एउटै पासोमा मृत भेटिए श्रीमान–श्रीमती

काठमाडौं । कञ्चनपुरको लालझाडीमा आइतबार बिहान श्रीमान् श्रीमती मृत फेला परेका छन् ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार लालझाडी गाउँपालिका–१ बिनबारीमा श्रीमान् श्रीमती आफ्नै घरको कोठामा झुण्डिएको अवस्थामा मृत भेटिएका हुन ।

बिनबारीका २६ वर्षीय श्याम कुमार राना र उनकी श्रीमती २५ वर्षीया पत्नी पुष्पा राना आफ्नै कोठाको धुरीमा कपडाको एकै पासोमा झुण्डिएको अवस्थामा मृत भेटिएका जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी प्रकाश डाँगीले जानकारी दिए ।

‘शनिबार रातिको घटना रहेछ, आज बिहान घटनाको बारेमा हामीलाई जानकारी आएको हो,’ उनले भने, ‘अहिले मुचुल्का उठाएर शव पोष्टमार्टमका लागि अस्पताल पठाइएको छ ।’ राना दम्पतीले आत्महत्या गर्नुको कारण खुलेको छैन । श्रीमान–श्रीमतीबीच घरायसी झगडा हुने गरेको प्रहरीले जनाएको छ ।

राना दम्पतीका तीन वर्षीय एक छोरा छन् । छोरासहित श्रीमान् श्रीमती घरमा बस्दै आएका थिए । उनीहरु आमाबुवा र दाइभाइसँग केही वर्षअघि छुट्टिएर एक्लै बस्दै आएका छिमेकीले बताएका छन् ।

राना दम्पती कैलालीको धनगढीमा ज्याला मजदुरी गर्दै गर्थे । मृतक श्यामकी आमा बिहान घरमा जाँदा तीन वर्षे बालक रुदै बाहिर आएपछि भित्र गएका हेर्दा श्रीमान् श्रीमती एउटै पासोमा झुण्डिएको अवस्थामा फेला परेका उनले बताइन् ।

प्रहरीले शव पोस्टमार्टमका लागि सेती प्रादेशिक अस्पताल लगेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *