अर्थतन्त्र लयमा छैन, पूर्वअर्थमन्त्री डा. लोहनीका १६ चित्रण

काठमाडौँ । पूर्वअर्थमन्त्री डा. प्रकाशचन्द्र लोहनीले आर्थिक मन्दी व्याप्त भएको बेला सरकारले अर्थतन्त्र लयमा आयो भनेर जनता झुक्क्याउने काम गरेको बताएका छन् । सामाजिक सञ्जालमा १६ बुँदे चित्रण सार्वजनिक गर्दै डा. लोहनीले अर्थतन्त्र लयमा आयो भनेर जनता झुक्क्याउने काम गरेको बताएका हुन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पूर्वअध्यक्ष तथा अर्थशास्त्री डा. लोहनीले भर्खरमात्र अर्थमन्त्री डा. प्रकाशशरण महतले मुलुकको अर्थतन्त्र लयमा आउँदैछ भनी दिएको अभिव्यक्तिको खण्डन गरेका छन् ।

यस्ता छन् लोहनीले उठाएका १६ बुँदा

१) राजस्व भने अनुसार उठेको छैन ।

२) साधारण खर्च बढ्दैछ तर पुँजी निर्माणमा लगानी निराशाजनक छ ।

३) तरलता बढेको भनिन्छ तर ब्याजदर घट्दैन ।

४) उद्योगहरूको उत्पादन बढेको छैन ।

५) आर्थिकमन्दी व्याप्त छ तर माग वृद्धि गर्ने कुनै कार्यक्रम छैन । सरकारी अधिकारीहरू एक अर्काको आलोचनामा व्यस्त छन् ।

६) दस जोड दुई पास गर्ने कुल विद्यार्थीमध्ये एक तिहाई देश बाहिर जाँदैछन् यस क्रममा एक खर्ब भन्दा बढी विदेशी मुद्रा देश बाहिर जाँदैछ ।

७) देश भित्र कलेजहरू विद्यार्थी नपाएर बन्द हुँदैछन् र पढाएर आफ्नो देशमा जागिर पाउने सम्भावना पनि घट्न थालेको छ।

८) युवा कामदार तथा विद्यार्थी जोड्दा आठदेखि दस लाख मानिस नेपालमा रोजगारी र शिक्षाको आसा मारेर बिदेसिँदै छन् ।

९) बढी युवा कामदार र विद्यार्थी देश बाहिर पठाएर हामी कस्तो अर्थतन्त्र निर्माण गर्दैछम् ?

१०) युवाको लागि हाम्रो देश मैत्रीपूर्ण छैन, सरकारी रोजगारी र शिक्षा नीतिले अघोषित रूपमा देश बाहिर जान नेपालीलाई बाध्य पारिँदैछ । रोजगार बढाउने क्षेत्र निर्माण व्यवसाय पनि हो । सरकारबाट पाउनु पर्ने रकम नपाएर यो क्षेत्र थलापरेको छ । स्वभावतः घर छोडेर बाहिर जान नेपाली बाध्य छन् ।

११) लघुवित्तको ठगीबाट गरिब नेपालीको एक खर्ब भन्दा बढी रकम डुब्ने अवस्थामा । यस्तो गति सहकारीको पनि छ । यो नोक्सान गरिब नेपाली जनता माथि थोपर्दा अर्थतन्त्र कस्तो लयमा आउँछ ?

१२) मौद्रिक र वित्तीय नीतिको कतै तालमेल छैन, खाली आरोप–प्रत्यारोप मात्र छ ।

१३) दक्षिण एसियाको देशहरूको प्रतिव्यक्ति आय २५०० देखि ३००० अमेरिकी डलर पुग्दैछ । हामी सालाखाला १४०० डलर प्रतिव्यक्ति आयमा थन्किरहेका छौ र यसैलाई ठूलो सफलता मान्दैछौं । नेपाल दक्षिण एसियाको सबभन्दा कमजोर र गरिब अर्थतन्त्र हुँदैछ तर आउँदो ५ वर्षमा प्रतिव्यक्ति आम्दानीमा नाटकीय परिवर्तन ल्याउने सपना दिएर जनता माथि किन भद्दा मजाक ?

१४) एसिया दक्षिणको सबभन्दा कमजोर अर्थतन्त्रमा नेपाल रूपान्तरित हुँदैछ । खोक्रो रुख जस्तो बाहिर चिल्लो तर भित्र खोक्रो र सानो हुरीबतासले ढाल्न सक्ने अवस्थामा पुग्दैछौं । यो संकटसँग मुकाबिला गर्ने चेतना कहीँ छैन अनि कस्तो लयको हामी कुरा गर्दैछौं ।

१५) भ्रष्टाचारी देशको उपाधिमा हामीले नयाँ कीर्तिमान कायम गरेका छम तर भ्रष्टाचार नियन्त्रण गर्ने नैतिक हिम्मत र नियत कहीँ ,कतै छैन । हामी भिखारी राष्ट्रको दर्जामा पुग्दैछौं ।

१६) अब एकले अर्कालाई निषेध र आलोचना मात्र नगरौँ, प्रजातन्त्र बचाउ, देश जोगाउ,र कम्तीमा आउँदो दस वर्षसम्म ६ प्रतिशतको दरले गुणस्तरीय आर्थिक उन्नति कायम गरौं । यसको लागि सबै राष्ट्रिय शक्तिहरुबीच नयाँ मेलमिलापको वातावरण कायम गरौं । कठमुल्ला वाद र जडसुत्रवादलाई अस्वीकार गरौं । अन्यथा इतिहासले माफ गर्ने छैन।।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *