राजनीतिक दलका लागि सरकार भन्दा जनता महत्वपूर्ण हुनुपर्छ : ओली

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक दलका लागि सरकार भन्दा जनता महत्वपूर्ण हुनुपर्ने बताएका छन् ।

शनिवार काठमाडौंमा आयोजित एशियाली राजनीतिक दलहरूको अन्तर्राष्ट्रिय सम्मेलन –आइक्याप) ले आयोजना गरेको स्थायी समितिको चौधौं बैठक र एशिया—युरोप राजनीतिक मञ्चको पाँचौं बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले राजनीतिक दलहरूले कार्यकारी शक्तिको अभ्यास मात्र नभइ दीर्घकालिक राष्ट्रिय हितको रक्षा, प्रभावकारी र गतिशिल राष्ट्र निर्माण गर्ने दिशामा आफूलाई केन्द्रित गर्नुपर्ने बताए ।

अध्यक्ष ओलीले कुनैपनि सरकारबाट गरिने अन्याय एवं पक्षपातले नागरिकको आँखामा सम्बन्धित राजनीतिक प्रणालीको वैधानिकतालाई मात्र नखुम्च्याउने भन्दै यसले आन्तरिक एवं अन्तर्राष्ट्रिय स्तरमा समेत अस्थिरता, द्वन्द्व र अराजकता निम्त्याउने बताए ।

उनले सबैका लागि न्याय, सम्मान र समानता कायम गरी सहअस्तित्व, सहिष्णुता, सद्भाव तथा सहयोगको भावना प्रवद्र्धन गर्न राजनीतिक दलहरूको भुमिका असाधारण हुने विश्वास व्यक्त गरे ।

अध्यक्ष ओलीले धार्मिक विश्वास, संस्कृति, परम्परा, विचार र सामाजिक मूल्यहरू सबैका लागि उत्तिकै प्रिय रहेको र यसले मानवतालाई एकताको सूत्रमा बाँध्ने बताए ।

उनले भने– ‘कुनैपनि राज्यलाई सुल्झिएको राजनीति, त्यस्तै राजनीतिक दल र राज्यव्यवस्थाको योगले मात्र सक्षम बनाउँछ । यस योगबाट प्रभावकारी संवैधानिक तथा कानूनी प्रवन्धको निर्माण हुन्छ । बलिया सार्वजनिक संस्था बन्न सक्दछन् कानूनको शासन लागू हुन्छ । सेवा प्रवाह गर्ने राज्यको क्षमता बढोत्तरी हुन्छ । आधारभुत मानव अधिकार, नागरिक स्वतन्त्रता, न्याय, समानता र समान संरक्षणको प्रत्याभुति गर्नसक्ने राज्यले नागरिकको विश्वास आर्जन गर्दछ । यसैका आधारमा राजनीतिक स्थायित्व हासिल गर्दै आर्थिक विकासको बाटो पहिल्याउने तथा आन्तरिक स्थिरता र वाह्य सुरक्षा कायम राख्नसक्ने मुलुक नै समृद्धशाली राज्य हो । राजनीतिक दलहरू तानाशाही व्यवस्था र शासकहरूबाट मुक्ति हासिल गरी आफ्नै शासन कायम गर्न जनताले खोलेका संस्था हुन् । त्यसकारण राजनीतिक दलका निम्ति सरकार भन्दा जनता ज्यादा महत्वपूर्ण हुनुपर्दछ । हामीले आज विशेष जोड दिनुपरेको छ । राजनीतिक दलहरूले केवल कार्यकारी शक्तिको अभ्यास गर्न होइन, दीर्घकालिक राष्ट्रिय हितको रक्षा गर्न सक्षम, प्रभावकारी र गतिशील राष्ट्र निर्माण गर्ने दिशामा आफूलाई सम्पूर्ण रूपले केन्द्रित गर्नुपर्दछ । यस सन्दर्भमा राजनीतिक दललाई आफैँलाई निरन्तर केही गम्भीर प्रश्नहरू सोधिरहनुपर्दछ । के राज्यले निर्धारित गरेका अवसर, अधिकार र स्रोतमा सबैको समान पहुँच स्थापित छ । मानव प्रगतिका प्रतिफलहरू समतापूर्वक वितरित छन् ? राजनीतिक प्रक्रियामा सबै नागरिकको सहभागिता सुनिश्चित छ । के कोही वञ्चितिकरण, विभेद, असमानता र अन्यायको शिकार भइरहेका छन् । जीवनयापन गर्ने स्वतन्त्रता र उद्यमको वातावरण निष्पक्ष, पारदर्शी, र नियममा आधारित छ कि छैन ? कुनैपनि सरकारबाट गरिने अन्याय एवं पक्षपातले नागरिकको आँखामा सम्बन्धित राजनीतिक प्रणालीको वैधानिकतालाई मात्र खुम्च्याउँदैन, आन्तरिक एवं अन्तर्राष्ट्रिय स्तरमा समेत त्यसले अस्थिरता, द्वन्द्व र अराजकता निम्त्याउँछ । सबैका लागि न्याय, सम्मान र समानता कायम गरी सहअस्तित्व, सहिष्णुता, सद्भाव तथा सहयोगको भावना प्रवद्र्धन गर्न राजनीतिक दलहरूको भुमिका असाधारण हुन्छ । धार्मिक विश्वास, संस्कृति, परम्परा, विचार र सामाजिक मूल्यहरू हामी सबैका लागि उत्तिकै प्रिय छन्, जसले मानवतालाई एकताको सूत्रमा बाँध्न सक्दछ । सक्षम शासनको अधार तयार गर्न राजनीतिक दलहरूले नागरिकका यस्ता आकांक्षालाई आफ्नो विचारको काल्पनिकीमा जोड्नुपर्दछ ।’

अध्यक्ष ओलीले विश्वका समस्या समाधान गर्न नेतृत्वदायी भुमिका खेल्नका लागि सबैलाई आह्वान गरे ।

सम्मेलनमा दिगो पर्यटन प्रवद्र्धन र महामारीपछि आर्थिक स्थायित्वको सुरक्षामाथि गहन छलफल हुनुपर्नेमा जोड दिए ।

कार्यक्रममा एशियाली राजनीतिक दलका नेताहरु सहभागिता रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *