भीम रावललाई प्रश्न- कहिले छोड्नुहुन्छ एमाले ?
धनगढी । एमाले नेता भीम रावलले छेउबाट तल घचेट्दा खुट्टा टेक्ने अवस्था नआएसम्म पार्टी नछाड्ने बताएका छन् । धनगढी विमानस्थलमा शुक्रबार पत्रकारसँग कुराकानी गर्दै रावलले भने, ‘म त्यति बेलासम्म रहन्छु जतिबेला छेउबाट तल धकेल्दाखेरी मैले खुट्टा टेक्नुपर्ने अवस्था आउँदैन ।’
त्यो अवस्था अझै सिर्जना भएको छैन? भन्ने प्रश्नमा रावलले ‘अध्ययन गर्दैछु’ भन्ने जवाफ दिए । चितवनमा भएको दसौँ अधिवेशनमा केन्द्रीय अध्यक्षमा पराजित भएका एमाले नेता डा भीम रावल त्यसयता पार्टीभित्र कुनै पदमा छैनन् । गत निर्वाचनमा एमाले अध्यक्ष केपी शर्मा ओलीले टिकट नदिएपछि रावल एमालेको राजनीतिमा सक्रिय छैनन् । उनी पार्टीको कुनै जिम्मेवारीमा पनि छैनन् ।
एमालेको सुदूरपश्चिम प्रदेश अधिवेशनमा समेत रावललाई बोलाइएको थिएन । अधिवेशनका लागि रावलले निमन्त्रणा नगरिएको विषयमा निकै चर्चा भएको थियो । पार्टी नेतृत्वले रावललाई सुदूरपश्चिममै पाखा लगाउन खोजेको कतिपय कार्यकर्ताले बताएका थिए । केही समयअघि भने एमालेले रावलसित संवाद गर्न टोली बनाएको थियो । त्यो टोलीसँग एक पटक रावलले कुराकानी समेत गरेका थिए ।
एकपटक पार्टी अध्यक्षसित पनि भेट भएकोबाहेक थप के भयो भन्नेबारे पार्टीबाट जिम्मेवारी पाएका व्यक्तिलाई थाहा हुने उनले बताए ।