‘एक्चुअल पिपुल’ फिल्मले सोध्छ- के तिम्रो समाज यसरी नै ‘ग्रुप हग’ गर्न तयार छ ?
यो फिल्मको अन्तिमतिरको एउटा दृश्यमा प्रमुख पात्र राइली रोइरहेकी छन् ।
उनले आफ्नो सानो बहिनीलाई पार्टीमा लगेकी थिइन् । बहिनीले धेरै रक्सी खाएर बान्ता गरेकी थिइन् । उनीहरू त्यो अवस्थामा घर पुगेका थिए । तर के भएको हो त्यो नभन्ने भनेर दिदी बहिनीले कसम खाएका थिए । राइली त्यो कसम निभाउन सक्दिनन् ।
तर उनी रोएको कारण यो हैन ।
आफ्नो गोप्यता भङ्ग गरिदिएको रिसमा उनको बहिनी उनको पनि पोल खोलिदिन्छिन् । भनिदिन्छिन् ‘तँ यति कुरा पनि लुकाउन सक्दिनस् । तँलाई डेभिडले छोडेको कुनै अनौठो कुरा हैन ।’
त्यो कुराले राइलीलाई गाह्रो हुन्छ । उनी रुन थाल्छिन् । कुनै गहिरो घाउ चलाइदिएजसरी दुख्छिन् ।
त्यो दृश्यमा पहिलोपल्ट डेभिडसँगको सम्बन्ध टुट्नु उनको लागि कति गाह्रो थियो भन्ने कुरा देखिन्छ । उनी त्यसभन्दा अगाडिका हरेक दृश्यमा उक्त ब्रेकअपले केही फरक नपारेको देखाउन खोजिरहेकी थिइन् । उनी आफ्नो मनमा गुम्सिएर बसेको त्यो कुरालाई जबरजस्ती छोप्न खोजिरहेकी थिइन् ।
सायद सोचेकी होलिन्,
‘मैले यो कुरा कसलाई भन्ने?’
‘यो कुरालाई मलाई जस्तो परेको छ त्यस्तै गरी बुझ्ने को होला?’
‘संभबत कसैले सम्झाउन खोज्ला । के मैले चाहेको कुरा त्यही हुन्छ होला?’
‘म त सानैदेखि बलियो मान्छे यस्तो कुरामा पनि कमजोर भएको भनेर कसैले भने भने के होला?’
तर उनी त्यही कुराले गर्दा समस्यामा परिरहेकी थिइन् । उनको पढाइ खस्किरहेको थियो । उनी राम्रो पढ्ने मान्छे भएकाले ‘अन्तिम सेमेस्टरमा पास भइएन भने के होला?’ ले पनि थिचिरहेको थियो। एउटा दृश्यमा उनी प्रोफेसरलाई सोधिरहेकी थिइन् ‘म यसमा पास भइनँ भने पनि ग्र्याजुएसनमा जान र परिवारलाई बोलाउन पाउँछु?’ उनी यसरी भाग्न खोजिरहेकी थिइन् ।
त्यति मात्र हैन त्यो सम्बन्ध टुटेपछि उनी सकेसम्म धेरै केटाहरूसँग सामीप्य खोजिरहेकी थिइन् । शारीरिक सम्बन्ध राखिरहेकी थिइन् । तर उनले चाहेको जस्तो सम्बन्ध बनिरहेको थिएन । कसैले उनलाई उनले चाहेको जसरी बुझिरहेका थिएनन् । सुनिरहेका थिएनन् । एउटा दृश्यमा उनी शारिरिक सम्बन्ध राखिसकेपछि युवकलाई के भएको थियो सबै सुनाउँछिन् । तर बिहान ब्युँझिँदा युवक बेडमा हुँदैन । उनी ब्युँझिन्छिन् र उ भएको सिरानेतिर हेर्छिन् ।
उनी जो सँग रुम पार्टनर भएर बसिरहेकी थिइन् ऊसँग पनि सम्बन्ध बिग्रिरहेको थियो । त्यसले उनलाई आफ्नो बानी छोड्ने बनाइरहेको थियो । उनको फ्ल्याटमा अण्डरवेयर मात्र लगाएर बस्ने बानी हुन्छ । उ एकदिन उनलाई त्यसो गर्न छोड्नु भन्छ । उनीहरूको बिचमा भनाभन पर्छ । त्यसपछि पाइन्ट लगाउँछु भनेर उनी कोठामा जान्छिन् । बहुत बल गरेर अण्डरबेयर च्यातेर फाल्छिन् ।
त्यो केवल अण्डरवेयर थिएन । उनको बानी थियो जसलाई उनले छोड्नुपरिरहेको थियो । त्यसले सबैथोक बिग्रिरहेको बेला उनको बस्ने टुंगोलाई पनि असर गर्दै थियो ।
सबैकुरा एकैपल्ट थपिइरहेको थियो । त्यसैको पीडालाई कम गर्न थेरापी गइरहेकी थिइन् ।
तर यो सबै कुरा परिवारमा भन्न सकेकी थिइन् । र जसलाई डेभिडसँग ब्रेक अप भएको थाहा थियो तीनलाई पनि उनले त्यो ब्रेकअपले उनलाई पारेको असरबारेमा भन्न सकेकी थिइनन् ।
उनले भोगिरहेको यो समस्या उनको मात्र समस्या हैन । यो उनी बसिरहेको न्युयोर्कमा पढिरहेकी हरेक हाफ-एसियनको समस्या हो । जसले हरेक पाइलामा आफ्नो परिवारको अपेक्षा बोकिरहेको छ । वा हाफ-अफ्रिकनको । वा नेपालबाहिर अस्ट्रेलियामा पढिरहेको कुनै युवा वा युवतीको । वा नेपालको कीर्तिपुरमा पढिरहेको कुनै विद्यार्थीको । वा स्कुलमा पढिरहेको कसैको । वा भर्खरै स्कुल जान थालेको कसैको ।
उनले भोगिरहेको जुन बोझ छ त्यो अपेक्षाहरूको हो । आफ्नो परिवारबाट । समाजबाट । असल हुन । बलियो हुन । बलियो देखिन ।
चाहे जे सुकै होस् बलियो हुनुपर्छ ।
‘छोरो मान्छे भएर रुनुहुँदैन ।’
‘तिमी पनि यस्तो?’
‘तिमी त अरूलाई पनि सम्झाउने मान्छे ।’
‘तिमीले बाटो बिगार्यौ भने अर्कोले के भन्छ?’
यस्तै यस्तै ।
उनले भोगिरहेको अवस्था धेरैतिर पक्कै छ । त्यसले उनले जस्तै मान्छेलाई जुनसुकै कुराले सताउन सक्छ भन्ने बुझ्दैन । सताउने कारण एउटा भए पनि त्यसको असर एक ठाउँमा मात्र पर्दैन भन्ने बुझ्दैन । जस्तो कि उनले आफ्नो ब्रेकअपको असरको कारण आफ्नो हिम्मत नै हराउँछिन् । आफ्नो पढाइको लय नै गुमाउँछिन् । आफूलाई हरेक हिसाबले सहाराविहीन पाउँछिन् ।
फिल्मको एउटा दृश्यमा उनको पूर्व प्रेमी डेभिडसँग पार्कमा भेट हुन्छ । उसले लामो समयसम्म भावनात्मक रूपमा अर्को युवतीसँग गाँसिएपछि उनलाई धोका दिएको थियो । उनीहरूको कुराकानी यति बिग्रिँदै जान्छ कि उनी युवकलाई कुट्न थाल्छिन् । उ आफूलाई जोगाउन उनलाई समाउन खोज्दै हुन्छ । त्यस बेला नै अर्की कुनै युवती आउँछिन् र भन्छिन् ‘म कसैलाई बोलाइदिऊँ? तिमीलाई मेरो मद्दत चाहिन्छ?’
त्यसपछि राइली रोकिन्छिन् । अनि पीडा मिसिएको हाँसो जोडजोडले हाँस्दै भन्छिन् ‘यसलाई कसरी लाग्यो कि मलाई कसैको मद्दत चाहिन्छ?’
यो दृश्यमा उनी मद्दत चाहिएको कुरा नकार्छिन् । खासमा उनलाई मद्दत चाहिएको थियो । तर उनी कसैको अगाडि बिचरा हुन चाहन्नन् । उनलाई कति मद्दत चाहिएको थियो भन्ने कुरा उनको थेरापिस्टसँगको अन्तिम सेसनको दिन देखाउने दृश्यमा पर्याप्त छ । त्यहाँ उनी एउटा सेसन थप्न सकिन्छ कि भन्छिन् । नभए पनि कम्तीमा फोन वा म्यासेज गर्न पाउँछु कि भन्छिन् ।
यो दुई दृश्यले अहिलेको नयाँ पुस्ताले भोगिरहेको बिरोधाभाषपूर्ण यथार्थलाई निक्कै गहिरोगरि विवेचना गरिदिएको छ । उनलाई मद्दत पनि चाहिएको छ तर सबै ठाउँमा मद्दत खोज्न इन्कार पनि गरिरहेकी छन् ।
उनी २२ वर्षकी भइन् । त्यसैले उनले भोगिरहेको हरेक समस्या वा द्विविधालाई मिलेनियम पुस्ताको अस्थित्वको एउटा विशेषता भनिदिए पनि हुन्छ । उनले चरम अस्थित्वसंकट भोगिरहेकी छन् । आफू को हुँ र के गर्छु थाहा पाउन उनलाई गाह्रो भइरहेको छ । उनी आफूलाई एक वर्षपछि के गर्छु पनि भन्न सकिरहेकी छैनन् । उनको सबै योजना पुर्वप्रेमी डेभिडसँग सम्बन्धित थियो । तर अब त्यो पनि छैन ।
उनले भोगिरहेको मानसिक सङ्घर्षलाई यो फिल्मले मूल्य दिएको छ । अनि त्यो सबैलाई हुन सक्ने भनेर स्विकारिदिएको छ । त्यसका लागि उनको जीवनलाई एकदमै नजिकैबाट बुझ्न सक्ने बनाइदिएको छ । उनले भोगिरहेका हरेक समस्या । उनका हरेक कमजोरी । सबैलाई थाहा दिइरहेको छ । फिल्म हेर्दै गर्दा यतिसम्म उनलाई चिनिन्छ कि उनले अब यस्तो गर्न सक्छिन् भन्ने कुनै दृश्यमा थाहा नै हुन्छ ।
यो आजको समयमा अझै जरुरी छ । हामीले एक अर्कालाई बुझ्नु जरुरी छ । एक अर्कालाई सुन्नु जरुरी छ । बाहिरबाट हेर्दा बलियो देखिएको मान्छे सधैँ बलियो हुन सक्दैन भन्ने बुझ्नु जरुरी छ । हरेक मान्छेलाई उसको कमजोरीसहित बुझ्नु जरुरी छ । आफ्नो साथीलाई । प्रेमी प्रेमिकालाई । बुबा आमालाई । सबैलाई ।
त्यसको लागि फिल्मले आफ्नो क्यामेरा मुभमेन्टलाई पनि माध्यम बनाएको छ । फिल्मभर उनको मुड जस्तै क्यामेरा पनि हलचलमा नै छ । स्थिर सटहरू एकदमै बिरलै छन् । यस्तो लाग्छ क्यामेराले उनलाई असाध्यै नजिकैबाट बुझेको छ ।
अनि आउँछ फिल्मको अन्तिमतिरको दृश्य । जहाँ उनी घरमा छिन् । जहाँ उनी रोइरहेकी छन् । जहाँ उनको सबै कुरा परिवारको सामुन्ने थाहा भएको छ ।
उनको कुरा थाहा पाएपछि आमाबुबा उनलाई गाली गर्दैनन् । केही पहिलासम्म उनीहरू उनको अवस्था देखेर कराइरहेका थिए । त्यो स्वाभाविक पनि थियो । उनीमाथि उनीहरूले धेरै लगानी गरेका थिए । हुनसक्छ आउने सन्तानको लागि नै भनेर उनीहरू देश छोडेर अमेरिका आएका थिए । ठूलोठूलो सपना देखेका थिए । उनीहरू जहाँ बसेका छन् त्यहाँभन्दा पर न्युयोर्कमा छोरीलाई पढ्न पठाएका थिए ।
तर जब छोरी न्युयोर्क छोडेर त्यतै फर्किन चाहेको बताउँदै थिइन् अनि कारण स्पष्ट भनिरहेकी थिइनन् । जब उनी पढाइ बिग्रिएको सुनाइरहेकी थिइन् तर किन बिग्रिएको सुनाइरहेकी थिइनन् । उनीहरूबाट आएको प्रतिक्रिया स्वाभाविक नै थियो ।
तर जब उनीहरूलाई सबै कुरा थाहा हुन्छ राइलीकी आमा उनलाई नरुन भन्छिन् । अनि थप्छिन् ‘ग्रुप हग गरौँ ।’
उनीहरू सामूहिक रूपमा अँगालोमा बाँधिन्छन् । स-परिवार । त्यसले राइलीलाई पनि सहज बनाउँछ । उनको वरपर उनलाई साँच्चै ख्याल गर्ने मान्छे छन् भन्ने थाहा हुन्छ । उनी र बहिनीको बिचको सम्बन्ध पनि मिल्छ ।
सबै ठिक हुन समय लाग्ला तर उनको यात्राले बलियो साथ पाउँछ ।
फिल्मले उठाएको ‘ग्रुप हग’ एउटा बलियो बिम्ब हो । यो त्यो साधन हो जो संभतबत हरेक घर वा समाजलाई चाहिएको छ ताकि त्यहाँ हुने सबैले एक अर्काको समस्यालाई बिना कुनै हिचकिचाहट सुनाउन सकुन् । अनि बदलामा कुनै पूर्वाग्रह हैन यसरी नै बलियो आलिङ्गन र न्यानोपन पाउन सकुन् ।
हरेकले भोग्ने समस्या त छँदै छन् । तर यस्तो भयो भने तीनलाई त्यो समस्यासँग जुध्न बल पुग्छ ।
हरेक दिन मानसिक समस्या वा उल्झनहरू बढ्दै जानेछन् । तर यसरी नै समाजले ‘ग्रुप हग’ गर्न सक्ने संरचना बनाउँदै जाने हो भने त्यससँग जुध्न पनि सकिन्छ ।
के हाम्रो समाज त्यसरी सुन्ने हुन तयार छ?
ट्रेलर हेर्ने लिंक: