यो सरकार जति दिन रह्यो त्यति मुलुक बर्बादीतर्फ जान्छः डा.शेखर कोइराला
काठमाडौँ । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले वर्तमान सरकार तत्काल सच्चिनुपर्ने नत्र सत्ता छाड्नुपर्ने बताएका छन् ।
कोइरालाले वर्तमान सरकार जति दिन रह्यो त्यति मुलुक बर्बादीतर्फ जाने भन्दै अब दूईवटा विकल्प मात्रै रहेको बताए ।
‘अब अति भयो, जति दिन यो सरकार राख्यो त्यति देशको राष्ट्रियता, सार्वभौमिकता, राजनीतिक र अवस्था कमजोर हुँदै जान्छ । नेपाली कांग्रेसको नेतृत्वमा सरकार गठन अपरिहार्य भैसक्यो’ कोइरालाले भने ।
कोइरालाले सरकारको हेपाहा र बलमिच्याईले चर्को महँगीका कारण जनताको चुलो नबल्ने अवस्थामा पुगेको बताए। जनतालाई सहुलियत दिनुपर्नेमा चाडपर्वको मुखमा दैनिक उपभोग्य वस्तुहरूको भाउ बढ्नु राम्रो सङ्केत नभएको समेत बताए ।
कपिलवस्तुको तौलिहवामा आयोजित नेपाली कांग्रेस कपिलवस्तुको प्रथम जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै कोइरालाले सभापति शेरबहादुर देउवाले विधान सम्मत पार्टी सञ्चालन नगरेकाले कांग्रेस पार्टी अप्ठ्यारो अवस्थामा परेको बताए ।
सभापति देउवासँग व्यक्तिगत रूपमा आफ्नो कुनै रिस नभएको तर पार्टी विधि र विधान अनुसार चल्नुपर्छ भन्ने कुरामा आफूले कसैसँग सम्झौता नगर्ने धारणा राखे ।
‘पार्टी भित्र दूर–दरारका ईमान्दार, निष्ठावान र सक्रिय साथीहरूको मूल्याङ्कन हुन सकेको छैन, त्यसैले कांग्रेसको जग नै कमजोर हुन थालेको छ ।’ कोइरालाले भने ।