आइएसएमटी कलेजले जाजरकोट र रुकुम पश्चिमका भूकम्प प्रभावितहरू लाई ५ लाख सहयोग गर्ने
काठमाडौँ । गत शुक्रवार जाजरकोट र रुकुम पश्चिममा गएको भूकम्प प्रभावितहरूलाई आइएसएमटी कलेजले आर्थिक सहयोग उपलब्ध गराउने निर्णय गरेको छ ।
दुई जिल्लामा ठूलो जनधनको क्षति भएकाले सानै भएपनि पीडितसमक्ष सहयोग पुगोस् र सबैमा सहयोगको भावना जागृत गराउन आइएसएमटी कलेजले सामाजिक उत्तरदायित्व अन्तर्गत प्रधानमन्त्री दैवी प्रकोप राहत कोषका लागि सो रु ५ लाख उपलब्ध गराइने निर्णय गरेको हो ।
साथै कलेजले विज्ञप्ति जारी गर्दै उक्त भूकम्पमा परि मृत्यु भएकाहरू प्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गरेको छ ।
भूकम्पबाट घाइते भएकाहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै विपद्को यस दुःखद घडीमा खोज, उद्धार उपचार तथा राहतका लागि सरकार तथा सबै व्यक्ति तथा संस्थाहरू समक्ष हार्दिक आग्रह गरेको छ ।
बेलायतको सन्डरल्यान्ड विश्वविद्यालयबाट सम्बन्धन प्राप्त आइएसएमटी कलेज काठमाडौँ, चितवन, पोखरा, बुटवल र विराटनगरमा सञ्चालित रहेको छ ।