एमाले सरकारबाट बाहिरिएपछि कार्की भन्छन्– एमालेको एजेन्डा नै कार्यान्वयन गरेँ
काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले सहमतिको सरकार बनाएर जाने बताएका छन् ।
शनिवार विराटनगरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै मुख्यमन्त्री कार्कीले आफूलाई मुख्यमन्त्री बनाउने दलको एजेन्डालाई बोकेर सरकार गठन गरेको बताए ।
उनले एमालेको सहमति विपरीत माओवादी केन्द्र र एकीकृत समाजवादीलाई सरकारमा सहभागी गराएपछि एमाले सरकारबाट बाहिरिएको सन्दर्भमा प्रदेशमा सहमतीय सरकार बनाउने एमालेको एजेन्डा नै आफूले कार्यान्वयन गर्न खोजेको बताए ।
मुख्यमन्त्री कार्कीले यसअघि एमाले सरकारमा रहुन्जेल माओवादी र एकीकृत समाजवादी सरकारमा आउन नचाहेको अवस्थामा आफूले छलफलपछि समाधान गरेकोमा एमाले बाहिरिनु गलत भएको बताए ।
सहमतीय सरकारमा सामेल भएर प्रदेशको समृद्धि र सुशासनमा जुट्न एमालेलाई आग्रह गरे ।
मुख्यमन्त्री कार्कीले प्रदेशको जटिलता र परिवर्तनको विरुद्ध भएको चलखेलविरुद्ध मुख्य राजनीतिक शक्तिहरू एकजुट हुनुपर्ने बताए ।
त्यस्तै उनले कोशीको मन्त्रीपरिषद्को बैठकले कर्णाली प्रदेश सरकारको विपद् व्यवस्थापन कोषमा १ करोड जम्मा गर्ने निर्णय गरेको जानकारी दिए ।