एनसेलद्वारा एसियाली पारा खेलकुदमा ऐतिहासिक पदक विजेता पलेशाको सम्मान
काठमाडौँ । हालै सम्पन्न चौथो एसियाली पारा खेलकुद २०२२ मा नेपाललाई इतिहासमा नै पहिलो पदक दिलाउन सफल तेक्वान्दो खेलाडी पलेशा गोवर्धनलाई एनसेल आजियाटा लिमिटेडले सम्मान गरेको छ ।
पलेशाको ऐतिहासिक जितको सम्मान गर्दै एनसेलले उनलाई १ लाख रुपैयाँ नगद पुरस्कार प्रदान गर्ने घोषणा गरेको छ ।
पलेशाले चीनको हाङझावमा आयोजना भएको एसियाली पारा खेलकुदमा तेक्वान्दो खेलमा महिलातर्फ के–४४, ५७ केजी मुनिको क्याटगोरीमा इतिहास रच्दै कास्य पदक जितेकी थिइन् । यो नगद पुरस्कार उनको जित र व्यक्तिगत उपलब्धिको सम्मान हो ।
यस बाहेक एनसेलले राष्ट्रिय पारालिम्पिक समिति (एनपीसी) नेपालसँग नेपाली पारा खेलाडीहरूको समग्र तालिम र विकासका लागि ‘हामी तपाईँकै लागि’ थिम अन्तर्गत सहकार्य र सहयोग प्रदान गर्दै आएको छ ।
एनसेलले बुधवार नेपालका लागि ऐतिहासिक जित हासिल गरेकोमा पलेशालाई बधाई तथा शुभकामना दिन विशेष भेटघाट कार्यक्रमको आयोजना गरेको हो ।
नेपालका लागि पलेशाको उपलब्धिबाट उत्साहित, एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभले भने, ‘पलेशाको यो ऐतिहासिक उपलब्धिबाट हामी हर्षित छौँ । यो जित नेपालका पारा–एथलीटहरूको उत्कृष्ट प्रदर्शनको नतिजा हो । पलेशा र अन्य सबै पारा खेलाडीहरूले हामी सबैलाई प्रेरित गरेका छ र पारा टोलीलाई हाम्रो समर्थन जारी राख्न पाउनु सम्मानको कुरा हो । एनपीसीसँगको हाम्रो सहकार्यले पलेशा जस्ता सच्चा नायक पारा खेलाडीहरूलाई प्रेरणा प्रदान गर्ने उद्देश्य राखेको छ र हामी समावेशितालाई सदा कदर गर्दै यसका लागि प्रतिबद्ध छौँ ।’
‘एसियाली पारा खेलकुदबाट पहिलो पटक देशको लागि पदक जितेर देशको लागि ल्याउन पाएकोमा म गौरवान्वित छु । हामी जस्ता पारा खेलाडीहरूको विकास र प्रशिक्षणको लागि एनसेलले गरेको सहयोगको लागि म हामी सबै पारा खेलाडीहरूको तर्फबाट धेरै–धेरै धन्यवाद दिन चाहन्छु र एनसेल र एनपीसीको यो सहकार्य दीर्घकालीन रहोस् भन्ने कामना गर्दछु । पारा खेलाडीहरूको विकासका लागि भएको यो सहकार्यले आगामी दिनमा अझ धेरै पारा खेलाडीहरू लाभान्वित हुने र देशका लागि थप अन्तर्राष्ट्रिय सफलता दिलाउने विश्वास लिएको छु ।’ पलेशाले भनिन् ।
पलेशाले चाइनाकी लिटिङ याङलाई पराजित गर्दै सेमिफाइनलमा देशको लागि कास्य पदक ल्याउन सफल भएकी थिइन् ।
यो वर्ष एसियाली पारा खेलकुदमा एथलेटिक्स, ब्याडमिनटन, साइकलिङ, पौडी, तेक्वान्दो, जुडो, पावर लिफ्टिङ, सुटिङ र टेबलटेनिस गरी विभिन्न १० खेलका विधामा हाम्रा १९ जना पारा खेलाडीहरूले आफ्नो देशको प्रतिनिधित्व गरेका थिए ।
पारा खेलाडीहरुकोे खेल र उनीहरूको लगनशीलता र इच्छा शक्तिको एनसेल हार्दिक सम्मान गर्ने कम्पनीले बताएको छ ।
एनसेलले गत भदौ ३१ गते आफ्नो सेवा सञ्चालनको १८औँ वार्षिकोत्सवको अवसरमा आफ्नो व्यावसायिक सामाजिक जिम्मेवारी (सीएसआर) अन्तर्गत एनपीसीसँग सहकार्यको घोषणा गरेको थियो ।
यस अन्तर्गत कम्पनीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलहरूमा नेपालको प्रतिनिधित्व गर्ने पारालम्पिक राष्ट्रिय खेलाडीहरूको समग्र तालिम, विकास तथा प्रशिक्षणको लागि सहयोग गर्नेछ ।