काठमाडौँबाट भियतनामका लागि चार्टर उडान हुने
काठमाडौँ । रुप्से होलिडेज्ले गएको अक्टोबर २१, २५ र २९ मा हिमालय एअरलाईन्सको एअरबस ३२० जहाज चार्टर गरेर काठमाडौंबाट भियतनामको हनोई सम्म उडान गरेसँगै नेपाल भियतनाम पर्यटनको विकासमा सहयोग पुग्ने भएको छ ।
तिन चार्टर्ड उडान मार्फत भियतनामबाट २२५ भन्दा बढी पर्यटक नेपाल भित्रिए भने ३२८ भन्दा बढी नेपाली पर्यटकले भियतनामको भ्रमण अवलोकन गरे ।
नेपाल र भियतनाम बिच यति धेरै संख्यामा पर्यटकको आदान प्रदान भएको यो पहिलो घटना थियो । भियतनाम र नेपाल बिच पर्यटकीय सम्भाव्यताको यो सफल परीक्षण हो ।
एक लाख २० हजार रुपैंया खर्चिएर नेपाली पर्यटकले भियतनामको हनोईको पाँच दिने भ्रमण गरे भने भियतनामबाट आएका पर्यटकले काठमाडौं, पोखरा, लुम्बिनी र सौराहाको घुमे ।
दुवैतर्फका पर्यटक यो भ्रमणबाट औधी खुसी र सन्तुष्ट रहेका थिए । यही उडानबाट भियतनाम घुम्न आइपुगेकी आईएमदवल्र्डट्राभलरका रुपमा चिनिएकी युवा ट्राभलर न्हेन्सु गौतम भन्छिन्, ‘चार्टर उडानबाट भियतनाम घुम्नुको मज्जै बेग्लै रह्यो, हरेक ठाउँमा आफूलाई भिआइपी भएको महसुस भयो । यो उडान नहुँदो हो त भियतनाम घुम्न जान पैसा पनि धेरै लाग्ने थियो झण्जट पनि धेरै हुनेथ्यो । अनि रुप्से होलिडेजले बजेटमा पनि राम्रो टुर प्याकेज बनाएको रहेछ । मैले अपेक्षा गरेभन्दा यो टुर राम्रो थियो ।’
‘३ घण्टा सोझो उडानबाट जोडिएको भियतनाम नेपाल हवाई सम्पर्क र यसबाट सहज भएको नयाँ पर्यटकीय गन्तव्य प्रति नेपालीको उत्साहपूर्ण आकर्षण हुनु र भियतनामका पर्यटकले पनि नेपाल प्रति उच्च आकर्षण देखाउनाले नयाँ वर्ष लागे सँगै २०२४ को जनवरी ०५ र जनवरी १० मा थप दुई चार्टर उडान गर्ने निर्णय गरेका छौं ’ रुप्से होलिडेज्का प्रबन्ध निर्देशक रमेश पराजुली भन्छन्, ‘हामीलाई आर्थिक रुपमा यी उडानहरू खासै मुनाफा योग्य छैनन् तर हामीले देशको पर्यटन क्षेत्रको विकासका लागि यो जोखिम उठाएका थियौँ । हामी यसमा अपेक्षाकृत सफल रह्यौँ । नेपालको पर्यटकीय स्थानहरूका बारेमा भियतनाम सम्म प्रवर्धन गर्यौं, १५ प्रतिशत भन्दा बढी बुद्ध धर्मालम्बि रहेको देश भियतनाममा हामीले लुम्बिनीमा बुद्ध जन्मेका हुन् भन्ने सन्देश प्रवाह गर्दै धार्मिक पर्यटनको समेत वृद्धि गर्ने योजना बुनेका छौं ।’
उनी थप्छन्, ‘यसमा राज्यका निकायहरूको सकारात्मक साथ पाए हामीले ठूलो उपलब्धि हाँसिला गर्नेथियौं ।’
आगामी डिसेम्बरमा भियतनाम घुम्न चाहने नेपाली पर्यटकले ९९ हजार ९ सय उनान्सय रुपैंयामा भियतनाम घुम्न पाउनेछन् । यसमा दुई तर्फी हवाई टिकट, पाँच रात होटल र हलोङ्ग बे मा डे क्रुजसहित टुर प्याकेज समेत समेटिएको छ ।