सञ्जयलाई ‘गोलघर’मा राखियो

गैरीगाउँ सामूहिक हत्या प्रकरणमा अभियुक्त सञ्जय भण्डारीलाई गोलघरमा राखिएको छ । अन्यकैदीबन्दीको सुरक्षाका लागि भन्दै भण्डारीलाई जेलभित्रको जेल अर्थात् गोलघरमा राखिएको हो ।

शुक्रबार काठमाडौँ जिल्ला अदालतले भण्डारीलाई पुर्पक्षका लागि थुनामा राख्न भन्दै केन्द्रीय कारागार सुन्धारामा पठाएको थियो । केन्द्रीय कारागार सुन्धाराले भण्डारीलाई जेलभित्रको पनि जेल अर्थात् गोलघरमा राख्न पठाएको हो ।

कारागार कार्यालय जगन्नाथदेवलका प्रमुख ललित बस्नेतका अनुसार सुरक्षा संवेदनशीलताका कारण गोलघरमा राखिएको हो । अन्य कैदीबन्दीको सुरक्षालाई मध्यनजर गर्दै भण्डारीलाई गोलघरमा पठाइएको हो ।

गोलघरमा निकृष्ट प्रकृतिको अपराध गर्ने व्यक्ति र भाग्न सक्ने वा भाग्न खोज्ने व्यक्तिहरुलाई राखिन्छ । यसअघि गोलघरमा सिरियल किलर चाल्र्स शोभराज, गुण्डानाइके रमेश बाहुन, रिगल भन्ने योगराज ढकालहरुलाई समेत राखिएको थियो ।

गत भदौ २९ गते साँझ करिब ८ बजेको समयमा तीनकुनेको गैरीगाउँमा रहेको दिव्या सःमिल भित्र ४ जनाको सामूहिक हत्या भएको थियो । घटनामा दोलखा घर भई सोही काठ मिलमा गेटपालेको काम गर्ने ५६ वर्षीय कुमार भुजेल, उनकी श्रीमती अन्दाजी ५२ वर्षकी अम्बिका भुजेल, कुमारकी आमा ७६ वर्षीय सुभद्रा भुजेल र सोही स्थानमा काम गर्ने मोरङ बेलबारी स्थायी ठेगाना भएका २० वर्षीय नवीन राईको हत्या भएको थियो ।
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *