मकालु अनुवाद

राष्ट्रियताको लागि सङ्घर्ष मेरो कविताको मूल विषय हो : प्यालेस्टिनी कवि फराह चम्मा

फराह चम्मा युएई मा जन्मिएकी प्यालेस्टिनी स्पोकन वर्ड कवि हुन् । चौध वर्षको उमेरबाट प्रस्तुति दिन थालेकी उनका कवितामा प्यालेस्टिनी हुनुको पहिचान मिसिएर आइपुग्छ । उनका प्रस्तुतिले दर्शकलाई संलग्न गराउँछन् । आफूले कविता लेख्नुभन्दा पहिला नै दर्शकलाई सोच्ने बताउने उनले यो अन्तर्वार्तामा बताएका कुराहरू प्यालेस्टाइनले अहिले भोगिरहेको युद्धको सङ्कटको बेला झनै सान्दर्भिक छन् । पढ्नुहोस् समर मिडियाको लागि उनले दिएको उक्त अन्तर्वार्ता होहंसा खड्काको अनुवादमा । 

मलाई लाग्छ, निर्वासनमा रहेका प्यालेस्टिनीले नयाँ पहिचान बनाएका छन् । ७०% भन्दा बढी प्यालेस्टिनी निर्वासनमा बस्छन् । तर नयाँ दृष्टिकोणबाट हामीले नयाँ कलात्मक पहिचान बनाएका छौँ ।

मेरो नाम फराह चम्मा हो । म प्यालेस्टिनी कवि र लेखक हुँ । म इमिरेट्समा जन्मिए अनि अहिले सोर्बोन (अबु धाबीमा) मा दर्शनशास्त्र र राजनीति विज्ञान अध्ययन गर्दै छु । जब मानिसहरूले मलाई कहाँबाट हौ भनेर सोध्छन्, म धेरै सोचविचार नगरी प्यालेस्टाइनबाट भन्छु । हुर्किँदै गर्दा मैले म किन आफूलाई प्यालेस्टिनी भनी चिनाउँछु, किन इमिराति भन्दिनँ भनेर सोध्न थालेँ । यो पहिचान राजनीतिको यो त्यही प्रश्न हो जसले मेरो कवितामा ठुलो प्रभाव पार्न थाल्यो । 

जब म पहिचानको बारेमा कुरा गर्छु, म सधैँ दुई तहका बारेमा उल्लेख गर्छु । एउटा ब्यूरोक्रेटिक तह र अर्को व्यक्तिगत र दार्शनिक तह । व्यक्तिगत र दार्शनिक तह मुख्यतः आत्मविश्लेषी र भावनात्मक कोण हो भने  ब्यूरोक्रेटिक पक्षबाट, म सिरियाली कागजातहरू भएको प्यालेस्टिनी हुँ । यो हामी प्यालेस्टिनीहरू बिचमा ख्यालठट्टाको विषय पनि हो, जहाँ उनीहरू सधैँ एक अर्कालाई सोध्छन्:  तिमी प्यालेस्टिनी हौ ? तिमीसँग कुन आइडी छ ? 

व्यक्तिगत दृष्टिकोणबाट, म आफैलाई दार्शनिक रूपमा चिन्न खोजिरहन्छु । म फ्रान्सेली विश्वविद्यालयमा पढ्छु, र म फ्रेन्च बोल्छु । मैले पोर्चुगिज बोल्न पनि सुरु गरेँ किनभने म धेरै ब्राजिलमा यात्रा गर्छु । साथै म अङ्ग्रेजी र अरबी पनि बोल्छु, त्यसैले, भाषाको दृष्टिकोणबाट, मलाई यहाँ एक मिश्रण छ जस्तो लाग्छ । त्यसैले म कहाँको हुँ, मैले बोलेको भाषाबाट निर्धारण गर्न मलाई गाह्रो हुन्छ ।

महमूद डारविसले भनेथे; म आफैलाई पूर्ण रूपमा चिन्दिन, नत्र म आफैँलाई गुमाउँछु । कहिलेकाहीँ म आफैलाई भन्छु: सायद यी कुराहरूले वास्तवमै केही फरक पर्दैन । अहिले पनि राष्ट्रियताको लागि सङ्घर्ष, मेरो कविताको मूल र दोहोरिइरहने विषय हो, किनभने यो अरबी संसारमा सबैभन्दा महत्त्वपूर्ण विषयहरू मध्ये एक हो । सबै जना राष्ट्रियता पाउन चाहन्छन् । सबै जना ‘आफ्नो भविष्य सुरक्षित गर्न चाहन्छन्’ । 

यो एक वाक्य हामीले अरब संसारमा सधैँ सुनिरहेका हुन्छौँ ।

मेरो बुबाले एक पटक भन्नुभयो: मलाई ब्राजिलियन पासपोर्ट चाहिन्छ ताकि म हाम्रो परिवारको भविष्य सुरक्षित गर्न सकूँ, ताकि तिमीहरू सबै स्वतन्त्रताका साथ यात्रा गर्न सकौँ । यी यस्ता निर्णयहरू कसले गर्छ भन्ने मलाई थाहा छैन । कुन राष्ट्रियता अर्को भन्दा राम्रो हो? भनेर  के यो ब्यूरोक्रेटिक पावरहरूले निर्णय गर्ने हो ? र यदि हो भने  किन ? 

अरबीहरू भएको कारण यस्तो कुराले हामीलाई दुःखी बनाउँछ । किनकि आज अरबी पासपोर्टहरूमा कुनै बल र शक्ति छैन भन्ने हामी सबैलाई थाहा छ ।

कविता निरन्तर रूपान्तरित भइरहेको छ । कविताको सुन्दरता यो हो कि, यो समाज र दैनिक जीवनको दर्पण हो । अरबी कवितामा, क्लासिकल अरबी कविताहरू र हामीले गर्न खोजेको अरबी कविताहरू( जसमा युवा पुस्ताहरू सबैभन्दा बढी सम्बन्धित छन्) बिचमा  ठुलो खाडल भएको म पाउँछु । म जहिल्यै पनि लेखिएको/ लिखित कविता र बोलिने कविताका  (जसलाई स्पोकन् पोएट्रि भनिन्छ ) बिच फरक छुट्टाइरहेको हुन्छु ।

यहाँ स्पोकन् वर्डको लागि कुनै आन्दोलन भएको थियो कि थिएन भन्ने कुरामा म निश्चित छैन । हामीलाई थाहा छ कि यसकालागि  फ्रान्स, अमेरिका वा इङ्गल्यान्डमा आन्दोलन भएको थियो । त्यहाँ स्ल्याम र स्पोकन वर्ड पोयट्रीको अस्थित्व देखिन्छ । तर अरब संसारमा यसको नामनिसान छैन । त्यसकारण पनि मैले अनुसन्धान गर्न थालेँ । मैले कविता लेख्न थाल्दा अङ्ग्रेजीमा लेखेँ किनभने इमिरेट्समा  भएका निजी स्कुलहरू सबै अङ्ग्रेजीमा पढाइन्छन्, त्यसैले हामी अरबी भन्दा राम्रो अङ्ग्रेजी बोल्छौँ । तर, जब मैले अरबीमा लेख्न थाले, म अचम्मित हुँदै सोच्न थालेँ : के अरबी कवितामा पुनर्जागरण छ ? के यहाँ युवा कविहरू छन् जसले व्यवस्थित रूपमा अरबीमा लेख्छन् ?

हामी दर्शकहरूलाई कवितामा संलग्न गराउन चाहन्छौँ । हामी उनीहरूले सुनेर दोहोर्‍याउन् भनेर नै केही भन्न चाहन्छौँ । अतः उनीहरूले अरबी भाषाको जीवन महसुस गर्न सक्छन् । भाषा समाज र युवाको ऊर्जाको परिणाम हो । कविता धेरै व्याकरणीय नियमहरू भएको एक कठिन भाषा मात्र होइन । यस ऊर्जाले तपाईँलाई पूर्ण भिन्न संसारमा ल्याउँछ । जब तपाईँ श्रोताको अगाडि उभिएर, बोल्नुहुन्छ र उनीहरूसँग संलग्न हुनुहुनेछ, सायद तपाई रुनु पनि हुन्छ किनकि कहिलेकाहीँ त्यो क्षण भावुक बनाउने हुन्छ । यस्तो लाग्छ कि भावनाहरू स्टेजमा प्रत्यक्ष आइरहेका छन् । 

म कविता लेख्छु ताकि यो कुरालाई ठुलो स्वरमा भन्न सक्छु । तसर्थ, मसँग कविता लेख्नुको एउटा लक्ष्य छ । कविता लेख्नुअघि नै म दर्शकको बारेमा सोच्ने गर्छु । जब मैले पहिलो पटक युट्युबमा आफ्ना कविताहरू हाल्न थालेँ, त्यहाँ दर्शकहरू छन् भन्ने महसुस गरेँ । अन्तमा मैले दर्शकहरूसम्म पुग्ने एउटा साधन भएको पाए । यो तत्कालै हुन्छ ।  कविताहरू युट्युब मार्फत सजिलै प्रसारित गर्न सकिन्छ र मानिसहरूले यसलाई तुरुन्तै अरूसम्म पुर्‍याउन सक्छन् । यति सजिलै यो इन्टरनेटभरि पुग्छ । मेरो “राष्ट्रियता” र “मैले कसरी पत्याउनै पर्छ” जस्ता कविताहरू युट्युब मार्फत मैले कल्पना नगरेको देशमा पुगेँ । तसर्थ, कविता र स्पोकन वर्ड मेरो क्षितिजका ढोका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *