बायर्न, पिएसजी र एटलेटिको विजयी हुँदा रोकियो रियल म्याड्रिड
काठमाडौँ । जर्मनीको बुण्डेसलिगा अन्तर्गत बायर्न म्यूनिखले मैन्जलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा बायर्न म्युनिखले मैन्जलाई ३–१ गोल अन्तरले पराजित गरेको हो ।
बायर्न म्युनिखको जितमा किंग्सले कोम्यान, ह्यारी केन र लेओन गोरेतज्काले एक एक गोल गरेका थिए । मैन्जका लागि एन्थोनी कासीले एक गोल गरेका थिए । यो जितपछि बायर्न म्युनिखको ८ खेलमा २० अंक रहेको छ र लिगमा तेस्रो स्थानमा रहेको छ । मैन्जको ८ खेलमा २ अंक रहेको छ र लिगमा १७औं स्थानमा रहेको छ ।
फ्रेन्च लिग वान अन्तर्गत पिएसजीले स्ट्रासबर्गमाथि सहज जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा पिएसजीले स्ट्रासबर्गलाई ३–० गोल अन्तरले पराजित गरेको हो ।
पिएसजीको जितमा किलीयन एम्बाप्पे, कार्लोस सोलेर र फाबियन रुइजले एक एक गोल गरेका थिए । यो जितपछि पिएसजीको ९ खेलमा १८ अंक भएको छ र लिगमा दोस्रो स्थानमा रहेको छ । स्ट्रासबर्गको ९ खेलमा १० अंक रहेको छ र लिगमा १२औं स्थानमा रहेको छ ।
स्पेनिस ला लिगा अन्तर्गत एटलेटिको म्याड्रिडले सेल्टा भिगोलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा एटलेटिको म्याड्रिडले सेल्टा भिगोलाई ३–० गोल अन्तरले पराजित गरेको हो ।
एटलेटिको म्याड्रिडको जितमा एन्टोनी ग्रीजम्यानले ह्याट्रिक गरेका थिए । उनले खेलको २९औं, ६४औँ र ७०औं मिनेटमा गोल गर्दै आफ्नो ह्याट्रिक पुरा गरेका थिए । यस खेलमा इभान भिल्लारले खेलको २५औं मिनेटमा रातो कार्ड पाएपछि सेल्टा भिगो १० खेलाडीमा समिति भएको थियो ।
यो जितपछि एटलेटिको म्याड्रिडको ९ खेलमा २२ अंक भएको छ र लिगमा दोस्रो स्थानमा रहेको छ । सेल्टा भिगोको भने १० खेलमा ६ अंक भएको छ र लिगमा १८औं स्थानमा रहेको छ ।
अर्काे खेलमा रियल म्याड्रिड सेभियासँग बराबरीमा रोकिएको छ । गएराती सम्पन्न खेलमा रियल म्याड्रिड र सेभिया १–१ गोलको बराबरीमा रोकिएका हुन् ।
रियल म्याड्रिडका लागि डानी कार्भाजोलले एक गोल गरेका थिए भने सेभियाका लागि रियलकै डेभिड अलावाले आत्मघाती गोल गरेका थिए । यो बराबरीपछि रियल म्याड्रिडको १० खेलमा २५ अंक भएको छ र लिगमा शिर्ष स्थानमा रहेको छ ।त्यसैगरी सेभियाको भने ९ खेलमा ९ अंक रहेको छ र लिगमा १३औं स्थानमा रहेको छ ।