कोशी सरकारलाई दिएको समर्थन फिर्ता लिँदै एमाले
काठमाडौँ । कोशी प्रदेश सभाको बैठक बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने गरी बोलाइएको हो ।
बैठकमा विषयगत समितिको टुंगो लगाउने र निजामती सम्बन्धी विधेयक संसदमा टेबुल हुने कार्यसूची रहेको कोशी प्रदेश सचिवालयले जनाएको छ । त्यस अघि कार्यव्यवस्था समितिको बैठक ११ बजे बोलाइएको प्रदेश सभा सचिवालयका प्रवक्ता गौतम राज अमात्यले जानकारी दिए । गत कात्तिक १ गते स्थगन गरिएको सो बैठक आजका लागि बोलाइएको हो ।
एमालेको समर्थनमा मुख्यमन्त्री केदार कार्कीले सत्ता गठबन्धनका दुई जनालाई मन्त्री बनाएपछि एमाले रुष्ट छ । एमालेले समर्थन फिर्ता लिने वा कायमै राख्ने बारे अहिले केहीबेरमा बस्ने कोशी संसदीय दलको बैठकले टुंगो लगाउने एमाले कोशी प्रदेश सांसद मिना श्रेष्ठले जानकारी दिइन् ।
सत्ता गठबन्धनका दुई मन्त्री बनेसँगै एमालेबाट मन्त्री बनेका रामबहादुर मगरले राजीनामा दिइसकेका छन् । उसले आफूहरू गठबन्धनमा नरहेको भन्दै समर्थन फिर्ता लिने चेतावनी दिँदै आएको छ । यद्यपि सत्ता गठबन्धनले राप्रपालाई सभामुख दिएर सत्ता जोगाउने कसरतमा लागेको छ ।