दसैँको बेला मलाई सरकारको कमेन्ट गर्नु छैन : ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको बारेमा आफूलाई कुनै प्रतिक्रिया दिन आवश्यक नरहेको बताएका छन् । सोमबार कान्तिपुर सिनेमाज एपको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले अहिलेको सरकारले पनि चलचित्र क्षेत्र र सेन्सरका समस्याका बारेमा सुन्नुपर्ने बताए । ‘चलचित्र क्षेत्र र सेन्सरका समस्याका बारेमा अहिलेको सरकारलाई म भन्नेछु । अहिलेको सरकारले पनि तपाईँहरूको कुरा सुन्नुपर्छ । सरकार भनेको कुनै पर्मानेन्ट हुँदैन । फेरि मैले सरकारको बारेमा खालि सेन्सरसिपको बारेमा मात्रै भनेको हो, अरू होइन,ड अध्यक्ष ओलीले भने, ‘सरकारको बारेमा मलाई अहिले कमेन्ट गर्नु छैन । फेरि दसैँको आज द्वितीयाको दिन । नौरथा लागेको बेला शुभकामना दिनुपर्ने बेला, किन सरकारको बारेमा भन्नु । भनिरहनुपर्ने आवश्यकता नै छैन ।’

अध्यक्ष ओलीले राजनीति गर्नु भनेको धुम्म परेर बस्नु मात्रै नभई रमाउनु पनि राजनीति रहेको बताए । ‘अलिकति उभिने वरिपरि हेर्न समय छैन भने त्यो के जिन्दगी । जिन्दगीका एउटा मात्रै आयाम हुँदैनन् । जिन्दगीको एउटा मात्रै रङ हुँदैनन्, अनेक हुन्छन् । जिन्दगी राजनीति गर्नु भनेको धुम्म परेर बस्नु होइन । रमाउनु पनि हो,’ उनले अगाडि भने, ‘मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य मलाई औधी मन पर्छ । कलालाई धेरै राम्रोसँग प्रतिनिधित्व गरेका प्रतिविम्ब गरेका कलाकारभित्र मदनकृष्ण र हरिवंश पर्छन् । सेन्सर चाहिँदै चाहिँदैन भन्ने पनि होइन । सेन्सर चाहिन्छ तर हातमा कैँची छ भनेर जथाभाबी चलाउनु हुँदैन ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *