विश्वप्रकाश भन्छन्–कोशीमा शेरबहादुर र शेखर दुवैले गल्ती गरे, एमालेसहितको सरकार बन्नुपर्छ
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कोशी प्रदेशको मुख्यमन्त्री बारे निर्णय गर्दा सभापति शेरबहादुर देउवा र अर्का नेता शेखर कोइराला दुवैले गल्ती गरेको बताएका छन्।
सोमबार महामन्त्रीद्वयले सभापति देउवालाई भेटेर कोशीमा सही निर्णय लिन नसकेको भनेको बताए। तर प्रक्रिया जे जसो भएपनि सभापतिले निर्णय गरिसकेपछि त्यो नै संस्थागत निर्णय हुने भएकाले शेखरले त्यसलाई लत्याएर अर्को गल्ती गरेको शर्माको भनाई छ।
कोशीमा नयाँ सरकार बनाउँदा देखिएको घटनाले कांग्रेसभित्रको द्वन्द्व बाहिरिएको र यसलाई तत्काल समाधान गरेर नगए २०५१ सालकै अवस्था आउने चेतावनी महामन्त्री शर्मा र गगन थापाले देउवालाई सुझाएका छन्।
पार्टीभित्र पर्याप्त संवाद नहुँदा उब्जिएको समस्या भन्दै आफूहरुविनै देउवाले निर्णय गरेकोमा पनि उनीहरुले गुनासो गरेका थिए।
देउवाले पार्टीमा सल्लाह नगरी निर्णय लिएको र शेखरले पनि आफ्नो समूहमा छलफल नै नगरी निर्णय लिएकाले दुवै प्रवृत्ति गलत भएको शर्माको भनाई छ।
सभापतिले निर्णय गर्दा संस्थागत निर्णय गर्ने र फरक विचारहरुलाइृ समन्वय गर्ने काम गर्नुपर्छ। सभापतिको गल्तीको कुरा हामीले केलायौं। फरक विचारको समूहको नेताले पनि न आफ्नो विचार समूहभित्र छलफल गर्छन्, शर्माले भने, संस्थागत निर्णय नभइरहँदा पनि सभापतिले गर्ने निर्णय संस्थागत हुन्छ फरक विभचार राख्ने नेताले त्यसलाई उल्लंघन गर्नुभयो।
सभापतिले संस्थागत निर्णय गर्न फरक विचारसँग समन्वय गरेर अगाडी नबढ्ने र फरक विचारको नेताले संस्थाको निर्णय जुन रुपमा आएको होस् त्यसलाई कार्यन्वयन नगरेर उल्लंघन गर्ने। यो दुईवटा गल्ती सभापति र अर्का नेताबाट भएको छ।
कोशीमा नेपाली कांग्रेसको भागको मुख्यमन्त्री हो भनेर शेखरले भनेको र कांग्रेसकै भागको नभएको शर्माले बताए।
कोशीमा दुवै पक्षमा प्रश्ट बहुमत नभएकाले एमाले र माओवादीसहितका दलहरु मिलेर जानु पर्ने बताए।
गठबन्धन नभत्काइ कोशीमा एमालेसहितको विकल्प खोज्नु पर्ने शर्माको सुझाव छ।
कांग्रेससँगको गठबन्धनका कारण माओवादीले कोशीमा धेरै गुमाएको शर्माको भनाई छ। हिक्मत कार्कीको सरकारबाट बाहिरियो, कांग्रेस नेतृत्वको सरकारका लागि पहिले सभामुखले हस्ताक्षर गर्नुभयो, पछि सभामुखले राजीनामा पनि दिनुभयो।
अब कांग्रेसले एक ढिक्का भएर कार्कीलाई विश्वासको मत दिनु पर्ने उनले बताए।
यस्तै सभापति देउवा र शेखरले प्रधानमन्त्री प्रचण्डसँग कागजको टुक्रामा गरेको हस्ताक्षरप्रति पनि उनले असन्तुष्टि जनाएका छन्।
विमति राख्दै त्यस्ता चिर्कटामा प्रधानमन्त्रीले र शेरबहादुर देउवाले वक्तव्य दिनु पर्दैनथ्यो, शेखरले मात्रै वक्तव्य दिँदा पुग्थ्यो।
कोशीको विषयले कांग्रेसमा डढेलोको रुप लिए २०५१ सालको जस्तै दुर्घटना व्यहोर्नु पर्ने शर्माको बुझाई छ।
एमालेको समर्थनमा बनेका मुख्यमन्त्रीले एमालेलाई छाडेर जान पनि सहज नभएको र शेखरले चिर्कटोमा हस्ताक्षर गरेर नैतिक संकटमा परेको महामन्त्री शर्माले देउवासँगको भेटपछि बताए।