इजरायलबाट २५४ जना नेपाली काठमाडौँ ओर्लिए
काठमाडौँ । इजरायलमा अध्ययन गरिरहेका २५४ जना नेपाली विद्यार्थीलाई सरकारले उद्धार गरेर काठमाडौँ ल्याएको छ । मन्त्रिपरिषद्को निर्णयअनुसार परराष्ट्र मन्त्री नारायणप्रसाद साउद आफैँ चार्टर विमान लिएर राजधानी तेल अबिब पुगेका थिए ।
शुक्रबार बिहानीपख काठमाडौँ आइपुग्दा उद्धार गरिएका सबै निकै खुसी थिए । धेरैले आफ्नो खुसीको आँसु लुकाउन सकेनन् ।
काठमाडौँ पुगेकी श्वेता भट्टले बाचेर आउन पाएकामा धेरै खुसी लागेको बताइन् । ‘हामीलाई उद्धार गर्ने प्रक्रिया धेरै लामो होला भन्ने लागेको थियो तर यति छिटै उद्धार गर्दिनु भयो त्यसको लागी नेपाल सरकारलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु,’ उनले भनिन्, ‘अब आफ्नो ठाउँ क्षेत्रमा राम्रो काम गर्नेछु ।’
इजरायलबाट फर्किएका विद्यार्थीलाई नेपाल प्रहरीका तीन बसमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उपत्यकाको तिन जिल्लाको विभिन्न स्थानसम्म लैजाने छन् ।