च्याम्पियन्स लिगमा रियल म्याड्रिड, बायर्न, आर्सनल र म्यानचेस्टर युनाइटेड

काठमाडौँ । युरोपेली च्याम्पियन्स लिग फूटबलमा समूह ‘ए’ को बायर्न म्युनिखले अपराजित यात्रा कायम राखेको छ । गएराति भएको आफ्नो तेस्रो खेलमा जर्मन बुन्डेसलिगा क्लब बायर्नले गालातासारेलाई ३-१ गोलले पराजित गर्दै सहज जित निकालेको हो ।

बायर्नको जितमा किङ्स्ले कोम्यान, ह्यारी केन र जमल मुसियलाले एक-एक गोल गरेका थिए । गालातासारेका माउरो इकार्डीले एक गोल फर्काए । पहिलो हाफ १/१ गोलको बराबरीमा सकिँदा बायर्नले दोस्रो हाफमा थप दुई गोल गरेको थियो ।

यो जितसँगै तालिकामा तीन खेलबाट ९ अंक जोडेको बायर्न शीर्षस्थानमा छ । गालातासारे समान खेलबाट चार अंकसहित दोस्रो स्थानमा छ ।

रियल म्याड्रिडले ब्रागालाई २-१ गोल अन्तरले पराजित गरेको छ । रियल म्याड्रिडको जितमा रोड्रीगो र जुडे बेलिंगघमले एक एक गोल गरेका थिए । ब्रागाका लागि अल्भारो जालोले एक गोल गरेका थिए ।

समूह सी मा अपराजित रहेको रियल म्याड्रिडले यो जितपछि ३ खेलमा ९ अंक हासिल गरेको छ र समूहमा शीर्ष स्थानमा रहेको छ । ब्रागाको ३ खेलमा ३ अंक रहेको छ र समूहमा तेस्रो स्थानमा रहेको छ ।

आर्सनलले सेभियालाई २-१ गोल अन्तरले पराजित गर्‍यो । आर्सनलको जितमा गाब्रियल मार्टिनेली र गाब्रियल जिससले एक एक गोल गरेका थिए । सेभियाका लागि नेमन्जा गुडेल्जले एक गोल गरेका थिए ।

यो जितपछि आर्सनलले दोस्रो जित हासिल गर्दै समूह बी मा ३ खेलमा ६ अंक हासिल गर्दै शीर्ष स्थानमा रहेको छ । सेभियाको भने ३ खेलमा २ अंक रहेको छ र समूहमा तेस्रो स्थानमा रहेको छ ।

म्यानचेस्टर युनाइटेडले कोपेनहेगनलाई १-० गोल अन्तरले पराजित गरेको छ । म्यानचेस्टर युनाइटेडको जितमा खेलको ७२औं मिनेटमा ह्यारी माग्युरेले गरेको गोलनै खेलको निर्णायक गोल बनेको थियो ।

समूह ए मा रहेको म्यानचेस्टर युनाइटेडको यस सिजनको च्याम्पियन्स लिगमा यो पहिलो जित हो । यसअघि युनाइटेडले लगातार दुई खेलमा हार बेहोरेको थियो । यो जितपछि ३ खेलमा म्यानचेस्टर युनाइटेडको ३ खेलमा ३ अंक भएको छ र समूह ए मा तेस्रो स्थानमा रहेको छ । कोपनहेगनको ३ खेलमा एक अंक रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *