मकालु रिभ्यु

जब उनी आफ्नो शरीरको मूल्य तोक्न थाल्छिन्, सबैथोक फेरिन्छ

यो फिल्ममा एक युवती छन् मेरी । उनी र उनकी आमा एक गाउँमा बस्छन् जहाँ फरक फरक खाले मान्छे छन् । कोही जमिनदार छन् त कोही पादरी । मेयर । व्यवसायी । हुलाकी । सुरक्षाकर्मी । कामदार । सबै सबै ।

ती सबैमा एउटा समानता छ । उनीहरू मेरीलाई शोषण छन् । शारीरिक शोषण । यौन शोषण ।

त्यसो गर्नेमा लगभग सबै पुरुष छन् ।

उनीहरू मेरीको मात्र हैन मेरीको आमालाई पनि त्यसै गर्ने गर्थे । मतलब यो पुस्तादेखि यसरी नै चलिरहेको छ ।

उनीहरू दुबै जना युद्धको कारण त्यहाँ आएका हुन्छन् । उनीहरूसँग कुनै कागजपत्र हुँदैन । देश हुँदैन । जाने ठाउँ हुँदैन । भाग्ने ठाउँ हुँदैन । गाउँभन्दा निक्कै पर उनीहरूको एउटा सानो झुप्रो घर छ । उनीहरूको घरभित्रको अवस्था नाजुक छ ।

तर त्यहाँ जानेहरूलाई त्यो कुराले खासै फरक पार्दैन । उनीहरू केवल दुबैजनाको यौनसँग आकर्षित छन् । उनीहरूको जवानीसँग आकर्षित छन् । उनीहरूको बाध्यतासँग खेल्न लालायित छन् । उनीहरूको गरिबीलाई सित्तैमा गिजोल्न अभ्यस्त छन् ।

यो क्रम त्यसरी नै चलिरहन्छ । दोहोरिइरहन्छ । त्यसले बिस्तारै फिल्मले भन्न खोजेको कुरालाई अर्को तहमा लैजान थाल्छ । राजनैतिक र सामाजिक व्यङ्ग गर्न थाल्छ ।

त्यसले बिस्तारै समाजमा व्याप्त वर्गसंघर्षलाई समात्न थाल्छ । समाजमा दबिएका मान्छेहरूले आवाज उठाउन थाले भने के हुन सक्छ भन्ने देखाउन थाल्छ । सित्तैमा काम गर्नेले आफ्नो कामको मूल्य तोक्न थालेपछि के हुन्छ बताउन सक्छ ।

त्यसले पहिला हुनेहरूको शक्तिलाई हल्लाइदिन्छ । उनीहरूले भन्ने गरेको ‘सामाजिक शान्ति’ लाई खलबल्याइदिन्छ । उनीहरूले भन्ने गरेको ‘कानुनी राज्य’लाई चुनौती दिन थाल्छ ।

मेरीको चरित्र केवल एक पीडित युवती हैन आन्दोलनको प्रतीक बन्न थाल्छ ।

फिल्ममा धेरै दृश्य छन् जसले समाजको उच्च बर्गलाई नङ्ग्याउँछ । एउटा दृश्यमा उनी घर पुग्नासाथ परबाट केही पुरुषहरू एउटा लाश लिएर आउँदै हुन्छन् । त्यो उनको आमाको लाश हुन्छ । उनीहरू त्यसलाई घरमा छिराउँछन् । टेबलमा सुताउँछन् । उनलाई एक गाडिले हिर्काएर भागेको हुन्छ । तर उनीहरूको परिचय खुल्छ भनेर उनीहरू घटनालाई रिपोर्ट गर्दैनन् ।

उनको मृत्यु कुनै गणनामा पुग्दैन ।

हाम्रो समाजमा पनि यस्तै त भइरहेको छ । सबैभन्दा तल्लो बर्गको मृत्युको मूल्य निक्कै कम भइसकेको छ । मृत्यु आफैँमा पनि अनेक विशेषणमा चढिसकेको छ । साधारण गरिब मान्छेहरू आज पनि सामान्य भन्दा सामान्य उपचार नपाएर मरिरहेका छन् । बाटो नपुगिदिएर । औषधी नपुगिदिएर । गतिलो गाडी नभइदिएर । उपचार महँगो भइदिएर । उनीहरू यसरी मरिरहेका छन् कि कुनै गन्ति नै छैन । र दुःखको कुरा उनीहरूको मृत्युको गन्ति केवल संख्यामा भइरहेको छ । उनीहरूको मृत्युले अरू केही पनि बोलिरहेको छैन । उनीहरूको मृत्युले कसैलाई केही फरक पारिरहेको छैन ।

यो समाजको बेवास्ता हो ।

मेरीको आमाको मृत्युमा सारा गाउँ चुप लाग्नुको कारण पनि त्यही हो । उनीहरूलाई उनको मृत्युको कुनै मतलब छैन । उनी जिउँदो हुन्जेल पनि उनलाई केवल एउटा बस्तु बनाउन उनीहरू अभ्यस्त थिए । उनी उनीहरूको लागि केवल एक यौनको बस्तु थिइन् । केवल त्यति ।

उनीहरू उनलाई राम्रोसँग दाहसंस्कार पनि गर्दैनन् । उनलाई गाड्न लैजाने बेलामा पनि सबैजना रक्सी खाँदै रमाइरहेका हुन्छन् । कोही मेरीको शरीरलाई नै बरू चलाइरहेका हुन्छन् ।

मेरी यी सबै कुरा देख्छिन् तर कुनै प्रतिकृया जनाउँदिनन् । उनी सबैलाई आफ्नो शरीर भोग्न दिइरहन्छिन् । यसमा समाजको त्यो आँखालाई व्यङ्ग गर्छ जसको लागि समाज कुनै एक स्थिर बस्तु हो । त्यो उनीहरूले चाहेको जसरी चल्नुपर्छ । उनीहरूले भनेको जस्तै भइरहनुपर्छ ।

उनलाई शोषण गर्नेहरूलाई सबैकुरा सहज नै लाग्न थालिरहेको हुन्छ । त्यो समाजको तलाउमा कुनै ढुंगा हानिनुहुन्न ।

तब उनी आफ्नो शरीरको मूल्य तोक्न थाल्छिन् ।

उनी समाजले शान्त भनेको तलाउमा ढुंगा हान्न थाल्छिन् ।

अर्थात् उनी आफ्नो मूल्य थाहा पाउन थाल्छिन् । आफ्नो शरीरको महत्त्व थाहा पाउन थाल्छिन् । उनी नभए धेरैको दोकान बन्द हुन्छ भन्ने थाहा पाउन थाल्छिन् । उनलाई शोषण गर्नलाई मान्छे यति धेरै आफूलाई भुलिसकेका छन् कि उनी नभए उनीहरूको चैन खोसिन्छ भन्ने थाहा पाउन थाल्छिन् ।

जब उनी आफूलाई बुझेर आफ्नो यौनको मूल्य तोक्न थाल्छिन् सबैथोक फेरिन्छ ।

जब उनी जवाफमा बोल्न थाल्छिन्, सबैथोक फेरिन्छ ।

उनको घर पनि फेरिन्छ । शक्ति उनको वरपर आउँछ ।

फिल्मले उनलाई मूल्यको शक्ति दिएर तल्लो वर्गले गर्ने आन्दोलनलाई संकेत गरेको छ । उनले मूल्य तोक्नु भनेको कमैया मुक्ति आन्दोलन हुनु हो । बादी समुदाय बोल्नु हो । शोषित भएका सबै समुदायहरू बोल्नु हो ।

उनीहरूले जस्तो भइरहेको छ त्यस्तै भइरहनदिन इन्कार गर्नु हो ।

श्रमण मुकारुङले लेखेको एउटा गीत छ ‘सुन रे सियाराम’ । त्यसमा बोल्ने युवतीको आवाजले भन्छ ‘सुन रे सियाराम सुन रे सियाराम, अब म तँलाई पर्खन्न, अब म देहात फर्कन्न ।’ कमैया मुक्ति आन्दोलनलाई नजिक बनाएर लेखिएको यस गीतमा ती महिलाले पनि आफूलाई परेको हरेक शोषणको विरुद्ध बोलेकी थिइन् । उनले भनेको ‘देहात’ शोषणको ठाउँ हो जहाँ यो फिल्मकी मेरीलाई जस्तै सबैले केवल एक बस्तु मान्छन् । सबैले केवल शोषण गर्छन् । तर उनी त्यसलाई मान्न इन्कार गर्छिन् ।

जसरी ‘स्टिल आइ राइज’ कवितामा माया एन्जेलु भइरहेको कुरालाई मान्न इन्कार गर्छिन् ।

यस फिल्ममा मेरीले मूल्य तोक्न थालेपछिको एउटा दृश्यमा समाजका सबै ठुलो मान्छेहरू मिटिङ बस्छन् । समाजमा तमाम धेरै समस्याहरूको बाबजुत उनीहरू बल्ल उनको मूल्यको बारेमा कुरा गर्छन् । तर त्यहाँ पनि उनले मूल्य बढाउनुको पछाडि उनले आफ्नो मानवीय मूल्य खोलेको कुरा गर्दैनन् । बरू त्यसलाई समस्या हो भन्छन् ।

मतलब जो सधैँ शोषण गर्न खोजिरहन्छन् उनीहरूको लागि कोही बोल्नु केवल एक समस्या हो । खतरा हो । उनीहरू त्यसलाई दबाउन चाहन्छन् । आफ्नो पकडमा राख्न चाहन्छन् । जतिसम्म सक्छन् राखिरहन्छन् । राख्न खोजिरहन्छन् ।

अनि सबैको सामुन्ने जो जो उनलाई गाली गर्छन् र उनलाई संझाउन भनेर पुग्छन् ती नै उनलाई पैसा तिरेर भए पनि भोग्न खोज्छन् ।

तर ती सबै कुराले उनको आवाज दब्दैन । उनको बोली रोकिँदैन ।

फिल्मको अन्तिम तिरको दृश्यमा उनी आफूसँग आएका सबै मान्छेले बोलेका कुराहरूको रेकर्डिङ चर्चमा बजाइदिन्छिन् । अर्थात् उनीसँग सबैले यति धेरै कुरा बोलेका छन् उनीहरू बोल्न थाले भने ती सबै नाङ्गिन्छन् ।

पीडितहरू बोल्न थाले भने पीडा दिनेहरू सबै नाङ्गिन्छन् ।

यो फिल्मले मेरी चरित्रलाई एउटा आवाज बनाएको छ । र त्यो आवाज हरेक क्षेत्रबाट उठ्नुपर्छ भन्ने संकेत गरेको छ ।

ट्रेलर हेर्ने लिंक

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *