नेपालको जलविद्युतमा लगानी गर्न एसियन मुलुकका बैंकका सिईओहरूलाई अर्थमन्त्रीको आग्रह

काठमाडौँ । अर्थमन्त्री डा. प्रकाशशरण महतले एसियन मुलुकका बैंकका सिईओहरूलाई नेपालको जलविद्युत क्षेत्रमा लगानी गर्न आग्रह गरेका छन् ।

बिहीबार काठमाडौँमा भएको ३९औँ एसियन बैंकर्स एशोसिएशनको जनरल मिटिङ एण्ड कन्फ्रेन्सलाई सम्बोधन गर्दै अर्थमन्त्री महतले यस्तो बताएका हुन् ।

उनले नेपालको जलविद्युत क्षेत्रमा लगानी गरे सरकारले पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाए । अर्थमन्त्री महतले अर्थतन्त्रका सबै क्षेत्रलाई कार्बनरहित बनाउँदै सन् २०४५ भित्र विशुद्ध शून्य कार्बन उत्सर्जनमा पुग्ने लक्ष्य रहेको बताए ।

उनले सरकारले नीतिगत रुपमा व्यवस्था गरि हरित ऊर्जालाई प्रोत्साहन गर्ने बताए । उनले भारतले यो भन्दा अगाडि १० वर्षमा १० हजार मेगावाट जलविद्युत खरिद गर्ने प्रतिबद्धता जनाएको बताए ।

उनले सरकारले जलविद्युत क्षेत्रमा लगानी गर्ने लगानीकर्ताको सुरक्षामा सरकार प्रतिबद्ध रहेको बताए । उनले विश्व बैंक र एडिपीले पनि नेपालको ठूलो जलविद्युत आयोजनामा लगानी गर्ने प्रतिबद्धता जनाएको बताए ।

उनले पछिल्लो समय नेपालको जलविद्युत क्षेत्रमा वैदेशिक लगानी वृद्धि हुँदै गएको जानकारी दिए । अर्थमन्त्री महतले सरकारले विद्युत् उत्पादन, साना उद्योग तथा कृषिमा प्रमुख प्राथमिकतामा राखेर नीतिगत व्यवस्था गरिहरेको दाबी गरे ।

उनले आम जनतालाई समेत प्रत्यक्ष लाभ हुनेगरी ग्रिन अर्थतन्त्रको विकासमा जोड दिएको बताए । उनले बैंक तथा वित्तीय क्षेत्रले मुलुकको अर्थतन्त्र लयमा ल्याउने ठूलो योगदान पुर्याएको बताए ।

अर्थमन्त्री महतले कोरोना महामारीका कारण विश्व अर्थतन्त्रले ठूलो चुनौती भोगिरहेको बताए । उनले विदेशी वित्तीय संस्थाले नेपालमा लगानी गर्दा थप प्रभावकारी भएको देखिएको भन्दै सरकारले डिजिटल फाइनान्सिङमा महत्त्वपूर्ण सहयोग गरिरहेको बताए । उनले डिजिटल बैंकिङसँगै विश्वसनीयता र सुरक्षा महत्वपूर्ण रहेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *