पर्यटकीय पदमार्गलाई धुवाँ र धुलोमुक्त बनाउनुपर्छ : गगन थापा
घोडेपानी । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पर्यटकीय पदमार्गलाई धुवाँ र धुलोमुक्त बनाउनुपर्ने बताएका छन् । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा रहेको पर्यटकीयस्थल पुनहिलमा आज बिहान पत्रकारसँग कुराकानी गर्दै उनले सडक विस्तारसँगै पर्यटन व्यवसायको आधार पैदलमार्ग मासिन थालेकामा चिन्ता व्यक्त गरे ।
‘कास्कीको नयाँपुलदेखि म्याग्दीको घोडेपानी आउँदा सडकमा पर्यटकहरु धुलो खाँदै असहज रुपमा हिँडिरहेको देख्दा दुःख लाग्यो,’ थापाले भने, ‘नेपालको पर्यटन क्षेत्रको विशिष्टता बोकेको पदमार्ग हुुन् । पदमार्गको संरक्षण गरी यात्रा सहज बनाउनेतर्फ सबै सचेत बन्नुपर्ने देखिएको छ ।’
पर्यटकीय क्षेत्रमा नयाँ सडक निर्माण गर्दा भएका पदमार्ग र प्राकृतिक सम्पदालाई असर नपर्ने गरी बनाउन नीतिगत पहल गर्नुपर्नेमा उनले जोड दिए ।
शान्त, एकान्त वातावरण, वन पैदावार, वन्यजन्तुको संरक्षणका साथै पदमार्गलाई धुवाँ र धुलोमुक्त बनाउनुपर्ने थापाको भनाइ थियो । काठमाडौँदेखि पोखरा आएर नयाँ पुल उल्लेरी पैदलयात्रामार्फत घोडेपानी आएका थापाले नेपालीलाई विदेश भन्दा नेपालकै पर्यटकीयस्थल घुम्नुपर्नेमा जोड दिए ।
‘स्वदेशी पर्यटक विदेश घुम्न जाने धेरै हुँदा नेपालको पैसा बाहिरिएको छ’, महामन्त्री थापाले भने, ‘नेपालमै प्राकृतिक सम्पदा तथा पर्यटकीयस्थल धेरै छन् । कतिपय पर्यटकीय ठाउँ ओझेलमा छन् । ती ठाउँहरुको पहिचान, प्रवर्द्धन गरेर विदेशिने पैसा रोक्न नीतिगत रुपमा पहल गर्नुपर्ने छ ।’
समुद्रि सतहदेखि तीन हजार दुई सय १० मिटर उचाईमा रहेको पुनहिलबाट धौलागिरि, गुर्जा, अन्नपूूर्ण, माछापुच्छ्रे, निलगिरि लगायतका हिमशृङ्खला, सूर्योदय, पहाडी भूगोलको अवलोकन गर्न सकिन्छ । लालीगुराँस जङ्गलको टाकुरामा रहेको पुनहिलको सौन्दर्यले आफूलाई मोहित बनाएको थापाको भनाइ थियो ।
घोडेपानीबाट करिब ४५ मिनेट उकालो हिँडेपछि पुनहिल पुग्न सकिन्छ । असोज र कात्तिक पर्यटकको यामका रुपमा मानिन्छ । गत वर्षको तुलनामा पर्यटक आगमन बढेपनि कोभिड अगाडिको अवस्थामा जस्तो पाहुना आउन नसकेको अन्नपूर्ण गाउँपालिकाका पूर्व अध्यक्षसमेत रहेका घोडेपानीका होटल व्यवसायी डमबहादुर पुनले थापाले बताए ।
उनले पर्यटन प्रवर्द्धनका लागि नीतिगत पहल गर्नुपर्नेमा जोड दिए ।
‘घोडेपानी पुनहिल अन्नपूर्ण चक्रीय पदमार्गको प्रमुख गन्तव्य हो । कोभिड अगाडिको छ महिनामा ३० हजार भन्दा बढी पर्यटक आएकामा यस वर्ष वैशाखदेखि कात्तिक दोस्रो सातासम्म चौध हजार मात्रै पर्यटक आएका छन्’, होटल व्यवसायी थापाले भने ।
उनका अनुसार यहाँ २५ वटा सुविधायुक्त होटल छन् ।
कोभिड अगाडि भरिभराउ हुने होटलमा आधा मात्रै पाहुना रहेका होटल टोल सुधार समितिका उपाध्यक्ष जुली ठकुरी पुनले बताए ।
महामन्त्री थापाको टोली घोडेपानीदेखि आज कास्कीको पर्यटकीयस्थल घान्द्रुक गएको छ ।