इजरायलमा फसेका नेपालीहरूको उद्धार गर्न सांसदहरूको माग

काठमाडौँ । प्रतिनिधि सभा बैठकमा बोल्दै प्रतिनिधि सभा सदस्यहरूले इजरायलको द्वन्द्वमा फसेका नेपालीहरूको यथाशीघ्र उद्धार गर्न सरकारसँग माग गरेका छन् ।

सोमवारको प्रतिनिधि सभा बैठकमा शून्य समयमा बोल्दै प्रतिनिधि सभा सदस्यहरूले इजरायलको द्वन्द्वमा फसेका नेपालीहरूको यथाशीघ्र उद्धार गरी नेपाल ल्याउन सरकारसँग माग गरेका हुन् ।

उनीहरूले द्वन्द्वमा परी घाइते भएकाहरूको स्वास्थ्योपचार गर्न पनि माग गरेका छन् । प्रतिनिधि सभा सदस्यहरूले छिटोभन्दा छिटो कूटनीतिक पहल गरेर सङ्कटमा फसेका नेपालीहरूको उद्धार गर्न सरकारको गम्भीर रूपले ध्यानाकर्षण गराएका छन् ।

बैठकमा बोल्दै प्रतिनिधि सभा सदस्य अर्जुननरसिंह केसीले घाइतेहरूको उपचार गर्न र नेपालीहरूलाई उद्धार गर्न सरकारले युद्धस्तरमा काम गर्नुपर्ने बताए । उनले कति नेपाली प्रभावित भए भन्ने पछिल्लो विवरण संसदमा प्रस्तुत गर्न पनि सरकारसँग माग गरेका छन् ।

उनले भने ‘इजरायलमा रहेका नेपालीहरूको यकिन गरी घाइते भएकाहरूलाई स्वास्थ्योपचारको व्यवस्था र नेपाल फर्काउनको निम्ति सरकारले तत्कालै युद्धस्तरमा काम गरोस् । पछिल्लो घटनाक्रम कुन खालले विकसित भइरहेको छ, झण्डै १ लाख २३ हजार विस्थापित छन् । त्यसमध्ये नेपालीहरू कति परेका छन् त्यसको पछिल्लो विवरण संसदमा सरकारले प्रस्तुत गरोस् ।’

प्रतिनिधि सभा सदस्य असीम साहले नेपालको सत्तामा रहेकाहरूलाई पनि हमासको संज्ञा दिँदै नेपालीहरू इजरायलमा आक्रमणमा पर्नुमा नेपालका हमासहरुपनि जिम्मेवार रहेका बताए ।

देशको साधन, स्रोतमा नेपाली हमासहरुको हालिमुहाली रहेको उल्लेख गर्दै सो अत्याचार सहन नसकेर नेपाली युवाहरू बिदेसिनु परेको बताए । सरकारले इजरायली राष्ट्राध्यक्षसँग संवाद गरेर समस्या समाधान गर्नुपर्ने बताए ।

उनले भने ‘यो देशका छोराहरूमाथि आक्रमण त्यहाँको हमासले मात्रै गरेको होइन । यहाँको सत्तामा रहेका हमासहरु पनि त्यत्तिकै जिम्मेवार छन् । देशमा सीमित मान्छेको रजगज छ । देशको साधन, स्रोतमा यिनै हमासको हालिमुहालि छ । देशभित्रका हमासका अत्याचार सहन नसकेर युवा विदेश जान्छन्, उता अर्को हमासले ज्यान लिन्छ । कहिले अफगानिस्तानको भूमिमा, कहिले इजरायलको भूमिमा, कहिले तालिवानको बमको निर्दोष नेपालीको श्वास खोसेको छ । मृत्यु हत्केलामा बोकेर कहिलेसम्म हिँड्ने नेपाली ? यसको जवाफ र जिम्मेवारी यो देशमा ३३ वर्ष सत्तामा रहेका हमासले दिनुपर्छ र लिनुपर्छ । केही नेपाली सम्पर्क विहीन छन् । यो देशको सरकार यहाँ इजरायली राजदूतसँग याचना गरिरहेको छ । नेपाल सरकारले सिधै इजरायली राष्ट्राध्यक्षसँग किन संवाद गर्दैन ? मृतकको लास र बेपत्ताको डाटा राख्ने काम मात्र नगरियोस् ।’

प्रतिनिधि सभा सदस्य ईश्वरबहादुर रिजालले इजरायलमा फसेका नेपालीहरूको उद्धार गरी उनीहरूलाई आफ्नो देश र राज्य छ भन्ने अनुभूति गराउनुपर्ने बताए । उनले उनीहरूको प्राण बचाउन सरकारलाई आग्रह गरे ।

उनले भने ‘नेपालमा राज्य छ भन्ने जनतालाई त्यति महसुस छैन । मृत्युको मुखमा पुगेका नेपालीहरू मेरो राज्य छ, मेरो देश छ भन्ने अनुभूति गराउनुपर्यो सरकारले । त्यसकारण जति सक्दो छिटो तुरुन्त ती नेपालीहरूलाई उद्धार गर्नुपर्यो । उनीहरूको प्राण बचाउनुपर्यो । मेरो देश छ । मेरो राज्य छ । मेरो सरकार छ भन्ने अनुभूति गराउनुपर्यो ।’

प्रतिनिधि सभा सदस्य गोकुल बाँस्कोटाले सरकारको इजरायलसँगको कूटनीतिक कमजोरी रहेको कुरा छताछुल्ल रूपमा पोखिएको बताए । उनले त्यहाँ रहेका नेपालीहरूलाई सुरक्षित रूपमा तत्काल देश फर्काउन माग गरे ।

उनले भने ‘इजरायलसित नेपालको दक्षिण एसियामै सबैभन्दा पुरानो सम्बन्ध हो, सरकारको कूटनीतिक कमजोरी छताछुल्ल ढङ्गले पोखिएको छ । प्रधानमन्त्री एकदम लोकप्रिय काम गर्दै हुनुहुन्छ, भिडियो कल । समवेदना । तर त्यहाँका नेपालीहरूको चाहाना के छ भने, जो सङ्कटमा फसिरहेका छन् तत्काल यो देश फर्काइयोस् । उनीहरूलाई नेपाल फर्काइयोस् सुरक्षित रूपमा । र उपचार गर्नुपर्नेलाई उपचार गरियोस् ।’

प्रतिनिधि सभा सदस्य जनार्दन शर्माले इजरायलमा फसेका नेपाली नागरिकहरूलाई नेपाल फर्काउन सरकारले विशेष पहल गर्नुपर्ने बताए । उनले कूटनीतिक पहल यथाशीघ्र गर्न सरकारलाई आग्रह गरे ।

उनले भने ‘बेपत्ताको खोजी र घाइतेहरूको शीघ्र उपचारको लागि सरकारसँग माग गर्दछु । स्वास्थ्य लाभको कामना गर्दछु । नेपाल आउन चाहेका नेपालीहरू जो सङ्कटमा रहेका छन्, ती सबै नेपाली नागरिकहरूलाई नेपाल ल्याउनका लागि सरकारले विशेष पहल गरोस् भनेर सरकारसँग माग गर्न चाहन्छु । कूटनीतिक पहलमार्फत यथाशीघ्र कार्य अगाडी बढाओस् ।’

प्रतिनिधि सभा सदस्य शर्माले इजरायलको युद्धक्षेत्रमा शान्ति स्थापनाको लागि आफ्नो भूमिका नेपालले खेलोस् भन्ने अपेक्षापनि व्यक्त गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *