टिकटक प्रतिबन्धविरुद्धको मुद्दा न्यायाधीश चुडालले हेर्ने

काठमाडौं । टिकटक बन्द गर्ने सरकारको निर्णयविरुद्ध दायर भएका रिट निवेदनहरूमाथि प्रारम्भिक सुनुवाइका लागि पेसी तोकिएको छ । सोमबार सर्वोच्च अदालतका न्यायाधीश डा. कुमार चुडालको एकल इजलासमा पेसी परेको हो ।

सर्वोच्च अदालतका अनुसार टिकटक प्रतिबन्धविरुद्ध सर्वोच्चमा १० वटा रिट दर्ता भएका छन् । सरकारले सार्वजनिक शिष्टाचारविरुद्धका सामाग्री टिकटकले नहटाएको र प्रयोगकर्ताको विवरण सरोकारवालालाई उपलब्ध नगराएको भन्दै नेपालमा टिकटकमाथि प्रतिबन्ध लगाएको थियो ।

मन्त्रिपरिषद्‌को कात्तिक २७ गतेको बैठकले छोटा भिडियोहरू अपलोड गरिने सञ्जाल टिकटकले समाजमा नकारात्मक असर पारेको भन्दै बन्द गर्ने निर्णय गरेको थियो । सरकारको उक्त निर्णयविरुद्ध शुक्रबार, मंसिर १ गते १० थान रिट निवेदनहरू सर्वोच्चमा दायर भएका थिए ।

टिकटक बन्द गर्ने सरकारको निर्णयले संविधानको धारा १७ को उपधारा (२) को (क)ले सुनिश्चित गरेको विचार तथा अभिव्यक्ति स्वतन्त्रतासम्बन्धी हकको उल्लंघन भएको दाबी रिटमा गरिएको छ । सरकारको उक्त निर्णय बदरका लागि अन्तरिम आदेश समेत रिटमा माग गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *