बझाङ भूकम्प पीडितलाई राहत दिन प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बझाङ भूकम्प पीडितलाई राहत दिने प्रक्रिया तत्कालै सुरु गर्न निर्देशन दिएका छन् । सिंहदरबारमा बिहान भएको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन परिषद्को बैठकमा उनले यस्तो निर्देशन दिएका हुन् ।

प्रधानमन्त्री प्रचण्डले तत्काल राहत दिन र क्षतिग्रस्त संरचनाको पुनर्निर्माणको प्रक्रिया अघि बढाउन निर्देशन दिए । ‘मङ्गलबारको बझाङ भूकम्पबाट पीडित र प्रभावित जनतालाई राहत, उद्धार, पुनर्स्थापना तथा पुनर्निर्माणका बारेमा आवश्यक निर्णय तथा कार्यान्वयनका लागि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन परिषद्को १२ औ बैठकमा गम्भीर छलफल भएको छ,’ उनले भनेका छन्, ‘प्रभावित जनतालाई तत्काल राहत दिन र क्षतिग्रस्त संरचनाको पुनर्निर्माणका लागि आर्थिक तथा अन्य सहयोगको लागि तत्काल प्रक्रिया अघि बढाउन सम्बन्धित निकायलाई निर्देशन दिइएको छ ।’

सरकारका तर्फबाट राहत, उद्धार, उपचार, पुनर्स्थापना तथा पुनर्निर्माणमा कुनै कमी हुन नदिइने उनले बताए । ‘प्राकृतिक विपद्ले सिर्जना गरेको सङ्कटसँग जुध्न तीनै तहका सरकार, नागरिक समाज, राजनीतिक दल तथा जनसमुदायको एकीकृत र समन्वयात्मक पहलकदमी जरुरी छ । सरकारका तर्फबाट राहत, उद्धार, उपचार, पुनर्स्थापना तथा पुनर्निर्माणमा कुनै कमी हुन दिइने छैन,’ प्रधानमन्त्री प्रचण्डले भनेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *