फुटबलमा नेपाल : कस्तो छ विश्वकपमा पुग्ने बाटो ?
काठमाडौँ । नेपालले २०२६ मा हुने विश्वकप फुटबल छनौट अन्तर्गत दोस्रो चरणमा खेल्ने देशहरूको टुंगो लागेको छ । अखिल नेपाल फुटबल संघका अनुसार नेपाल समूह एच’मा युएई, बहराइन र यमनसँग खेल्ने भएको हो ।
विश्वकप फुटबल छनौटको दोस्रो चरणमा नेपालले पहिलो खेल युएईविरुद्ध नोभेम्बर १६ मा अवे खेल खेल्ने छ भने जुन ६ मा घरेलु मैदानमा खेल्ने छ । बहराइनविरुद्ध २१ मार्चमा घरेलु मैदानमा खेल्ने छ भने २६ मार्चमा अवे खेल खेल्ने भएको छ । यमनसँग २१ नोभेम्बरमा घरेलु मैदानमा खेल्ने छ भने ११ जुनमा अवे खेल खेल्ने भएको छ ।
नेपालले विश्वकपको पहिलो चरणमा लाओसमाथि २-१ को समग्रमा जित हासिल गर्दै विश्वकप छनौटको दोस्रो चरणमा पुगेको हो ।
विश्वकप छनौटको बाटो
समूह चरणका ९ समूहमा ३६ देश रहेका छन् भने समूह विजेता र उपविजेता विश्वकप छनौटको तेस्रो चरणमा पुग्ने छन् । तेस्रो चरणमा पुग्ने १८ देशलाई ६/६ गरी तीन समूहमा विभाजन गरिने छ भने ति देशहरू आफ्नो समूहमा होम र अवेका आधारमा एक अर्कासँग खेल्ने छन् । तीन समूहबाट विजेता र उपविजेता टिम विश्वकपका लागि छनौट हुने छन् भने तिनै समूहका तेस्रो र चौथो हुने देश चौथो चरण खेल्न पाउने छन् ।
तेस्रो र चौथो हुने ६ देशलाई दुई समूहमा विभाजन गरेर एक अर्काविरुद्ध खेलाइने छ । यी खेलहरू न्युट्रल भेन्युमा हुने छन् । दुवै समूहका समूह विजेता विश्वकपमा छनौट हुने छन् । दुवै समूहका उपविजेताबीच पाँचौँ चरणमा होम र अवे खेल खेलाएर विजेतालाई इन्टर कान्टिनेन्टल प्लेअफका लागि एसियाको प्रतिनिधित्व गर्न पठाइने छ । २०२६ को विश्वकपमा एसियाबाट ८ देश सिधै छनौट हुने छन् भने एक देशले इन्टर कान्टिनेन्टल प्लेअफमार्फत छनौटको अवसर पाउने छ ।