कुनै कसर बाँकी नराखी भूकम्प प्रभावितको उद्धार होस् : माधव नेपाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले पश्चिम नेपालमा गएको भूकम्पबाट प्रभावितको उद्धार तथा राहतमा आवश्यक पहल गर्न सरकारसँग आग्रह गरेका छन् ।

शनिवार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो आग्रह गरे ।

उनले भूकम्पमा परी निधन भएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै सरकार र स्थानीय जनप्रतिनिधि एवं सुरक्षाकर्मीहरूले प्रभावित क्षेत्रका नागरिकको उद्धार र राहत कार्यमा आवश्यक भूमिका निभाउनुपर्नेमा जोड दिए ।

उनले हालसम्म १२८ जनाको निधन भएको खबर प्राप्त भएको भन्दै सरकारले प्रभावित जनताप्रति कुनै कसर बाँकी नराखी सहयोग गर्नुपर्ने बताए ।

उनले भूकम्प प्रभावित क्षेत्रमा हुने जोखिम न्यूनीकरणमा पनि ध्यान दिन सरकारसँग आग्रह गरे ।

उनले भने– ‘जसरी भुँइचालो गयो, एक सय २८ जना हालसम्म निधन भएको खबर छ । धेरै व्यक्ति घाइते हुनुभएको छ । दुःखद् घटनाप्रति सबैको तर्फबाट गहिरो दुःख व्यक्त गर्दछु । सँगै परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछु । अहिलेसम्म पनि त्यसका कतिपय असर बाँकी छन् । उद्धार कार्यमा सरकारले तत्काल सुरक्षा पंक्ति पठाइसकेको छ । उद्धार कार्य भइरहेको पनि होला । प्रधानमन्त्री स्वयं पनि जानुभएको छ । राहत सहयोग छिटो पुग्नुपर्छ । त्यस क्षेत्रमा भएको भूकम्प र त्यसको असरप्रति दुःख व्यक्त गर्दछु । सबै पीडित परिवारप्रति समवेदना प्रकट गर्दछु । सरकारले कुनै कसर बाँकी नराखी आफ्नो तर्फबाट सकेको सहयोग गराउनुपर्छ ।’

अध्यक्ष नेपालले अब हुनसक्ने क्षतिलाई ध्यानमा राखेर बाँकी काम गर्नुपर्नेमा सरोकारवाला निकायहरु चनाखो हुनुपर्नेमा जोड दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *