६ महिनामै दुइ पार्टी फेरेका शिवचन्द्र एमाले प्रवेश
काठमाडौं । गत वैशाख १० गतेको उपनिर्वाचनमा उपेन्द्र यादवसँग पराजित भएका शिवचन्द्र कुशवाहा नेकपा (एमाले) मा प्रवेश गरेका छन् ।
उनलाई बिहीबार एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी प्रवेश गराएको प्रचार विभाग सचिव गगन विष्टले जानकारी दिए । उनीसहित माओवादीका जिल्ला तहका नेताहरू पनि एमाले प्रवेश गरेको उनले बताए ।
कुशवाहाले २०७९ को प्रतिनिधि सभा निर्वाचनमा बारा–२ मा माओवादी केन्द्रबाट उम्मेदवार बनेर १३ हजार ४६८ मत ल्याएका थिए । त्यहाँबाट निर्वाचित रामसहायप्रसाद यादव राष्ट्रपति बनेपछि भएको उपनिर्वाचनमा माओवादी केन्द्रले जसपाका उपेन्द्र यादवलाई समर्थन ग¥यो ।
त्यसपछि उनी माओवादी परित्याग गरी सिके राउत नेतृत्वको जनमत पार्टी प्रवेश गरेका थिए । उपनिर्वाचनमा जनमतबाट बारा–२ को उम्मेदवार बनेका कुशवाहा जसपा अध्यक्ष उपेन्द्र यादवसँग पराजित भए । कुशवाहालाई गत साउनमा नेतृत्वविरुद्ध गुटबन्दी गरेको भन्दै जनमतले साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको थियो ।
माओवादी परित्याग गरेका कुशवाहा एक वर्षको अन्तरालमा दुई पटक पार्टी बदल्दै एमाले आइपुगेका हुन् ।