नेपाल टेलिकमले असोज २५ गतेदेखि अटम अफर ल्याउँदै
काठमाडौँ । नेपाल टेलिकमले बिहीबारदेखि अटम अफर उपलब्ध गराउने भएको छ ।
यस अफर अन्तर्गत कम्पनीले विभिन्न भ्वाइस तथा डाटा अफरलाई अझ आकर्षक बनाएको छ ।
अनलिमिटेड अन–नेट भ्वाइस प्याकेज अन्तर्गत रु. १३ मा बिहान ५ बजेदेखि बेलुकी ५ बजेसम्म नेपाल टेलिकमको नेटवर्कमा असीमित कुराकानी गर्न सकिने प्याकेज उपलब्ध गराइने नेपाल टेलिकमले जनाएको छ ।
त्यसैगरी सोही अनलिमिटेड अन–नेट भ्वाइस प्याकेज अन्तर्गत रु. १३ मै बेलुकी १० बजेदेखि बिहान ६ बजेसम्म नेपाल टेलिकमको नेटवर्कमा असीमित कुराकानी गर्न सकिने गरी (अनलिमिटेड नाइट टाइम भ्वाइस) प्याकेज पनि उपलब्ध हुनेछ ।
अल नेट भ्वाइस प्याक अन्तर्गत रु. १८ मा १ दिनभित्र सबै नेटवर्कमा २५ मिनेट कल गर्न सकिने सुविधा पनि थप गरिएको छ । त्यस्तै अल टाइम डाटा प्याक अन्तर्गत रु.९५ मा ७ दिनसम्म जुनसुकै समयमा चलाउन सकिने २.५ जीबी डाटा उपलब्ध हुनेछ ।
आकर्षक सुविधा सहितको फोरजी अल टाइम डाटा अफर, युट्युब र फेसबुक चलाउन सकिने सोसल मिडिया प्याक र स्टे कनेक्टेड अल टाइम अफर समेत उपलब्ध हुने जानकारी दिएको छ ।
प्रिपेडमा पनि सजिलो अनलिमिटेड ६३६ प्याकेजः कम्पनीले पोस्टपेड मोबाइलमा उपलब्ध गराइरहेको सजिलो अनलिमिटेड ६३६ प्याकेज प्रिपेड मोबाइलमा पनि उपलब्ध गराउने भएको छ ।
यस अनुसार रु. ६३६ मा नेपाल टेलिकमको नेटवर्कमा अनलिमिटेड भ्वाइस, १५० मिनेट अन्य नेटवर्कमा (अफ–नेट) भ्वाइस, २०० वटा सबै नेटवर्कमा एसएमएस र ९ जीबी डाटासहितको प्याकेज उपलब्ध हुनेछ ।
नेपाल टेलिकमका अनुसार सो प्याकेज २८ दिनसम्म चलाउन सकिनेछ ।
नेपाल टेलिकम एप डाउनलोड गर्दा १ जीबी बोनस डाटाः कम्पनीका सेवाग्राहीले ‘नेपाल टेलिकम’ एप डाउनलोड गरेर चलाउँदा १ जीबी डाटा बोनसको रूपमा उपलब्ध हुने पनि बताएको छ । सो डाटा ३ दिनसम्म प्रयोग गर्न सकिने बताएको छ ।