तिमिल्सिनाले लिए उम्मेदवारी फिर्ता, भीम रावलविरुद्ध एकजुट
कठमाडौं । एमाले सुदूरपश्चिम प्रदेश अध्यक्षमा उम्मेदवारी दिएका कमल तिमिल्सिनाले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् ।
सहमतिमै प्रदेश कमिटीको नेतृत्व चयन गर्न आफूले मार्ग प्रशस्त गरेको तिमिल्सिनाले बताए ।
उनले भने– ‘सहमतिबाट हामी अधिवेशन सम्पन्न गर्दैछौ । पार्टीको बृहत् हितका लागि उम्मेदवारी फिर्ता गरेर त्याग गरेँ ।’
तिमिल्सिनाले कृष्णप्रसाद जैसीका नाममा सहमति जुटाउने प्रयासस्वरुप अध्यक्षका अन्य उम्मेदवारहरूसँग पनि छलफल चलिरहेको जानकारी दिए ।
तिमिल्सिना अध्यक्षबाट उम्मेदवारी फिर्ता लिए पनि भरत साउद र बच्चन सिंहले भने उम्मेदवारी फिर्ता लिइसकेका छैनन् ।
अध्यक्ष मण्डलले सहमतिमा नेतृत्व चयन गर्ने भन्दै प्रदेश कमिटीको नयाँ नेतृत्वका लागि पदाधिकारीमा अध्यक्षमा कृष्णप्रसाद जैसी, उपाध्यक्षमा कालीबहादुर शाह, सचिवमा रणबहादुर चन्द तथा उपसचिवमा नेपाल चौधरी र कलसा महरालाई सहमतिका लागि प्रारम्भिक खाका प्रस्ताव गरेको छ ।