मकालु रिभ्यु

प्यालेस्टिनी भग्नावशेष छेउका बालबालिका भेटाउने ‘बोर्न इन गाँजा’

यति बेला इजरायलले गाँजामा हमला गरिरहेको छ । त्यहाँ दैनिक सयौँ मान्छे मरिरहेका छन् । मर्नेमा धेरैजसो बालबालिका छन् । तर यो सबै अहिले मात्र भएको हैन । आजभन्दा दश वर्ष पहिला पनि यस्तै भइरहेको थियो ।

स्पेनी पत्रकार हेर्नन जिन निर्देशित ‘बोर्न इन गाँजा’ डकुमेन्ट्रीले त्यही कुरा भन्छ । 

यो डकुमेन्ट्री ती बालबालिकाहरूको कथा हो जो युद्ध हुँदै गर्दा जन्मिएका थिए । युद्ध हुँदै गर्दा हुर्किँदै छन् । युद्धसँग खेल्न बाध्य हुँदै हुर्किँदै छन् । 

डकुमेन्ट्रीको क्यामेराले तीनैको अनुहार पछ्याउँछ । 

ती बालबालिकाहरू क्यामेरालाई भर्खरै भत्किएको आफ्नो ठाउँ हेर्न लैजान्छन् । ठूलाठूला भग्नावशेषमा पुगेर त्यहाँ पहिला रहेको आफ्नो ठाउँ देखाउँछन् । कतै कुनै बेला आफूले खेल्ने ठाउँ त कतै आफू सुत्ने ठाउँ । अनि आफ्नो अवस्था सुनाउँछन् । युद्धले तहसनहस पारेको ठाउँमा बस्नुपर्दाको अवस्था । उनीहरूलाई त्यो समयको कथा भन्न लगाउनु आफैँमा साङ्केतिक कुरा छ । किनकि त्यहाँ सबैभन्दा धेरै उनीहरूजस्तै बालबालिकाहरू मरिरहेका छन् । यस्तो लाग्छ बाँचेर उनीहरू मर्नेहरूको लागि बोल्दिइरहेका छन् । 

डकुमेन्ट्रीमा यस्ता धेरै दृश्यहरू छन् जसलाई सुन्दै गर्दा काँडा उम्रिन्छ । एउटा दृश्यमा एक जना बालक कुनै भग्नावशेषमा उभिएर भन्छन् ‘कहिलेकाहीँ भग्नावशेषमा म बम भेट्टाउँछु ।’ अर्को दृश्यमा एक बालक बमले टुक्रा टुक्रा पारेको दाजुको भेटिएको शरीरको टुक्रा यत्रो थियो भनेर हातको इशाराले देखाउँछन् । 

यो डकुमेन्ट्रीले देखाउन खोजेको कुरा र त्यसलाई देखाउने तरिकामा धेरै निकटता पनि छ । एउटा छ स्लो मोसन टेक्निक प्रयोग भएको छ जुन बालबालिकाहरूको अनुहारको क्लोजअप सट लिएको बेला देखिइरहन्छ । कसैको अनुहार चोटिल छ । कसैको अनुहार मलिन छ । कसैको अनुहारमा आँसु छ । त्यो स्लो मोसन एडिटले उनीहरूले सुनाइरहेको कथालाई झनै गहिरोगरि बुझ्ने बनाइदिन्छ । 

अर्को छ ड्रोन सट जुन भग्नावशेषहरूको माथि लामो समयसम्म उडिरहन्छ । संभबत त्यसरी नै कुनै रकेट त्यहाँ खस्यो । अनि ती घरहरूलाई गर्ल्यामगुर्लुम ढलायो । त्यो सट हेरुन्जेल ती भग्नावशेषहरूले केही भनिरहेका छन् जस्तो लाग्छ । विशेषतः त्यहाँ भत्किएका घरहरू आम मानिस बस्ने घरहरू थिए । उनीहरू सायद भनिरहेका होलान् ‘हामीलाई किन ?’

हामीमध्ये धेरैलाई त्यहाँ बम खस्यो भनेको सुन्दा कुनै अनौठो नै लाग्दैन । उनीहरू त्यो कुरामा बानी भइसके होला जस्तो लाग्छ । वा भनौँ त्यसरी बम खस्नु कति भयानक होला भन्ने कल्पना हामी गर्न सक्दैनौँ । यो डकुमेन्ट्रीले त्यो कल्पनालाई यथार्थ बनाइदिन्छ । त्यहाँ कतिपय स्थानमा मृतक बालकहरूलाई श्रद्धाञ्जली दिनलाई ब्यानर टाँसिएका छन् । मतलब त्यहाँ कोही मर्नु र विश्वको अरू ठाउँमा कोही मर्नु उस्तै हो । त्यहाँ आफन्तहरू रोइरहेका छन् । त्यहाँ बालबालिकाहरू घाइते भएका छन् । त्यहाँ जुनसुकै अवस्थामा बम झर्न सक्छ भन्ने थाहा हुँदाहुँदै पनि आफ्नो दैनिकी कायम राख्न बाध्य मान्छेहरू छन् । उनीहरू डराएका छन् । उनीहरू पीडित छन् । 

एउटा दृश्यले इजरायलले आफैँले गरिरहेको कामलाई पनि गाँजामा कसरी हुन दिएको छैन भन्ने देखिन्छ । हामीले इजरायलले मरुभूमिमा तरकारी फलाउने गरेको कुरा सुनिरहेको हुन्छौँ । तर डकुमेन्ट्रीमा त्यहाँ एउटा किसानको कथा छ जसको इजरायलको जस्तै टनेललाई बमले उडाइदिएको छ । त्यो टनेलको बारेमा सुनाउँदै एक बालक भन्छ ‘हाम्रो फार्मलाई २००१ देखि २०१४ को बिचमा ११ चोटि ध्वस्त पारिसके ।’

अनि थप्छ ‘हामी बम फलाउन्नौ । त्यसैले हामीलाई बम हान्ने कुनै कारण छैन ।’

डकुमेन्ट्रीले ब्लर र फोकसको माध्यमबाट पनि धेरै कुरा भनेको छ । एउटा दृश्यमा एक बालक बाटोमा हिँड्दै छ । उ हिँड्दै गरेको बेला उ ब्लर छ । बमले ध्वस्त पारेर नजिकै फालिएको घरको भग्नावशेष फोकसमा छ । गाँजाले भोगिरहेको यथार्थलाई त्यसले चित्रित गरेको छ । उनीहरूलाई जता उभिए पनि युद्धले छुन्छ । जमिन देखि समुन्द्रसम्म पनि पुग्छ । 

एउटा दृश्यले संयुक्त राष्ट्रसङ्घ कसरी लाचार र निकम्मा भइरहेको छ भन्ने पनि संकेत गरेको छ । एक बालिका कसरी बम प्रहार भयो भनेर सुनाउँदै छिन् । उनी आफूहरू युएनको झन्डामुनि थियौँ भन्ने सुनाउँछिन् । सुरक्षित हुन्छौँ भन्ने ठानेको भन्छिन् । त्यो युएन स्कुल थियो । तर उनीहरू त्यहाँ पनि सुरक्षित भएनन् । अन्तिममा उनी थप्छिन्  ‘त्यसपछि हामीलाई युएनको विश्वास छैन ।’

यो डकुमेन्ट्रीको न्यारेटिभ बहुल छ । यसमा कुनै एक पात्रको मात्र कथा छैन किनकि युद्धमा कुनै एक परिवारलाई मात्र असर परेको छैन । एउटा दृश्यमा एक महिलाको हातमा तीन वटा फोटो छ । उनको आँखा रसिला छन् । तीनमध्ये दुई फोटो बालबालिकाको छ । 

युद्धपछिको भौतिक भग्नावशेषहरू देखाउनुसँगै यो डकुमेन्ट्रीले युद्धले पार्ने क्षतिहरूलाई पनि केलाएको छ । विशेषतः बालबालिकाहरूमा त्यसले पारेको प्रभाव एकदमै धेरै छ । युद्धले उनीहरूलाई आजको भोली नै सहाराविहीन बनाइदिएको छ । बसिरहेको घर ध्वस्त पारिदिएको छ । घर विहीन बनाएको छ । उनीहरूलाई धेरै बाचा दिइएको छ । ती बाचाहरू अधुरा छन् । अधुरा बाचालाई पर्खिनुको हीनताबोधले ती थलिएका छन् । 

सँगै उनीहरूलाई आफ्नो नजिकैको मान्छे गुमाउनुको असह्य पीडाले छोपेको छ । तीनलाई कुनै न कुनै मानसिक समस्याले सताएको छ । डकुमेन्ट्रीले भन्दै जान्छ; 

ती अझै पनि केही हुनासाथ तर्सिन्छन् । यसकी एक पात्र जस्तै ती ढोका ढकढक्याउँदा पनि डराउँछन् । 

ती सुत्न सक्दैनन् । यहाँकै एक पात्र जस्तै ती राती डरलाग्दो सपना देखेर ब्युँझिरहन्छन् । 

ती बिर्सन सक्दैनन् । आफूलाई जे भयो कम्तीमा त्यसलाई बिर्सिन पाए हुन्थ्यो भन्ने ती याचना गर्छन् । 

एक दृश्यमा एक बालक भन्छन् ‘म अन्ततिर हुने बालबालिकाहरू जस्तै कुनै डरबिना बाँच्न चाहन्छु ।’ यो डकुमेन्ट्रीले उनको बोलीले भने जस्तै त्यहाँ बस्ने सबैले शान्तिपूर्ण तरिकाले बाँच्न पाउने अधिकारको पक्षमा बोलेको छ । 

तर सँगै यसमा सीमितता पनि छन् । बालबालिकाहरूले बोल्ने कतिपय कुरा स्क्रिप्ट जस्तो पनि लाग्छन् । उनीहरूलाई हिँडाइएको कुरा प्राविधिक जस्ता पनि लाग्छन् । उनीहरूले जे भोगेका छन् वा जे भन्न जान्दछन् त्यसलाई त्यस्तै रहन दिएको भए पनि डकुमेन्ट्री बलियो नै हुने थियो । 

तर त्यति कमजोरीको बाबजुद पनि यसले युद्धको एउटा नराम्रो पाटोलाई युद्ध भोग्ने निर्दोष मान्छेहरूको आँखाबाट भनेको छ । तीनले खपेको चोटबाट भनेको छ । 

यो आजभन्दा नौ वर्ष पहिलेको डकुमेन्ट्री हो । तर दु:खद् कुरा आज पनि गाँजाको अवस्था उस्तै छ । आज पनि इजरायलले त्यहाँ बम खसाइरहेको छ । 

कस्तो दु:खद् कुरा यो डकुमेन्ट्री आज पनि सान्दर्भिक छ । र संभबत अर्को कुनै डकुमेन्ट्रीमा पनि यसरी नै अरू कुनै बालकहरू यही कुरा बोल्दै हुनेछन् ।

यही कुरा माग्दै हुनेछन् ।

ट्रेलर हेर्ने लिंक:

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *