लालुपाते सहकारीका उपाध्यक्षसहित ५ जना पक्राउ
खोटाङको दिक्तेलस्थित लालुपाते बहुउद्देश्यीय सहकारी संस्थाका उपाध्यक्षसहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ। सहकारी सञ्चालक समितिका उपाध्यक्ष अर्जुन चौलागाईँ, सचिव मनोज राई, कोषाध्यक्ष रमा शाक्य, लेखा समिति संयोजक प्रितम श्रेष्ठ र लेखापाल सुमना राईलाई आइतबार पक्राउ गरेको हो।
जिल्लाका चार हजार ५०० बचतकर्ताको रकम घोटला गरेको आरोपमा प्रहरीले अनुसन्धान गरिरहेको छ।
यसअघि सञ्चालक समितिका तत्कालीन अध्यक्ष अनिल जोशीका परिवारसहित तीनजनालाई पक्राउ गरेर अनुसन्धान गरिरहेको थियो।
अध्यक्ष जोशीका भाइ सुनिल जोशी, उनकी श्रीमती रविना श्रेष्ठ जोशी र प्रबन्धक रुकु जोशीलाई एक महिनाअघि काठमाडौँबाट पक्राउ गरेर ल्याइएको थियो।
सञ्चालक समितिका सचिव मनोज राईले २०७९ माघ–६ गते ऋणीहरुविरुद्ध नै किटानी जाहेरी दिएका थिए। तर बचतकर्ताले भने उनीसहित ८ जनाविरुद्ध २०७९ फागुन २ गते उजुरी दिएका थिए।
जिल्ला प्रहरी कार्यालय खोटाङका अधिकारीले भने अनुसन्धानका क्रममा उनीहरुको पनि संलग्नता देखिएकाले पक्राउ गरिएको जनाएका छन्।
२०७२ मङ्सिर–१० गतेदेखि दिक्तेल बजारमा सञ्चालन भएको सहकारीमा बचतकर्ताको रकम हिनामिना भएको आरोप छ।
अध्यक्ष जोशीको भने कोभिडका कारण निधन भएको बताइएको छ। अध्यक्षको निधनसँगै सहकारीको कारोबार ठप्प छ।