्नः माधव नेपाल
काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेपाली कांग्रेसविनाको सरकार कल्पना गर्न नसकिने बताएका छन् ।
बुधबार जनकपुरान समाजवादी प्रेस संगठनले गरेको पत्रकार सम्मेलनमा अध्यक्ष नेपालले कांग्रेसविनाको सरकार कल्पना गर्न नसिकिने बताएका हुन् ।
त्यसकारण गठबन्धनमा रहेका सबै दलहरू इमानदार हुनुपर्ने उनले बताए ।
‘वर्तमान गठबन्धनमा रहेका दलहरूले सहमतिअनुसार आ–आफ्नो कार्यभार पूरा गर्नुपर्छ,’ उनले भने ।
नेपालले सरकारले राम्रो काम गर्न खोजेपनि पर्याप्त नभएको बताउँदै सरकारलाई दबाब, सुझाव र सहयोग गरी अगाडि बढ्नुपर्ने बताए ।
‘सबै इमान्दार हुन जरूरी छ, त्यसमा हाम्रो पार्टी प्रतिबद्ध छ,’ उनले भने ।
नेपालले सामाजिक सद्भाव खलबलिने काममा नलाग्न सबैलाई अपिल समेत गरेका छन् ।
उनले अशान्ति मच्चाउने मनसायले देशका विभिन्न भू–भागमा सामाजिक सद्भाव प्रतिकूलका क्रियाकलाप भइरहेकाप्रति चिन्ता व्यक्त गर्दै त्यस्ता संविधानविरोधी काममा नलाग्न सबैलाई आग्रह गरे ।