म्यानचेस्टर सिटी र युनाइटेड विजयी, न्यूक्यासलले आर्सनललाई हरायो

काठमाडौँ । इंग्लिस प्रिमियर लिगमा शनिबार म्यानचेस्टर सिटीले सानदार जित निकालेको छ । सिटीले बर्नमाउथलाई ६-१ को फराकिलो अन्तरले पराजित गरेको हो ।

सिटीको जितमा बर्नाडो सिल्भाले २, जेरेमी डोकु, मानुएल आकान्जी, फिल फोडेन र नेथन आकेले समान १ गोल गरे । खेलमा डोकुको ४ वटा असिस्ट रहेको थियो । ७४ औँ मिनेटमा लुइस सिनिसटेराले बर्नमाउथका लागि एक गोल फर्काए पनि उक्त गोल सान्त्वना गोल मात्र बन्न पुग्यो । जितपछि सिटी ११ खेलमा २७ अंक जोड्दै शीर्ष स्थानमा उक्लिएको छ। बर्नमाउथ भने ६ अंक सहित १७औं स्थानमा छ ।

न्यूक्यासलले आर्सनललाई १–० गोल अन्तरले पराजित गरेको छ । न्यूक्यासलको जितमा एन्थोनी गोरडोनले खेलको ६४औँ मिनेटमा गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो । यो जितपछि न्यूक्यासलको ११ खेलमा २० अंक भएको छ र लिगमा छैटौं स्थानमा उक्लिएको छ । हारपछि आर्सनलको ११ खेलमा २४ अंक रहेको छ र लिगमा तेस्रो स्थानमा रहेको छ ।

अर्काे खेलमा युनाइटेडले फुलह्यामलाई १–० गोल अन्तरले पराजित गर्‍यो । म्यानचेस्टर युनाइटेडको जितमा खेलको ९१औं मिनेटमा ब्रुनो फर्नानडेजले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो ।

यो म्यानचेस्टर युनाइटेडको यस सिजनमा छैटौं जित हो । यो जितपछि म्यानचेस्टर युनाइटेडको ११ खेलमा १८ अंक भएको छ र अंक तालिकामा छैटौं स्थानमा उक्लिएको छ । फुलह्यामको ११ खेलमा १२ अंक रहेको छ र अंकतालिकामा १५औं स्थानमा रहेको छ ।

सोही समयमा भएका अन्य खेलमा ब्रेन्टफर्ड, क्रिस्टल प्यालेस र सेफिल्ड युनाइटेडले जित निकाल्दा एभर्टन र ब्राइटनले भने १–१ को बराबरी खेलेका छन् । ब्रेन्टफर्डले वेस्ट ह्यामलाई ३–२ ले, प्यालेसले बर्नलीलाई २–० ले र सेफिल्डले वल्भसलाई २–१ ले हरायो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *