तीन जिल्लाको नाकामा बढाइयो सतर्कता

विराटनगर । भारतसँग जोडिएका तीन जिल्लाको नाकामा सतर्कता बढाइएको छ ।

प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार स्थानीय प्रशासनले झापा, मोरङ र सुनसरीको सीमावर्ती क्षेत्रमा कडाइ गरेको हो ।

मुस्लिम समुदायले गर्ने भनेको धार्मिक सभा स्थगित भए पनि सभाका लागि भन्दै भारतबाट नेपाल आउनेक्रम नरोकिएपछि प्रहरीले नाकामा सतर्कता बढाएको हो ।

मोरङ प्रहरी प्रवक्ता डिएसपी रञ्जनकुमार दाहालका अनुसार धार्मिक सभाका लागि भारतबाट आएकाहरूलाई सीमावर्ती रानी नाकाबाट भारत नै फर्काइएको छ । अन्य कामका लागि आउजाउ गर्नेलाई भने रोकावट नभएको उनले बताए ।धार्मिक सभा अवधिभरको समयलाई नेपाल प्रवेश गर्न नदिएको उनले बताए ।

उनका अनुसार धार्मिक सभाका लागि विदेशबाट केही धर्मगुरुहरू आइसकेका थिए । सभा स्थगित भएकाले अब धर्मगुरुहरू फर्किने उनले बताए । प्रहरी स्रोतका अनुसार पाकिस्तानबाट १५ जनाको टोली र बङ्गलादेशबाट आठ जनाको टोली नेपाल आएको थियो ।

सुनसरीको इटहरीस्थित खनारमा मंसिर ५ देखि ७ र दुहवीमा ७ देखि ९ गतेसम्म मुस्लिम धर्म सभा ‘इज्तेमा’ गर्ने तयारी थियो । कार्यक्रमका लागि अस्थायी टहरा निर्माण गरिएको थियो । तर स्थानीय प्रशासनले अनुमति नदिएपछि सभा स्थगित भयो ।

देशको पछिल्लो परिस्थिति र प्रशासनको आग्रहपछि अहिलेलाई सभा स्थगित गरिएको कोशी प्रदेश सांसद तथा मुस्लिम अगुवा इस्राइल मन्सुरीले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *