घरेलु उद्योगका सामग्रीहरूलाई आधुनिकताको नाममा हेलचेक्राँई नगरौँ : राजेश हमाल
काठमाडौँ । महानायक राजेश हमालले घरेलु उद्योगलाई बढुवा दिनुपर्ने आवश्यकता रहेको बताएका हुन् ।
सोमवार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले प्रत्येक नागरिकले घरेलु उत्पादन र उद्योगलाई महत्व दिनुपर्ने बताए ।
उनले घरेलु उद्योग एउटा व्यवसाय मात्रै नभएको भन्दै यसले देश, संस्कृति र हाम्रो कलालाई प्रतिनिधित्व गर्ने बताए । उनले घरेलु उद्योग ओझेलमा पर्नु, लोप हुनु भनेको संस्कृति र कला लोप हुनु रहेको बताए ।
उनले पुर्खाको सीप, कलालाई प्रतिनिधित्व गर्ने घरेलु उद्योगका सामग्रीहरूलाई आधुनिकताको नाममा हेलचेक्राँई गरे समाजको लागि र परम्परागत संस्कृतिको लागि हानी पुग्ने बताए ।
उनले भने ‘हामी प्रत्येक नागरिकले घरेलु उद्योगलाई बढुवा दिनुपर्छ । घरेलु उद्योग, ह्याण्डिक्र्याप छ, यो खालि व्यवसाय मात्रै नभई यसले देश, संस्कृति र हाम्रो कलालाई प्रतिनिधित्व गर्छ । यो ओझेलमा पर्नु, यो लोप हुनु भनेको संस्कृति र कला लोप हुनु हो । किनभने यसले पुर्खाको सीप, कलालाई प्रतिनिधित्व गर्छ । हामीले आधुनिकताको नाममा यसलाई हेलचेक्राँई गर्ने हो भने र आधुनिकताका सरसामानको पछि लाग्यौँ भने हाम्रो समाजको लागि र परम्परागत संस्कृतिको लागि हानी पुर्याउँछ ।’
महानायक हमालले नेपालका घरेलु उद्योगका सामग्रीहरूको महत्व करिब ४० वर्ष पहिला धेरै महत्वपूर्ण हुने गरेको र लोकप्रिय रहेको बताए । उनले नेपालका घरेलु उद्योगबाट उत्पादित सामग्रीहरू विश्व बजारमा ओझेलमा परेको बताए ।