काठमाडौंमा पर्यो पानी, चिसो महसुस
काठमाडौं । काठमाडौंमा पानी परेको छ ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले काठमाडौं उपत्यकाका एक/दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।
मौसमविद् गोविन्द झाका अनुसार उपत्यका सहित लुम्बिनी, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा मौसम बदली भई हल्का वर्षा भएको छ ।
काठमाडौंमा यसअघि असोज ३० गतेमा पानी परेको थियो । त्यतिबेला ८.२ मिलिमिटर वर्षा मापन भएको मौसमविद् झाले जानकारी दिए । अहिले पश्चिमी भूभागमा पश्चिमी वायुको प्रभावले मौसममा बदली भएको हो ।
वर्षा केहीबेरमा रोकिने पनि मौसमविद् झाले जानकारी दिएका छन् । पानी परेपछि काठमाडौंमा तुलनात्मक रूपमा चिसो महसुस गरिएको छ ।
काठमाडौंको आजको न्यूनतम तापक्रम ९.९ डिग्री रहेको पनि मौसमविद् झाले जानकारी दिए । जाडो सिजन नजिकिँदै गर्दा तापक्रम विस्तारै घट्दै जाने उनले बताए ।
आज सबैभन्दा कम न्यूनतम तापक्रम जुम्लामा ३.१ डिग्री सेल्सियस मापन भएको छ । काठमाडौंको मौसममा भने आज रातिदेखि नै सुधार हुने मौसमविद् झाले बताए ।