मकालु अन्तर्वार्ता

खगेन्द्र लामिछानेसँग झर्रो भाषा, राजनैतिक चेत, परिवर्तित महिला र पुरुष पात्र, मृत्यु चेत अनि भष्मेबारे कुराकानी (भिडियोसहित)

‘दाइ मलाई तपाईँसँग कुरा गर्नु छ । भेटौँ न ।’ मैले एक दिन उनलाई फोनमा भनेँ । 

नयाँ अन्तर्वार्ता सिरिजको लागि मकालुखबरमा स्टुडियोको तयारी भइसकेको थियो । साउन्डको काम सकिइसकेको थियो । बाँकी काम थियो पहिलो गेस्ट खोज्ने । कसबाट सुरु गर्ने सोच्दै गर्दा सबैभन्दा पहिला आएको नाम थियो खगेन्द्र लामिछाने । 

‘तिमी बेलुका नक्सालको बोधि बुक्स एन्ड क्याफेमा आऊ । उतै भेटौँ ।’ खगेन्द्र दाइले सदाझैँ मिठो बोलीमा जवाफ दिए । 

हाम्रो चिनजान पुरानै थियो । 

उनले लेखेका र अभिनय गरेका ‘पशुपतिप्रसाद’, ‘धनपति’ लगायत सबै फिल्महरू हेरिसकेपछिको । तर केही समय पहिला आएको ‘पानीफोटो’ फिल्मको रिभ्यु लेख्नुभन्दा अघिको । 

उनीद्वारा निर्देशित नाटक ‘दाँतको डोब’ मण्डला थिएटरमा हेरेपछिको । तर त्यहाँकै लाइब्रेरीबाट ‘खगेन्द्र लामिछानेका नाटक’ नामको किताब लगेर पढ्नुअघिको ।

उनले लेखेको बिबिसीले बनाएको ‘कथा मिठो सारङ्गीको’ रेडियो कार्यक्रम, उनले नेपाल लिटरेचर फेस्टिभलमा बोलेका सेसन, उनले विजयकुमारलाई दिएका अन्तर्वार्ता लगायत सामाग्री हेरेपछिको । 

केही वर्ष पहिला किनेको ‘फुलानी’ कथासङ्ग्रह, गएको वर्ष आएको ‘फुर्के’ उपन्यास अनि केही पहिला आएको ‘पानीफोटो’ फिल्म किताब पढ्नुअघिको । 

केही वर्ष पहिला मण्डला थिएटरमा उनले सहजीकरण गरिदिने भनेर नाटक लेखन कार्यशाला भएको थियो । त्यहाँ म पनि सहभागी भएको थिएँ । 

एउटा मान्छेलाई नजिक बनाउने धेरै चिजहरू हुन्छन् । तीनले फरक फरक समयमा दुई मान्छेलाई जोडेका हुन्छन् । चिनजान गराएका हुन्छन् । मैले नयाँ भिडियो पोडकास्ट गर्दा पहिलो गेस्ट उनको नाम सोच्नुको पहिलो कारण पनि त्यही नै थियो । मलाई उनका क्राफ्टहरूको बारेमा केही थाहा थियो केही सोध्नु थियो । उनले अक्सर आफ्ना लेखनमा ल्याउने काम किन ल्याउँछन् भन्ने बारेमा केही थाहा थियो केही बुझ्नु थियो । 

सायद कुनै प्रश्नहरू यसरी नै बन्छन् । 

मलाई विशेषताहरूबारेमा उनीसँग गफ गर्नु थियो । तीनको बारेमा उनी के सोच्छन् वा तीनलाई उनले कसरी हेरेका छन् थाहा पाउनु थियो । 

समग्रमा मेरो नयाँ यात्रा सुरु हुने बेला यात्रामा मलाई नजिकैबाट चिनेका एक जना मान्छेसँग गफ गर्न मन थियो । उनी त्यही मान्छे थिए । 

उनी मैले लेखेको पहिलो नाटक ‘पल्पसा क्याफे’ हेर्न आउन त पाएनन् । तर त्यही नाटकको किताब छापिएको बेलामा भेटिएका थिए । हातमा किताब बोकेर म सँग हस्ताक्षर मागेका थिए । 

नयाँ यात्रा थाल्नेबेलामा आफ्नो यात्रालाई चिन्ने मान्छेसँग कुरा गर्न सहज हुन्छ ठानेर पनि मैले उनलाई पहिलो शृङ्खलामा बोलाउने सोचेको थिएँ । 

त्यसैले उनलाई फोन गरेको थिएँ । 

तर भेट्न सजिलै माने पनि उनले पोडकास्टको कुरा सुनेपछि आउन मान्छन् कि मान्दैनन् भन्ने थाहा थिएन । यति बेला नयाँ फिल्म प्रचारको व्यस्ततामा फिल्म भन्दा बाहेकका विषयमा बोल्न मान्छन् कि मान्दैनन् थाहा थिएन ।

म नक्सालस्थित बोधी बुक्स एन्ड क्याफे पुगेँ । उनलाई पर्खिएँ । 

उनको नयाँ फिल्म ‘पशुपतिप्रसाद २ भष्मे डन’ आउँदै थियो । त्यसको अन्तिम तयारीमा छौँ भनेर उनले सुनाएका थिए । 

केहीबेरमा उनी आइपुगे । म बसिरहेको ठाउँबाट ‘उता जाऊँ’ भनेर मलाई उठाए । त्यो उनी नियमित बस्ने ठाउँ हो भन्ने थाहा हुन्थ्यो । 

‘मलाई त धेरैले यो क्याफे मेरै हो भन्छन्’ उनले त्यसलाई पुष्टि पनि गरिभ्याए । 

हामी बोल्न थाल्यौँ । 

मैले उनलाई नयाँ सो गर्न लागेको कुरा सुनाएँ । 

उनले उत्सुक हुँदै नाम सोधे । 

‘बिट्विन द लाइन्स ।’ मैले भनेँ । अनि त्यही मौकामा थपेँ,

‘म तपाईँलाई त्यसको पहिलो गेस्ट बनाउन चाहन्छु ।’ 

‘यो त गज्जब हो । हामीलाई सिनेमा बुझ्ने मान्छे चाहिएको छ । म आउँछु ।’ उनले मेरो सारा कुरा हलुका बनाइदिए ।

हामी त्यसपछि निक्कै बेर गफियौँ । एकछिनमा समालोचक तथा लेखक यज्ञश आइपुगे । उनीसँग पनि मेरो सो हुन लागेको कुरा उनले नै सुनाइदिए । 

यज्ञश पनि म जति नै खुसी भइदिए । उनले भर्खरै आफ्नो कोलिग्राम च्यानलबाट एक्टर्सएक्ट्रेससँगको राउण्डटेबल प्रकाशन गरेका थिए । संभबत उनी मैले गर्न चाहेको कामलाई अझै नजिकबाट बुझ्थे । 

यसरी निक्कै बेर धेरै विषयमा गफ गरेपछि हामी सुटिङको दिन भेट्ने भनेर छुट्यौँ । 

सुटिङ भयो । 

फुटेज हेर्दा थाहा भयो एउटा क्यामेराको फुटेज पुरै बिग्रिएछ भएछ । पहिलो गाँसमै ढुंगा लाग्यो । मैले फोन गरेर सुनाएँ । उनी दुःखी भए । तर ‘प्राविधिक काममा यस्तो हुन्छ’ भन्दै फेरी आउन तयार भइदिए । 

हामीले फेरी खिच्यौँ । 

यसरी यो अन्तर्वार्ता तयार भयो । 

यसमा उनले आफ्नो फिल्म नहेरेका मान्छेले पनि अन्तर्वार्ता हेरेको कुरा सुनाएको प्रसङ्ग भनेका छन् । रहरले गर्दै गरेको काम बढ्दै गएर यहाँसम्म आएको स्वीकारेका छन् । आफ्नो लेखन वा विशेषतः संवाद लेखनमा झर्रो भाषा कसरी आयो भनेर बोलेका छन् । स्थानीय भाषाको समृद्धिले समग्र देशको बोली कसरी बलियो बन्छ भन्ने कुरा सुनाएका छन् । 

आफ्नो र बुबासँगको भावनात्मक सम्बन्धले आफ्ना पुरुष चरित्रहरूमा भावना भरिएको बताएका छन् । एउटा घटनाको कारण कुनै दलको भातृ सङ्गठन छोडेको प्रसङ्ग उप्काउँदै र जनयुद्ध अनि यसले ल्याएका सामाजिक परिवर्तनहरूलाई समाउँदै राजनैतिक चेतको बारेमा बोलेका छन् । 

महिला पात्र किन पहिला भन्दा बलियो हुँदै छन् भन्ने प्रसङ्गमा आफ्नो बहिनी र छोरीसँगको सम्बन्ध केलाएका छन् । 

उनीसँगको अन्तर्वार्ता यो लिङ्कमा छ । त्यसका च्याप्टरहरूमा गएर मैले सोधेका हरेक प्रश्नहरू अलग अलग तरिकाले हेर्न पनि मिल्छ । उनलाई सुन्ने र परख्ने जिम्मा अब तपाईँको ।

 

युट्युबमा गएर हेर्नुभयो भने तलको टाइम स्ट्याम्पमा गएर हरेक प्रश्न सिधै हेर्न मिल्छ है त ।

0:00-1:01 – अन्तर्वार्ताको सुरुवात

1:01 – तपाईँलाई खगेन्द्र लामिछानेले के गर्छ वा के चलाउँछ जस्तो लाग्छ ?

3:36 – विजयकुमारसँगको अन्तर्वार्ता 

3:44 – सुकुल गफ अन्तर्वार्ता

4:44 – तपाईँलाई के मनपर्दो रैछ ?

6:11 – पहिलो विशेषता भाषा – झर्रो भाषाको संवाद कसरी आयो ?

11:01 – संरचनागत हिसाबले हेर्दा कसैले आफ्नो भाषालाई प्रेम गर्न सजिलो छ कि छैन ?

14:50 – आफ्नो संवाद लेखनमा गुदी छ भन्ने कुरा तपाईँलाई कसरी थाहा भयो ?

15:47 – दोस्रो विशेषता राजनैतिक चेत – तपाईँको लेखन वा पात्रमा राजनैतिक चेत कसरी आयो ?

21:36 – भातृसंगठन छोड्ने बाहेक अर्को महत्त्वपूर्ण पल तपाईँको जीवनमा कहिले आयो ? के ले लेख्ने बनायो ?

27:06 – तेस्रो विशेषता भावना – तपाईँको चरित्रहरूमा बलियो भावना छ । त्यो संवेग कसरी आयो ?

32:06 – चौथो विशेषता रेडियो – तपाईँको हरेक फिल्म र नाटकमा रेडियो बज्छ किन ?

34:13 – त्यो बाहेक लेखनमा अरू के के साधनहरू प्रयोग गर्नु हुन्छ ? तपाईँ कसरी लेख्नुहुन्छ ?

38:08 – पाँचौँ विशेषता महिला पात्रहरू – महिला चरित्र कसरी लेख्नुहुन्छ ? तपाईँका महिला पात्रहरू पहिलाभन्दा अहिले बलियो हुँदै गएका हुन् ?

45:51 – छोरी जन्मिँदाको शुखद् (दु:खद्) प्रसङ्ग – छोरी जन्मिएपछिको परिवर्तन [एउटा गिल्ट]

52:09 – छोरी जन्मिएको बेलाको जस्तो खाले प्राइभेट मोमेन्ट नजिकैबाट देखेको लेखकले के कुरा थप राम्रो लेख्दो रैछ ?

53:17 – छैटौँ विशेषता कमजोरी भएका भावनात्मक पुरुष चरित्र – हाम्रो समाजमा यस्तो चरित्रहरू किन चाहिन्छ ? [दाँतको डोबको प्रसङ्ग, इगो]

1:01:06 – पशुपतिप्रसाद र भष्मे बिचको विशिष्ट सम्बन्ध (भष्मे डनको ट्रेलर रिलिजको प्रसङ्ग) [आफ्नो व्यक्तिगत सबन्धको बारेमा कसरी लेख्ने]

1:03:01 – मृत्युको बारेमा कुरा गरौँ ? चरित्रको मृत्यु लेख्ने तपाईँको रिफरेन्स के हो ? [बिरामी हुँदाको प्रसङ्ग, मृत्यु चेत]

1:09:40 – ट्राजेडीलाई मान्छेले किन मन पराउँछ ?

1:12:27 – धनपतिमा छोरीको मृत्युमा रोएको सन्दर्भ छ । त्यस्तो खाले चरित्र निभाउनुपर्दा तपाईँको रिफरेन्स के हो ?

1:15:26 – भष्मे र ग्रे सेडको चरित्र । हाम्रो समाज र सिनेमालाई लाई यस्ता चरित्र किन चाहिन्छ ?

1:18:06 – पहिलाको भष्मे लेख्दाको लेखक र अहिलेको फिल्म लेख्दाको फरक (आर्थिक रूपमा असफल फिल्मपछि सफल चलचित्रको खोजी हो यो ?)

1:22: 35 – भष्मे डनको ब्याक स्टोरी कि उसको कथाको निरन्तरता ?

1:23:16 – फिल्ममा प्रयोग भएको बिम्ब – (सुनले सुख ल्याउँछ भन्ने हुँदैन ) – अहिले संसार कस्तो हुँदै गएको जस्तो लाग्छ ?

1:26:00 – तपाईँको यो यात्रामा अहिलेसम्मकै सबैभन्दा डाउन मोमेन्ट कुन हो ?

1:28:21 – तपाईँलाई के ले खुसी बनाउँछ ?

1:29:46 – तपाईँलाई के ले चिन्तित बनाउँछ ?

1:30:48 – तपाईँलाई के ले आशावादी बनाउँछ ?

1:32:14 – अन्तिम प्रश्न – आफूले गरेको के गल्ती अरूले नगरुन् भन्ने चाहनुहुन्छ ?

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *