उद्योग वाणिज्य महासंघले गर्यो ‘ग्रिन ग्रोथ एड्भाइजरी’ सेवाको स्थापना
काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघले अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ) को सहयोगमा ग्रिन ग्रोथ एड्भाइजरी सेवा स्थापना गरेको छ ।
महासंघले जलवायु परिवर्तनले परेको असरलाई न्यूनीकरण गर्ने उद्देश्यले अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ)को सहयोगमा ग्रिन ग्रोथ एड्भाइजरी सेवाको सुरुवात गरेको हो ।
जलवायु परिवर्तन ल्याउनका नेपालले भूमिका नभएपनि जलवायु परिवर्तनको विनाश भने भोग्नुपरेको महासंघको भनाई छ । महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले एड्भाइजरी सेवा उद्घाटन कार्यक्रममा बोल्दै पछिल्लो समय जलवायु परिवर्तन विश्वले चासोका साथ लिएको बताए ।
उनले नेपालको परिवेशमा जलवायु परिवर्तनले पारेको असरको विषय धेरै महत्वपूर्ण रहेको बताए । उनले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस नेपालमा आएर हिमालयहरूको बेस क्यामको अवलोकन गर्नु जलवायु परिवर्तनले नेपालमा ठूलो असर गरेको संकेत गर्ने बताए ।
उनले निजी क्षेत्रले विगतमा आर्थिक विषयमा मात्रै गरे पनि अब आर्थिक आम्दानीमा मात्रै सीमित नभएर वातावरणीय प्रभावलाई पनि प्राथमिकताका साथसँगै लैजान आवश्यक भएको बताए ।
उनले विकास निर्माणका कामहरूमा पनि कम क्षति हुने गरेर गर्न आवश्यक रहेको बताए । उनले सरकारका वातावरणीय क्षेत्रका काम गर्ने निकायहरूले समग्र सबै क्षेत्रलाई समेटेर नीतिहरू बन्नुपर्ने भएपनि आफ्नो संस्थाको मात्रै हित हुनेगरी नीतिहरू बन्ने गरेको बताए ।
अध्यक्ष ढकालले नेपालमा जलवायु परिवर्तनको कारण परेको असर न्यूनीकरण गर्न सरकार र समग्र निजी क्षेत्र समन्वय गरेर लाग्न आवश्यक रहेको बताए ।
राष्ट्रियसभा अन्तर्गतको दिगो विकास तथा सुशासन समितिका सभापति प्रकाश पन्थले निजी क्षेत्रको दिगो विकासका लक्ष्यहरू कार्यान्वयन गर्ने कुरामा महत्वपूर्ण भूमिका रहेको बताए ।
उनले शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा गरेको खर्चको हिसाब राखेपनि निजी क्षेत्र यो क्षेत्रमा गरेको योगदानको रेकर्ड सरकारसँग नभएको बताए । उनले दिगो विकास लक्ष्य पूरा गर्ने अहिलेसम्म सरकार र निजी क्षेत्रबाट यति बजेट छुट्याएको भन्ने कुरा अहिलेसम्म नपाएको बताए ।
सभापति पन्तले सरकारले निजी क्षेत्रबाट अपेक्षा गर्ने तर भूमिका नदिने काम गरेको आरोप लगाए । उनले जलवायु परिवर्तन र दिगो विकासको लक्ष्य पूरा गर्न निजी क्षेत्रले गरेको कामको सरकारले ओनरशिप लिन आवश्यक रहेको बताए ।
उनले पछिल्लो समय दिगो विकास भित्रको जलवायु परिवर्तनको कुराहरू प्राथमिकताका साथ उठेको बताए । उनले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस नेपाल आएर हिमालहरूको अवलोकन गरेपछि नेपालमा जलवायु परिवर्तनबाट परेको असरको विषयमा विश्वभरको ध्यानकेन्द्रित भएको बताए ।