झ्यालसँगै घरबाट खसेका कार्कीले भने- ‘भाग्यले बाँचे’
खजुरा – जाजरकोट भेरी नगरपालिका–३ खलङ्गाका ४८ वर्षीय विमलकुमार कार्की भूकम्पमा परी घाइते भएका छन् । उनी गएरातिको भूकम्पबाट घर भत्किएपछि च्यापिएका थिए । उद्धारपछि कार्कीले भने, “भाग्यले बाँचे ।” दुईतले कच्ची घरमा राति एक्लै सुतिरहेका बेला एक्कासी भूकम्प गएको र ब्युँझिएर अत्तालिएर घरबाट बाहिर निस्कन खोज्दा घर गल्र्याम्म ढल्दा माटोले च्यापिएर घाइते भएको उनले सुनाए ।
घाइते कार्कीले आफ्ना दुःख सुनाउँदै भने, “एक्कासी भूकम्प आएको थाहा पाएर झ्यालबाट बाहिर निस्कन खोज्दा झ्यालसँगै तल खसेँ र माटोले मेरो दुईवटै खुट्टा च्यापियो । रातिको समय थियो, एकछिन होसहवास गुम्यो, पछि होस आउँदा म बेस्सरी कराएँ । आधा घण्टापछि भतिज मन्दीप कार्की आयो । राति साढे १ बजे अस्पताल पुगेँ ।”
काका एक्कासी चिच्चयाएको आवाज सुनेर म दौडेर पुगेको घाइते कार्कीका भतिज मन्दीपले बताए । उनले भने, “म पुगेपछि वरिपरिका मानिसलाई बोलाएर स्टेचरमा बोकेर जाजरकोट अस्पताल पुर्याऔँ र त्यहाँ पनि घटनाका घाइतेको ठूलो भीडभाड रहेछ, डाक्टरले उहाँलाई राति साढे ३ बजे नेपालगञ्ज सिफारिस गर्नुभयो ।”
मन्दीपले काकालाई आज बिहान साढे ७ बजे एम्बुलेन्समा राखेर भेरी अस्पतालमा ल्याइपुर्याएका हुन् । घाइतेमध्ये विमलकुमार नै पहिलो बिरामी उपचारमा आएका अस्पतालले जनाएको छ । अस्पतालका चिकित्सकले परीक्षण गर्दा विमलकुमारको दाहिने खुट्टाको दुई भाग भाँचिएको अस्पतालले जनाएको छ । २२ वर्ष पुरानो दुईतले कच्ची घरले झनै ज्यान बचाएको घाइते उनले बताए ।
विमलकुमारको घर नजिकै ससुरालीमा रहेकाले श्रीमती र तीन छोरी बाँचेको बताए । आज राति घरमा उनी एक्लै थिए । श्रीमती र छोरी ससुराली गएकाले बाँचे नत्र घटनामा परेर बाँच्थेन होला विमलकुमारले भने ।
भगवानले हाम्रो परिवारलाई जोगाएको घाइते विमलकुमारकी श्रीमती चन्द्रसिंहले बताइन् । उनले आफू घटनाको बारेमा थाहा पाउनैबित्तिकै श्रीमानलाई खोज्दै जाजरकोट अस्पताल पुगेको बताइन् । उनले भूकम्प गएपछि छोरीलाई उठाएर बाहिर भागेर ज्यान बचाएको सुनाइन् । उनी बसेको घर भूकम्पले सामान्य भत्किएको र चिरा परेको छ ।
चन्द्रसिंहले घटनालाई सम्झेर यस्तो ठूलो विपद्ले हामी त सदरमुकामकालाई यस्तो भयो, भूकम्पको केन्द्रबिन्दु भएको क्षेत्रका मानिसको अवस्था के होला भनेर प्रश्न गरे । जाजरकोट केन्द्रबिन्दु भएर गए राति गएको भूकम्पमा परी गम्भीर घाइते भएकालाई थप उपचारका लागि नेपालगन्ज ल्याउने क्रम जारी रहेको छ ।
हालसम्म ३२ जना घाइतेलाई ल्याइएको भेरी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा पवनजङ्ग रायमाझीले बताए । उनका अनुसार ३२ घाइतेमध्ये दुई जनाको अवस्था जटिल रहेको छ । अस्पतालका मेसु डा.रायमाझीले अस्पतालका सम्पूर्ण चिकित्सकसहितका कर्मचारीलाई उपचारकार्यमा खटाइएको भन्दै घाइते सबैको निःशुल्क उपचार भइरहेको बताए ।
भूकम्पमा परी गम्भीर घाइतेहरूको उपचारका लागि नेपालगन्जको भेरी अस्पताल, नेपालगन्ज मेडिकल कलेज, कोहलपुर शिक्षण अस्पतालमा उपचारको व्यवस्थापन गरिएको बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले बताए । उनका अनुसार घाइते तथा घाइतेका आफन्तका लागि सहजताका लागि स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेश श्रेष्ठलाई तोकिएको छ ।